प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ‘अस्तित्व समाप्त पारिदिने’ धम्की दिएका छन्।
बिहीबार दिउँसो ४ बजेर ५३ मिनेटमा पौडेललाई फोनमार्फत सांसद राईले थर्काएका हुन्। सांसद राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्।
पौडेलले नेपालखबरसँगको कुराकानीका क्रममा आफूलाई धम्की आएको तर के कारणले धम्क्याएको भन्ने चाहीँ प्रष्ट नभएको बताए। ‘उहाँले तपाई नबोल्नुस्, म सँग कुरा नगर्नुस्, तपाईं खुरुक्क जानुस् जस्ता कुराहरु भन्नभयो। मलाई आफ्नो कुरा राख्नै दिनुभएन्। उहाँले पनि तैंले यो यो गरिस् भनेर पनि भन्नुभएन।’ पौडेलले नेपालखबरसँग भने।
बेरुजुलाई शून्यमा झारेबापत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट इलामको सूर्योदय नगरपालिकामा कार्यरत हुँदा पाैडेल पुरस्कृत भएका थिए।
नेपालखबरसँग प्रमुख प्रशासकिय अधिकृतले यसो भनेः
मलाई एकलौटी रुपमा एक्कासी माननीय सांसदज्यूले गाली गर्नुभयो अनि फोन राख्नुभयो। मैले के गरेँ, किन मलाई यस्तो गर्नुभयो, मैले के बिगारेँर भनेर मैले भनेँ। उहाँले तपाई नबोल्नुस्, म सँग कुरा नगर्नुस्, तपाईं खुरुक्क जानुस् जस्ता कुराहरु भन्नभयो। मलाई आफ्नो कुरा राख्नै दिनुभएन्। उहाँले पनि तैंले यो यो गरिस् भनेर पनि भन्नुभएन। हिजो दिउँसो ४ः५२ देखि ५ बजेको भित्रमा मलाई उहाँले फोन गरेर त्यसो भन्नुभएको हो। त्यतिबेला कार्यालय समय नै थियो। त्यसपछि उहाँले मलाई फोन गर्नुभएको छैन।
मैले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सिडियो कार्यालय लगायतलार्य बोधार्थ दिएर सुरक्षाका लागि पत्र पठाइसकेको छु।
यस्तो छ अडिओमा सुनिएको वार्ताः
पौडेलः माननीय ज्यू नमस्कार!
राईः तपाईं आएर मेरो ठाउँमा तपाईं शासन गर्ने?
पौडेलः के भएछ हजुर?
राईः तपाईंलाई फेरि ठिक लाइदिन्छु नि चुनावमा फेरि। तपाईं ख्याल गर्नुहोला, तपाईंले एकदम हेप्नुभएको छ हामीलाई। नहेप्नु नि। तपाईं खुरुक्क जानू यहाँ मसँग अरु डबल कुरा नगर्नू। तपाईंलाई मैले भनिदिएको छु नि, तपाईंको अस्तित्व म समाप्त पारिदिन्छु नि। कम अत्याचार गर्नुभएको छ तपाईंले त्यहाँ। तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन्। तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। अर्को कुनै घटना घट्यो भने मलाई नभन्नु। तपाईं दुनियाँ ठाउँमा दादागिरी चलाउने?
पौडेलः के गरेँ मैले भन्नु न त?
राईः तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो।
पौडेलः हैन मैले के गरेँ, माननीय ज्यू?
राईः तपाईं खुरुक्क जानुस्, तपाईं मेरो ठाउँमा आएर फूर्ती लगाउने? किन फूर्ती लगाउने? म देखाइदिन्छु।
प्रतिक्रिया