ad ad

साहित्य


‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

नेपालखबर
फागुन ५, २०८० शनिबार २१:६, काठमाडौँ

माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए।

नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन्?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए। 

सुमनाले गठबन्धन गर्ने अनि सधैँ एउटै व्यक्तिले शासन गर्ने प्रवृत्तिसँग रिस उठेर आफू राजनीतिमा आएको उनले सुनाइन्। ‘गठबन्धन गर्छु भन्ने भएपछि पैंतलादेखि रिस उठ्यो। सधैं एउटै मान्छे हुँदैन भनेर म राजनीतिमा आएँ,’ उनले सुनाइन्, ‘म जब राष्ट्रिय स्वतन्त्र पार्टीमा गएँ। रविजी एक जनाले जितेपनि म्यासेज दिनपर्छ भन्ने भयो।’ 

जता गएपनि भनसुन गर्ने प्रवृत्ति अन्त्य गरेर सिस्टम बसाइनुपर्ने उनले बताइन्। ‘जता गएपनि भनसुन गर्नुपर्ने अवस्था छ। लोकतन्त्र भन्छौं तर के हामी फ्री छौं? केही गर्छु भन्नेलाई थकाएको थकाइ गर्छ। जता गयो त्यतै दाम चढाउनुपर्छ,’ सुमनाले भनिन्, ‘परिवर्तन गर्नुपर्ने एकजना नेपाली, नेपाली भएर काम सक्न पाउनपर्छ। दलमा आबद्ध हुनुनपर्ने, ठूलो नेतालाई चिन्नुनपर्ने स्वतन्त्रता चाहियो।’

पर्यटनमन्त्री किराँतीले क्षमता भएकाहरूलाई राजनीतिमा आउन आव्हान् गरे। नभए क्षमताहीनले शासन गर्ने र देशले दुःख पाउने उनको भनाइ थियो। उनले आफ्नो हालसालै भाइरल भएको मन्त्रालयमा पोछा लगाएको भिडियोको प्रसंग पनि झिके। कोही सानो हुँदैन र उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको मन्त्री किराँतीले बताए।

‘नगर्नुपथ्र्यो। मलाई पनि हाकिम हुन मन छ। सुविधामै बस्न मन छ। तर हामीले प्रतिकात्मक रुपमा सन्देश के दिने ?’ मन्त्री किराँतीले भने, ‘अमेरिकाको राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किराँतीले पोछा लगाउन नहुने? ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति म खारेज गर्छु। मैले सक्ने र भ्याउने काम म गरिरहन्छु।’

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नयाँ आएकालाई अवसर दिइएमात्र आकर्षण बढ्ने बताए। उनले राजनीति निरन्तरताको आधारमा नभई भिजनको आधारमा हुनुपर्ने जिकिर गरे। ‘राजनीति निरन्तरताको आधारमा होइन कन्टेन्टको आधारमा हुनपर्छ। देश कसरी बनाउने हो भनेर त्यसको फेहरिस्तको आधारमा हुनपर्छ। कांग्रेसमा यस्तो व्यवस्था गर्नुपर्छ कि ३५ वर्ष भएको प्रदिपसँग ३५ दिनअघि आएको मान्छेले जित्यो भने जित्न दिनपर्छ,’ उनले भने। 
गठबन्धन गरेर लोकतन्त्रलाई साँघुरो बनाइएको, विचारको राजनीतिको स्पेसलाई घटाउने काम भइरहेको पौडेलले दाबी गरे। 

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले क्षमता भएकालाई अवसर दिने परिपाटी दलहरूले बनाउन आवश्यक रहेको बताइन्। ‘क्षमता भएका र केही नयाँ गर्छु भनेर राजनीतिमा आएकालाई नेतृत्वमा ल्याउन ऐंठन (थिचाइ) छ। यो पद्धति र प्रणालीको कुरा हो,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .