ad ad

जीवनशैली


बढ्दैछ लिंगको क्यान्सर, ब्राजिलमा एक दशकमा ६ हजार ५ सयको लिंग काटियो

बढ्दैछ लिंगको क्यान्सर, ब्राजिलमा एक दशकमा ६ हजार ५ सयको लिंग काटियो

नेपालखबर
असार ८, २०८१ शनिबार २०:३७,

सन् २०१८ मा ब्राजिलका जोआओ लिंगमा मुसा पलाएपछि डाक्टरकहाँ पुगे।

‘त्यो के हो भनेर पत्ता लगाउन म क्लिनिक धाउन थालेँ। तर, सबै डाक्टरले त्यो छाला नै हो भने औषधि लेखिदिए,’ ६३ वर्षका उनी भन्छन्।

तर, औषधि गरेपछि पनि मुसा बढ्दै गयो। त्यसले उनको दाम्पत्य र यौनजीवनमा असर गर्न थाल्यो। 

‘म र मेरी पत्नीबीच सहवास हुन छाड्यो,’ उनी स्वीकार्छन्।

त्यो समस्याको कारण पत्ता लगाइछाड्ने अठोट उनले लिए।

त्यसपछि पाँच वर्ष अनेक डाक्टरकहाँ उनी धाए। जसले थप औषधि र बायोप्सी गर्न सुझाए। 

‘केहीले पनि निको भएन,’ उनी भन्छन्।

अन्ततः २०२३ मा उनलाई निदान दिइयो– उनलाई लिंगको क्यान्सर भएको थियो।

‘मेरो लागि यो साह्रै दुःखद कुरा थियो। किनभने मैले लिंगको एक भाग काटेर फाल्नुप¥यो। आफ्नो टाउकै काटेर फालेजस्तै भयो,’ उनी भन्छन्, ‘यो यस्तो क्यान्सर हो, जसबारे तपाईं मान्छेहरुसँग कुरा गर्न सक्नुहुन्न। किनकि त्यो मजाक बन्न सक्छ।’

लिंगको क्यान्सर दुर्लभ मानिन्छ। तर, पछिल्लो समय यो क्यान्सर र यसबाट मर्ने मान्छेको संख्या बढ्दैछ।

पछिल्लो अध्ययनअनुसार ब्राजिलमा एक लाख पुरुषबराबर २.१ जनामा यो क्यान्सर देखिएको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार २०१२ देखि २०२२ सम्ममा २१ हजार जनामा लिंगको क्यान्सर देखिएको छ। जसमध्ये एक दशकमा ४ हजारभन्दा बढीको ज्यान गएको छ। 

त्यस्तै एक दशकमा ६ हजार ५ सय जनाको लिंग काटिएको छ। 

ब्राजिलको सबैभन्दा गरिब राज्य मारान्होमा लिंगको क्यान्सर लाग्ने विश्वकै सबैभन्दा उच्च छ। जहाँ प्रतिएक लाख पुरुषमा ६.१ जनामा यो क्यान्सर देखिएको छ।

प्रायः लिंगको क्यान्सरको लक्षण लिंगमा घाउ देखिएपछि सुरु हुन्छ। जुन निको हुँदैन। त्यहाँबाट गनाउने पानी बग्छ। कतिपयमा रगत आउने र लिंगको रङ पनि परिवर्तन हुने हुन्छ। सुरुमै पत्ता लागे अप्रेसन, रेडियोथेरापी र केमोथेरापीजस्ता उपचार पद्दतिबाट निको हुने सम्भावना ज्यादा हुन्छ।

तर, समयमा उपचार नभए आंशिक वा पूर्णरुपमा लिंग काट्नुपर्ने र कहिलेकाहीँ अण्डकोष पनि हटाउनुपर्ने अवस्था आउनसक्छ।

जोआओको लिंग भने गत जनवरीमा आंशिक रुपमा काटियो।

‘म शल्यक्रियाको कुरा सुनेर आतंकित थिएँ। तर, कुनै उपाय थिएन। एकहप्तासम्म दुःखी भएँ। लिंगको एउटा हिस्सा नहुँदा भयानक अनुभूति हुन्छ,’ उनी भन्छन्।

ब्राजिलियन सोसाइटी अफ युरोलोजीका मौरिसियो देनेर कोर्देइरो लिंगको क्यान्सरका लागि ह्युमन पापिलोमा भाइरस (एचपीभी) सबैभन्दा प्रमुख जिम्मेवार भएको बताउँछन्। 

यसलाई रोक्न त्यसविरुद्ध खोप लगाउनुपर्ने उनको भनाइ छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .