लुम्बिनी


लुम्बिनीसँगै रामग्राम, देवदह र तिलौराकोटमा पनि बुद्ध जयन्ती मनाइने

लुम्बिनीसँगै रामग्राम, देवदह र तिलौराकोटमा पनि बुद्ध जयन्ती मनाइने

नेपालखबर
बैशाख २०, २०८० बुधबार २०:४१, बुटवल

२५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीसहित बुद्धस्थलहरुमा विभिन्न कार्यक्रमहरु गरिने भएको छ। यो वर्षबाट बुद्ध जयन्तीलाई बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विशिष्ट रुपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ।

बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने रुपन्देहीको बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धको माओली देवदह, बुद्धको अस्तीधातु रहेको नवलपरासी पश्चिमको रामग्राम र बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट लगायतका क्षेत्र पर्दछ।

बुद्धजयन्तीका दिन वैशाख २२ गते लुम्बिनीमा शोभायात्रा सहित विशेष समारोह हुने भएको छ। सो दिन विहान ६ बजेदेखि ७ बजेसम्म धार्मिक पुजा, ७ देखि ९ बजेसम्म ५ नम्बर गेटबाट मायादेवी मन्दिर हुँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शोभायात्रा हुने छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने आज कोषद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। त्यस्तै मन्त्रीहरु, संघीय तथा प्रदेश सांसद, स्थानिय तहका जनप्रतिनिधि, विदेशी पाहुनाहरुको सहभागिता रहने लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

बुद्ध जयन्तीको अघिल्लो दिन २१ गते मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र महापरित्राण पाठ हुने छ।

बुद्ध जयन्तीको दिन २२ गते नवलपरासीमा पनि कार्यक्रम हुने छ। सो दिन पण्डितपुरदेखि रामग्रामसम्म अस्थिधातु यात्रा हुने कोषले जनाएको छ। रामग्राममा संस्कृती पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला श्रीपालीको सहभागीतामा कार्यक्रम हुने छ।

बुद्धजयन्तीको भोलिपल्ट २३ गते लुम्बिनीबाट तिलौराकोटसम्म बोधिसत्व सिद्धार्थको शोभायात्रा हुने छ। शोभायात्रापछि तिलौराकोटमा बुद्धजयन्ती समारोह हुने छ।

यसअघि १९ गते बुद्धको माओली क्षेत्र देवदहमा बौद्धधर्मग्रन्थमा महत्वपूर्ण मानिने देवदह सुत्त र तीन बौद्ध नारी विभूति परिचर्चा प्रवचन गरिएको थियो। बुद्ध जयन्तीका दिन देवदह क्षेत्रको भवानीपुर, बडिमाई, कन्यामाई लगायतका स्थानमा शान्तिदीप प्रज्वलन गर्ने कोषले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .