कोशी


कानुनका ज्ञाता हिक्मत कार्की : प्रदेशको पहिलो कार्यकाल गृहमन्त्री, अहिले मुख्यमन्त्री

कानुनका ज्ञाता हिक्मत कार्की : प्रदेशको पहिलो कार्यकाल गृहमन्त्री, अहिले मुख्यमन्त्री

फाइल तस्बिर


ध्रुव भट्टराई
पुस २४, २०७९ आइतबार १७:४२, विराटनगर

प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा (एमाले) संसदीय दलका नेता कार्कीलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

प्रदेश प्रमुख कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आज (पुस २४) सम्मको समयसीमा दिएको थियो। 

उक्त समयसीमाभित्रै कार्कीले सत्तागठबन्धनका ६० जना सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता कार्कीलाई आजै मुख्यमन्त्रीका लागि अघि सार्ने तयारी गरेका थिए। 

यस अघि प्रदेश १ को मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए।

एमालेले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो भने माओवादी केन्द्रले संसदीय दलका नेता रहेका इन्द्र माम्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो।

माओवादीले समर्थन गर्ने निर्णय गरेसँगै एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो। 

प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए।उनी  एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन्।

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।

९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।

प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

यस्तो छ कार्कीको राजनीतिक यात्रा
विस २०२१ साल असोज ११ गतेका दिन झापास्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानकारुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो।

अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन्।

उनको बाल्यकाल गौरादहमै बितेको थियो भने एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो।

विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन्। पार्टी सम्पर्कमा भने २०३६ सालतिर आएका थिए।

महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्ने उद्धेश्य राखी २०४२ सालमा धरान आएका कार्की आईएलको पहिलो ब्याचका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भए। उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) सम्म अध्ययन गरेका छन्।

अनेरास्ववियुको विभिन्न तहका कमिटीहरुको नेतृत्वदायी भूमिका (क्याम्पस प्रा.क., जिल्ला कमिटी काठमाडौं, बाग्मती अञ्चल कमिटी) निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुगेका थिए। 

स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए।

पार्टीको पाँचाै राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्त्वपूर्ण भूमिकामा रहँदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा रहेका छन्।

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटिको इन्चार्जका रुपमा जिम्मेवारी बहन गरिसकेका कार्की प्रदेश १ को प्रचार विभाग प्रमुखको भूमिका निर्वाह गरेका छन्।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर१ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुनमन्त्रीका रुपमा २०७४ फागुन ३ गते जिम्मेवारी प्राप्त गरेका थिए।

करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकारबाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणमा महत्वपूर्ण योगदान गरेका छन्। 

उनी हाल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ संसदीय दलका नेता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .