ad ad

कोशी


राज्यकोष दुरुपयोगको नमूना : प्रदेशले बनाएको स्थानमै संघले बनायो पक्की पुल

राज्यकोष दुरुपयोगको नमूना : प्रदेशले बनाएको स्थानमै संघले बनायो पक्की पुल

ध्रुव भट्टराई
फागुन २, २०७९ मंगलबार १५:२३, विराटनगर

संघ सरकार र प्रदेश सरकारका निकायबीच समन्वय नहुँदा विकास निर्माणको नाममा कसरी राज्यको करोडौं रुपैयाँ दुरुपयोग भइरहेको छ भन्ने उदाहरण बनेको छ, मोरङको मिक्लु खोला पुल। 

मिक्लाजुङ गाउँपालिका वडा नं ६ मा रहेको मिक्लु खोलामा संघ र प्रदेश सरकारले एकै स्थानमा दुई वटा पुन निर्माण गरेका छन्। करिब डेढ सय मिटरको फरकमा दुई वटा सरकारले अलग अलग पुल निर्माण गरेका हुन्।

मिक्लु खोलामा प्रदेश सरकारले ७ करोडको लागतमा पुल निर्माण गरिसकेको छ भने सो पुलबाट डेढ सय मिटर दक्षिणमा संघ सरकारले मदन भण्डारी राजमार्गका लागि २१ करोड ४८ लाखको लागतमा अर्को पुल निर्माण गरिरहेको छ।

प्रदेश सरकारले निर्माण गरेको पुल हालै मात्र निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो। प्रदेश सरकारले प्रादेशिक सडक मोरङको किसानचौक, टाडी, आइतबारे–रवि सडकका लागि मिक्लु खोलामा पुल निर्माण गरेको थियो।

संघ सरकारको पुल भने निर्माणाधीन अवस्थामा छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले इलाम, झापा, मोरङ र सुनसरी जिल्ला जोड्ने सडकका लागि पुल निर्माण गरिरहेको हो।

पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठका अनुसार प्रादेशिक सडकका लागि मिक्लु खोलामा १ सय मिटर लामो पुल निर्माण गरिएको हो। आफूहरुसँग समन्वय नहुँदा एकै स्थानमा दुई वटा पुल निर्माण हुने पुगेको इन्जिनियर श्रेष्ठले बताए।

प्रदेश सरकारको लगानीमा पुल निर्माण भएको स्थानबाट डेढ सय मिटर दक्षिणमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले पुल निर्माण अघि बढाएको उनले बताए।

प्रदेश सरकारले पुल निर्माण सुरु गरेको दुई वर्षपछि मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले २०७७ ज्येठमा पुल निर्माण सुरु गरेको थियो। कूल २१ करोड ४८ लाखको लागतमा निर्माणाधीन पुलको काम ६० प्रतिशत सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय दमक कार्यालयका प्रमुख शुभोतकुमार देवकोटाले बताए।

१ सय २० मिटर लम्बाई र ११ मिटर चौडा रहेको सो पुल अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निर्देशनालयले जनाएको छ।

देवकोटाले मदन भण्डारी राजमार्गको मापदण्डमा प्रदेशले बनाएको पुल नपर्ने भएकाले छुट्टै पुल निर्माण गर्नु परेको दाबी गरे।

‘प्रदेशले तयार पारेको पुल कल्भर्ट हो’ प्रमुख देवकोटाले भने,‘ राजमार्ग निर्माणका लागि तयार पारेको मापदण्डले प्रदेशको पुललाई समेट्न सक्दैन।’

मदन भण्डारी राजमार्गका लागि अर्को छुट्टै पुल निर्माण गर्न आवश्यक रहेको र सोही अनुसार पुल निर्माण भइरहेको उनले बताए।

उनले प्रदेशले पनि मिक्लु खोलामा पुल निर्माण गरिरहेको जानकारी पाएपछि आफूहरूले समन्वयका लागि पत्र पठाए पनि पूर्वाधार विकास कार्यालय मोरङले यस विषयमा समन्वय नगरेको बताए। 

यता मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले भने संघ र प्रदेश सरकारले एउटै उद्देश्यका लागि पुल निर्माण गरे पनि पुल निर्माण गर्नुअघि पर्याप्त समन्वय नभएको देखिएको बताए।

‘मिक्लु खोलामा डेढ सय मिटरको फरकमा उपयोगिताको हिसाबमा दुई वटा पुल निर्माण गर्नु पर्ने देखिँदैन’ उपाध्यक्ष पौडेलले भने, ‘पुल निर्माणको क्रममा नै केन्द्र र प्रदेश सरकारका दुई निकायबीचको समन्वयको अभाव भएको प्रस्ट देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .