ad ad

लुम्बिनी


भोट तान्न लुम्बिनीको राजधानी दाङबाट फेरि बुटवल सार्ने आश्वासन!

विष्णु पौडेल र बालकृष्ण खाँणको एकै स्वर
भोट तान्न लुम्बिनीको राजधानी दाङबाट फेरि बुटवल सार्ने आश्वासन!

सुदीप भण्डारी
मंसिर १, २०७९ बिहिबार ११:५५, बुटवल

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन जति–जति नजिकिँदै छ, त्यति नै लुम्बिनी प्रदेश राजधानीको चर्चा चुलिँदो छ।

पाँच वर्षअघि चुनाव सम्पन्न भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको थियो।

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार बनेको ३ वर्षपछि २०७७ असोज २० गते प्रदेशको स्थायी राजधानी दाङको देउखुरी तोकियो। 

२०७४ सालको चुनावमा प्रदेश राजधानीको मुद्दा मुख्य चुनावी एजेन्डा बनेको थियो। रुपन्देहीमा विष्णु पौडेलले प्रदेशको राजधानी बुटवल नै हुने भन्दै मत मागेका थिए।

उता दाङमा शंकर पोखरेलले आफ्नो जिल्लामा राजधानी राख्ने भन्दै चुनावी अभियान चलाएका थिए। अन्ततः पोखरेलले मुख्यमन्त्री बनेपछि प्रदेशको राजधानी दाङ घोषणा गर्न सफल भए। तर त्यहाँ पूर्वाधार नबनेकाले हालसम्म अस्थायी राजधानी बुटवल नै छ।

प्रदेश सभाले राजधानीको विषय २ वर्षअघि नै टुंग्याएको थियो। तर यो चुनावमा राजधानीको विषय चर्किरहेको छ। एमालेले नरोकेका कारण राजधानी दाङ तोकिएको भन्दै कांग्रेसले मत मागिरहेको छ।

मुख्यगरी विष्णु पौडेल राजधानी घोषणा हुँदा नबोलेको भन्दै आलोचना भइरहेको छ। चुनावी अभियानको सुरुमा खासै नबोलेका पौडेलले पछिल्लो समय राजधानी फेरि बुटवल बनाउन सकिने दाबी गरिरहेका छन्। 

केही दिनअघि एउटा टेलिभिजनले आयोजना गरेको चुनावी बहसमा उनले प्रदेशको राजधानी अपरिवर्तनीय निर्णय नभएको तर्क गरेका थिए।

‘यो लडाइँमा हामीले सफलता प्राप्त गरेका छैनौँ। यो कुनै ढुंगाको अक्षर होइन’, उनले भनेका थिए, ‘अर्को प्रदेश सभाले चकले लेखिएको अक्षरलाई डस्टरले मेट्न सक्छ र अर्को नाम लेख्न सक्छ। प्रदेश सभाको कुनै अन्तिम र अपरिवर्तनीय निर्णय होइन।’ 

यस्तै त्यही कार्यक्रममा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले पनि निर्वाचनपछिको प्रदेश सभाले दाङ राजधानी तोक्ने निर्णय ‘करेक्सन’ गर्न सक्ने बताए। 

उता एमाले महासचिव शंकर पोखरेलले पनि यसबारे दाङबाट जवाफ फर्काए। दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलले प्रदेशको राजधानी पटकपटक तोक्न नमिल्ने बताउँदै व्यक्तिले के बोल्छन्, त्यसको अर्थ नहुने टिप्पणी गरे। 

‘दाङबासीको भाग्य र भविष्यलाई हेरेर कठिन अवस्थामा गुमेको राजधानी दाङ बनाएका छौं’, दाङमा चुनावी सभामा उनले भने, ‘राजधानीको गुरुयोजनाको काम अगाडि बढेको छ।’ 

यस्तै बुटवलमा बुधबार साँझ आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँणले प्रदेशको राजधानी दाङलाई बनाउने निर्णय सच्याउनुपर्ने बताएका छन्।

दाङलाई राजधानी बनाउँदा सरकारको खरबौं रकम लगाउनुपर्ने भएकाले त्यसलाई परीक्षण गर्ने र सच्याउने काम पनि प्रदेशबाटै गर्न आग्रह उनले गरे। 

‘पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिँचाइ, सडक र भवन बनाउँदा नेपाल सरकारको खरबौं रकम खर्च हुने रहेछ’, उनले भने ‘यति धेरै सरकारको रकम खर्च गर्न सकिँदैन। प्रदेशले त्यसलाई परीक्षण गरोस्। निर्णय सच्याओस्।’ 

उता शंकर पोखरेलले गृहजिल्लामा बोल्दै आफूले दाङमा प्रदेशको राजधानी कायम गराएको भन्दै मत मागिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .