अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै पढिने लेखकमध्ये एक हुन् हेनरी किसिन्जर। कूटनीतिमा उनको उदयमा पनि प्राज्ञिक कर्मको ठूलो योगदान छ।
१९२३ जर्मनीमा जन्मेका किसिन्जरको परिवार हिटलरको नाजी शासनबाट बच्न १९३८ मा लन्डन हुँदै अमेरिका पुग्यो। अमेरिकामा लामो समय गुजारेपछि पनि किसिन्जर जर्मन लवजमा बोल्थे।
न्युयोर्कको जर्ज वासिङ्टन हाइस्कुल र सिटी कलेज अफ न्युयोर्कमा अध्ययन गरेका उनी १९४३ मा अमेरिकी नागरिक बने। त्यसपछि जवान पदमा अमेरिकी सेनामा भर्ना भए।
१९४७ मा उनी हार्वर्ड भर्ना भए। १९५४ मा उनको पीएचडीको थेसिसको उपशीर्षक थियो– अ स्टडी इन द स्टेटम्यानसिप अफ क्यासलरे एन्ड म्याटरनिच।’ उनको कूटनीतिक करिअरको ब्लुप्रिन्ट पनि यही पुस्तक थियो। हार्वर्डमा प्राध्यापक भएपछि उनले ‘१९५७ मा ‘न्युक्लियर विपन्स एन्ड फरेन पोलिसी’ पुस्तक लेखे। जसले उनको व्यक्तित्वलाई उचाइ दियो।
पदमुक्त भएपछि उनले किसिन्जर एसोसियट्स नामक परामर्शदाता कम्पनी स्थापना गरे। जसले हरेक अमेरिकी राष्ट्रपति र बहुराष्ट्रिय कम्पनीलाई सल्लाह दिने गर्छ।
त्यसका अलावा उनले लेखेका पुस्तकहरु निकै चर्चित भए। उनको सबैभन्दा चर्चित पुस्तक हो ‘डिप्लोमेसी’। यो विश्वमा कूटनीतिक कला र अभ्यासका विस्तृत रुपमा लेखिएको इतिहास हो। अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै पढ्न सिफारिस गरिने पुस्तकमध्ये एक हो यो।
उनका तीन संस्मरणात्मक पुस्तक पनि निकै चर्चित छन्। १९७९ मा प्रकाशित ‘द ह्वाइट हाउस इयर्स’, ‘इयर्स अफ अपहिभेल’ (१९८२) र ‘इयर्स अफ रिन्युअल’ (१९९९) मा उनले आफू पदमा रहँदा भएगरेका घटनाक्रमको विस्तृत व्याख्या गरेका छन्।
त्यस्तै, किसिन्जरको अर्को चर्चित पुस्तक हो– ‘अन चाइना’ २०११। चीन बुझ्न यो पुस्तक महत्वपूर्ण रहेको समीक्षकहरुको भनाइ छ।
२०१४ मा प्रकाशित उनको ‘वर्ल्ड अर्डर’ पुस्तकले पनि निकै चर्चा पायो।
जीवनको उत्तराद्र्धमा उनले एरिक स्मिट र डेनियल हटनलोचरसँग मिलेर लेखेको पुस्तक हो, ‘द एज अफ एआई ः एन्ड आवर ह्युमन फ्युचर (२०२१)।
उनको लेखनी र जीवनलाई हेर्दा किसिन्जरले बदलिँदो समयसँग सान्दर्भिक रहन अन्तिमसम्म प्रयास गरेको देखिन्छ।
किसिन्जरले दुई पटक विवाह गरे। १९४९ मा एन फ्लेसरसँग। यो दम्पतीका एक र एक छोरी जन्मिए। उनीहरुले १९६४ सम्बन्धविच्छेद गरे। दस वर्षपछि उनले न्यान्सी म्यागिनेससँग विवाह गरे।
किसिन्जर फुटबलप्रेमी थिए। कूटनीतिक भेटघाटमा व्यस्त रहँदा पनि जर्मनीको बुन्डेसलिगाका खेलहरुको नतिजाको खबर उनलाई पु¥याउनुपर्थ्यो। १९७० को दशकमा उनले खेलजीवनको उत्तरार्धमा पुगेका पेलेलाई न्युयोर्क कसमसका लागि खेल्न मनाएका थिए। २०२२ को विश्वकप अमेरिकामा ल्याउने जिम्मा उनलाई दिइएको थियो। जसमा उनी असफल भए।
Shares
प्रतिक्रिया