लुम्बिनी


लुम्बिनीका मुख्यमन्त्रीले भने- समर्थन गर्ने र फिर्ता लिने खेलले देशप्रति वितृष्णा फैलाउँछ

लुम्बिनीका मुख्यमन्त्रीले भने- समर्थन गर्ने र फिर्ता लिने खेलले देशप्रति वितृष्णा फैलाउँछ

नेपालखबर
बैशाख ११, २०८० सोमबार १२:२७, बुटवल

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभामा आफूलाई विश्वासको दिइयोस भन्ने प्रस्ताव पेस गरेका छन्। उक्त प्रस्तावमा सांसदहरुले छलफल गरिहेका छन्।

विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले कहिले विश्वासको मत दिने र कहिले अकारण समर्थन फिर्ता लिने कामले नागरिकमा वितृष्णा फैलाउने बताए। 

‘प्रदेश संरचनामा अस्तित्वको चुनौती बेहोरिरहेको क्षणमा हामीले कहिले विश्वासको मत दिने र कहिले कहिले इशारामा अकारण समर्थन फिर्ता लिनेजस्ता अपरिपक्क, अस्वस्थ क्रियाकलापले देशप्रति झन् वितृष्णा फैलाउँछ’, उनले भने, ‘जनतामा संघीयताप्रति नै नकारात्मक धारणा सिर्जना गरेको छ। अस्थिर मनोवृत्तिले प्रदेश बलियो हुन कठिन छ।’

गिरीले संघीय व्यवस्था आए पनि प्रदेशको स्वायत्तता कमजोर भएको गुनासो पनि गरे। ‘हामीले केन्द्रमा परिवर्तन हुँदा यहाँ पनि परिवर्तन हुनैपर्ने बाध्यतामा किन पुग्छौँ। हाम्रो स्वायत्तता कहाँ पुगेको छ’, उनले भने। 

गिरीले परिवर्तनका लागि लडेका जनता राजनीतिक परिवर्तनपछि पनि आफूहरूको जीवनस्तर नबदलिएकोप्रति खिन्न र दिक्क भएको टिप्पणी गरे। 

 विश्वासको मत माग्ने क्रममा आफूले गरेका काम उनले सुनाए। नयाँ ठाउँमा राजधानी सहर निर्माणको काम आफ्नो मुख्य प्राथमिकता भएको उनले बताए। शून्य व्यवस्थापनबाट राजधानीको काम सुरु गरेको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले ३ वर्षभित्र १० मन्त्रालयका अत्याधुनिक प्रशासनिक भवन बन्ने बताए। 

यस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा पनि काम सुरु गरिएको उनको भनाइ छ। 

मुख्यमन्त्री गिरी बोलेपछि अहिले विभिन्न दलका सांसदले विश्वासको मतमा छलफल गरेका छन्। मुख्यमन्त्रीले जवाफ दिएपछि विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .