कोशी


‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

रवीन्द्र काफ्ले
फागुन २३, २०७९ मंगलबार २०:२४, पाँचथर

तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो। हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो। विसं २००१ असार १५ मा जन्मिएका घिसिङले सुनेअनुसार उनका बाबुबाजेको जीवन पनि यही ठाउँमा बितेको थियो। आफ्नो उत्पादनले खान नपुगे पनि हात्तीखर्कमै घिसिङका शाखा सन्तानले यहीँ गुजारा गरिरहेका थिए। 

तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनुपरेको छ। आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ। आँखैअघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ। ‘बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो’, घिसिङ स्वयं आश्चार्यमा छन्। तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उनीसँग न घर नै रह्यो न सम्पत्ति।

यही फागुन १२ गते नजिकैको खैरेनी निबुटार सामुदायिक वनमा लागेको आगो हात्तीखर्कको बस्तीमा सल्कियो। हुन त हात्तीखर्कमा यत्रो जङ्गल थिएन। यहाँका कयौँ स्थानीय सहज जीवनयापनको अपेक्षामा बसाइँ सरेर गएपछि बस्ती नै जङ्गलमा परिणत भएको थियो। घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाइँ सरेर झापा गइसकेका छन्। सुक्खाले प्रभावित यस स्थानको जङ्गल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो।

तमोर नदीको तटबाट लागेको आगो यसरी मडारिएर आयो कि हरिया रुखहरू नै आधाआधी जले। आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो। आगोको लप्का जङ्गल नजिकैका घरसम्म पुग्यो। ठूल्ठुला टारका बीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरू पुगे। क्षणभरमै हात्तीखर्क उजाडियो। जङ्गलबाट चार सय मिटर टाढासम्मका घरमा आगो लाग्यो। 

घरबारविहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहेका घिसिङका लागि यो घटना एक आश्चर्यजनक लागिरहेको छ। ‘जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ । यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ’, उनले भने। यसपालि आगो लाग्नु स्वाभाविक भए पनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पनासमेत थिएन। ‘यो ठाउँ नै औल हो। पहिले निकै पानी पर्थ्यो। भदौदेखि पानीको छिटा देखेको छैन। झिल्को बल्नासाथ सबै सल्कियो’, घिसिङले भने। 

पहिले यहाँको बस्ती बाक्लो थियो। अहिले आगलागी भई जलेका १४ मध्ये पाँच घर खाली थिए। वयोवृद्ध घिसिङ गाउँका आधाजस्तो बसाइँ सरेर गएको बताउँछन्। ‘तर, आफ्नै घर गएपछि सबै सकियो नि’, निराश र हतास हुँदै उनले भने। 

वयोवृद्ध घिसिङको मात्रै होइन, घर जलेपछि मायादेवी तामाङको दुःख झनै पीडादायी छ। मायाका श्रीमान् मानसिक समस्याका कारण थलिएको लामो समय भयो। जङ्गलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो। क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो। हेर्दाहेर्दै उनका दुईवटा घर जले। 

‘सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ। श्रीमान्‌को उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ’, आँसुुमिश्रित आवाजमा उनले भनिन्, ‘छोरीको भर्खर बिहे गरेका थियौँ, विवाहको पैसा पनि घरमै थियो। त्यो केही बाँकी रहेन।’ मायाको घरमा रहेको रु एक लाख ५० हजारभन्दा बढी नगद आगलागीमा जलेको छ। मानसिक समस्या भएका श्रीमान्‌लाई दिइराख्ने औषधि र औषधि खरिद गर्ने रकम जलेपछि अब के गर्ने भन्ने मायादेवीसँग कुनै विकल्प छैन। 

सोही स्थानकी जुनुमाया घिसिङले हलगोरु बाहेक घरको कुनै सामग्री निकाल्न पाइनन्। ‘दसै मिनेटमा घर जलेको। घरघर छुट्टयाई छुट्टयाई जले’, घिसिङले भनिन्, ‘हामी त बर्बादै भयौँ नि!’

गायक उदीतनारायण झाको स्वरको गीतको एक हरफ निकै चर्चित छ–

दुःखीलाई कहिलेकाहीँ भुल्दा रैछन् देउता पनि
भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि....

