कर्णाली प्रदेशमा औलो नियन्त्रण कार्यक्रम तीब्र पारेपछि पछिल्लो समय बिरामीको संख्या पनि घट्दै गएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हाल कर्णालीमा २४ जना औलोका बिरामी छन्।
निर्देशनालयले बुधबार विश्व औलो दिवसका पूर्वसन्धयाको अवसरमा संचारकर्मीहरुसँग अन्तक्रिया गर्दै कर्णालीमा औलोको अवस्था र भइरहेका गतिविधिबारे जानकारी गराएको हो।
तथ्यांकअनुसार १० जिल्ला रहेको कर्णालीमा सुर्खेत, दैलेख, कालीकोट र हुम्लामा औलो रोगका बिरामी देखा परेका छन्। जसअनुसार सुर्खेतमा २० जना, दैलेखमा २ जना, कालीकोट र हुम्लामा १/१ जना बिरामी रहेका छन्।
हाल उनीहरु सबैको निशुल्क उपचार गरिएको छ। पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा औलोका स्थानीय रोगीहरूको संख्या घट्दो क्रममा छ।
यस्तै, हुम्लाका ३ र कालिकोटका २ वटा वडा गरी ५ वडा औलोको उच्च जोखिममा रहेको औलो रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए।
पछिल्लो समय सुर्खेत लगायत कर्णाली प्रदेशमै औलो उन्मुलन हुँदै गएको निर्देशनालयले जनाएको छ। नेपाल औलो रणनीतिक योजना सन् २०१४-२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य छ। उक्त लक्ष्य अनुसार कर्णालीमा पनि तिब्र रुपमा औलो नियन्त्रण कार्यक्रम भइरहेको निर्देशक डा।रविन खड्काले बताए।
उनकाअनुसार औलो परिक्षण गरिएका व्यक्तिहरुलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीहरुमाथि औलो परीक्षण तथा निगरानी भइरहेको छ। छिमेकी देश भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्तिहरुबाट समेत औलो संक्रमणको जोखिम भएकाले सरकारले औलो परिक्षणमा तिब्रता दिइएको छ।
कर्णाली प्रदेशमा औलो रोग नियन्त्रण गर्नआवश्यक जनशक्तिको कमि हुनु, किट विज्ञ नहुनु, बजेटको अभाव हुनु, स्वास्थ्य संस्थामा मलेरिया जाँचमा कमी, औलो परीक्षण स्वास्थ्यकर्मीहरुको प्राथमिकतामा नपर्नु, स्थानीय सरकारबाट औलोको लागि रणनीति र बजेट व्यवस्थापनमा कमी हुनु लगायतका कारण औलो निवारण कार्यक्रमका लागि चुनौती बनेको निर्देशनालयले जनाएको छ।
Shares
प्रतिक्रिया