कर्णाली प्रदेशको बजेट कार्यान्वयन सुस्त देखिएको छ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म जम्मा ८ अर्ब ५७ करोड ५१ लाख २ हजार ६९४ रुपैयाँ मात्र खर्च भएको हो।
अर्थात् प्रदेश सरकारले ल्याएको कूल ३३ अर्ब ३७ करोड ५७ लाख ७ हजार बजेटमध्ये ९ महिनामा २५.६६ प्रतिशत मात्रै खर्च हुन सकेको हो।
यस आर्थिक वर्षमा पनि कर्णाली सरकार बजेट कार्यान्वयनमा निकै कमजोर देखिएको छ। अब प्रदेश सरकारसँग २४ अर्ब ८३ करोड ६७ लाख ५७ हजार ३०५ रुपैयाँ बराबरको बजेट मौज्दात छ।
यस्तै चैत मसान्तसम्म कर्णाली प्रदेशको चालुतर्फ ४ अर्ब ८३ करोड ९९ लाख ८५ हजारभन्दा बढी अर्थात् ३४.९८ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ ३ अर्ब ७२ करोड ५१ लाख १७ हजार २२० अर्थात् १९.०८ प्रतिशत बजेट खर्च भएको छ।
यस्तै प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चैत महिनामा मात्रै सरकारले १ अर्ब २६ करोड ७ लाख ४८ हजार ८७५ रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ।
कुन मन्त्रालयले कति गर्यो खर्च?
कर्णाली प्रदेशमा आठ मन्त्रालय छन्। जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालको १ अर्ब ३० करोडभन्दा बढी बजेट रहेकामा चैतसम्म ४.६९ प्रतिशत अर्थात् ६ करोड ५६ लाख ७५ हजार बराबरको बजेट कार्यान्वयनमा ल्याइएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चैत मसान्तसम्म १७.७९ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ६८ लाख ७७ हजार ५९६ रुपैयाँ बजेट कार्यान्वयन गरको छ। यस मन्त्रालयमा चालु आर्थिक वर्षमा ९ अर्ब ७० करोड ६० लाख ४३ हजार बराबरको विकास बजेट खर्च गरेको छ।
यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलले कूल ३ अर्ब २६ करोड ७१ लाख बराबरको वार्षिक विकास बजेटमध्ये १९.९७ प्रतिशत अर्थात् ६५ करोड २३ लाख ८० हजार खर्च गरेको छ।
यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयलको ६० करोडभन्दा बढी विकास बजेट रहेकामा चैत मसान्तसम्म ३७.२७ प्रतिशत अर्थात् २२ करोड ३८ लाख ४२ हजार ९ सय रकम मात्र कार्यान्वयन भएको छ।
सामाजिक विकास मन्त्रालय २ अर्ब ७८ करोड १५ लाख बराबर विकास बजेट रहेकामा हालसम्म ३०.५६ प्रतिशत अर्थात् ८६ करोड ५१ लाख ८० हजार ४०८ रुपैयाँ मात्र कार्यान्वयन गर्न सफल भएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १ अर्ब १९ करोडभन्दा बढी विकास बजेट रहेकामा हालसम्म १४.२९ प्रतिशत अर्थात् १७ करोड ७ लाख ५४ हजार मात्र कार्यान्वयनमा ल्याइएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ८ करोड ६६ लाख २९ हजार वार्षिक विकास बजेटमा अहिलेसम्म १८.८२ प्रतिशत रकम मात्र खर्च गरिएको छ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको १ करोड ९४ लाख ५० हजार पुँजीगत बजेटमा चैत मसान्तसम्म ३६.४३ प्रतिशत मात्र खर्च भएको छ।
राजस्व संकलन १२ अर्ब ९५ करोड
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १२ अर्ब ९५ करोड ३७ लाख ५६ हजार ७५० रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १२ अर्ब १८ करोड ५४ लाख ४८ हजार ३७९ रुपैयाँ संकलन गरेको थियो भने चैत महिनामा ७६ करोड ८३ लाख ८ हजार ३७१ रुपैयाँ राजस्व संकलन गरेको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयले विभिन्न ३९ शीर्षकमा राजस्व संकलन गरेको जनाएको छ।
Shares
प्रतिक्रिया