हात्तीखर्कको उजाडिएको बस्तीका सबैलाई यो गीत सायदै उपयुक्त लाग्ला। हुन पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरूको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ। 

तर हात्तीखर्क मात्रै होइन, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो। वर्षा कम हुँदै जाँदा वर्षको कम्तीमा ६ महिना यस क्षेत्रमा पानी पर्न छाडेको छ। यस क्षेत्रमा हिउँदको समयमा वर्षा हुन छाडेको लामो समय भइसक्यो। जसका कारण सुक्खा बनेको वन जङ्गलमा झिल्को बल्नासाथ सिङ्गो जङ्गल नै आगोको ज्वालामा परिणत हुनेछ। यी स्थानमा न अग्निरेखा निर्माण गरिएका छन् न पोखरी/प्लास्टिक पोखरी निर्माण गर्ने प्रयास नै। 

अर्कातर्फ जङ्गलछेउका बस्तीमा खर (फुस) को छानो लगाउने गरिएको छ। खरको छानो भएकै कारण यस क्षेत्रका १४ घर एकैसाथ जलेका हुन्। हात्तीखर्कमा जस्तापाता लगाएको घर जस्ताको तस्तै देख्न सकिन्छ भने खरको छानो भएका घर जलेका छन्।

सुक्खा बनेको छानोमा एक झिल्को पर्नासाथ ह्वारह्वारी आगो दन्किएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बाँस्कोटाको भनाइ छ। ‘पाँच वटा घर जलिसक्दा म त्यहाँ (हात्तीखर्क) पुगेको थिएँ। देख्दादेख्दै सबै घर जले’, बाँस्कोटाले भने, ‘हामीसँग आगो नियन्त्रण गर्ने कुनै उपाय थिएन।’ खरको छानो हटाउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ। 

जङ्गल छेउका बस्ती, खरको छानो र सुक्खाको संयोगले तमोर तटीय क्षेत्रमा हरेक वर्ष क्षति हुने गरेको छ। सोमबार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरे जङ्गलमा लागेको आगो यसरी नै बस्तीमा पस्दा स्थानीय वसन्तकुमार चाम्लिङ र छत्रबहादुर चाम्लिङका घर जलेर नष्ट भए। यस्तै घटनाले बस्ती नै सखाप पारेको उदाहरण पाँचथरको कुम्मायक–५ स्याबरुम्बा र हिलिहाङ–७ पाखागाउँ पनि हुन्। केही वर्षअघि ती आगलागीमा यहाँका सिङ्गो बस्ती नै खरानी भएका थिए। हिलिहाङ–७ मा त जङ्गलमा लागेको आगोको लप्काले भेट्दा दुई जना स्थानीयको ज्यान नै गएको थियो। 

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईं जङ्गलमा आगलागी भएपछि छेउछाउका घर जोगाउन मुस्किल पर्ने बताउँछन्। ‘जङ्गलमा आगो लागे खबर गर्न अनुरोध गर्दै आएका छौँ। खबर आउनासाथ गएर निभाउछौँ पनि’, चापागाईंले भने, ‘कतिपय ठाउँमा भने आफैँलाई पनि जोखिम हुने अवस्था आउने रहेछ।’ सुक्खा ठाउँमा स्थानीय नै सचेत हुनुको विकल्प नरहेको उनको भनाइ छ। 

हात्तीखर्कको आगलागीको अवलोकन गरेका कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो सुक्खा क्षेत्रमा आगलागीबाट घरबार बचाउने सबैभन्दा उपयुक्त विकल्प नै खरको छानो हटाउनु आवश्यक रहेको बताउँछन्। ‘जस्तापातामा हत्तपत्त आगो नसल्किने रहेछ’, तुम्बापोले भने, ‘सकेसम्म जस्तापाता लगाउने प्रबन्ध गर्नु उपयुक्त देखिन्छ।’

आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम (लिम्बू) पनि हात्तीखर्कजस्ता क्षेत्रलाई आगलागीबाट बचाउने उपयुक्त विकल्प फुसको छानोमुक्त घर नै रहेको बताउँछन्। 

यद्यपि कमजोर आर्थिक अवस्थाका कारण यस क्षेत्रका धेरै सर्वसाधारणले जस्तापाता लगाउन सकेका छैनन्। सरकारले विगतमा सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमले यस क्षेत्रका कतिपय घरमा जस्तापाता लगाइए पनि पूर्ण भने हुन सकेको छैन। जसका कारण जङ्गलमा लागेको आगोले निकै टाढाका घरगोठ जलाउने गरेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .