ad ad

लुम्बिनी


‘सिकलसेल कुण्डली मिलाएर मात्र विवाह गर्नूस्’

‘सिकलसेल कुण्डली मिलाएर मात्र विवाह गर्नूस्’

रासस
मंसिर १६, २०८० शनिबार १३:३१, तुलसीपुर (दाङ)

सिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोष हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधैँ सताउने गरेको पीडितको भनाइ छ। 

नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै रहेको तुलसीपुर उपमहानगरका उपप्रमुख श्यामी चौधरीले बताए। थारू समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नका लागि विवाह गर्दा रोगी भएका व्यक्तिले अर्को रोगी भएका व्यक्तिसँग विवाह गर्न नहुने कुरामा सबैलाई सचेतना दिन आवश्यक रहेको उनको भनाइ छ। 

‘अहिले पनि सिकलसेल रोगी तथा वाहक (सिकलसेलको आधा देखिएको अवस्था) भएकाले अर्को रोगी तथा वाहक भएकासँग बिहे गर्दा सन्तानलाई पनि सताउने गरेको छ’, चौधरीले भने, ‘त्यसैले गाउँगाउँ र टोलटोलमा गएर यो विषयमा सचेतना दिनुपर्छ।’

यो रोगले थारू समुदायलाई निकै सताएको भन्दै अब पनि यो विषयमा सचेतना प्रदान गर्न नसकिएमा यसले थारू समुदायको अस्तित्व नै खतरा पार्न सक्ने भएकाले सबै तहका सरकारले चेतनामूलक कार्यक्रमलाई व्यापक बनाएर लैजानुपर्नेमा उनले जोड दिए। 

‘रोगी पुरुषले रोगी महिलासँग विवाह गरेमा यो रोग सन्तानमा पनि सर्छ। त्यस्तै वाहक पुरुषले बिरामी महिला तथा बिरामी पुरुषले वाहक महिलासँग बिहे गर्दा पनि सन्तानमा यो रोग सर्ने गर्दछ’, उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले भने। यो कुरा सबैमा जानकारी नहुँदा अहिले पनि बिरामी–बिरामीबीच विवाह भइरहेकाले समस्या थप जोखिम बन्दै गएको उनको भनाइ छ। 

न्यौपानेका अनुसार बिरामी पुरुष वा महिलाले सामान्यसँग बिहे गरेमा बच्चामा यो रोग सर्दैन। साथै आमा वा बुबा वाहक भएमा पनि सामान्यसँग बिहे गर्दा बच्चामा रोग नसर्ने उनले बताए। यो विषयमा कुरा थारू समुदायको गाउँगाउँमा गएर जनचेतना दिन आवश्यक रहेको उनले बताए। 

आज अप्टिमिष्ट क्लब तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरको सहयोगमा तुलसीपुर–७ मोतिपुरको थारू बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ। क्लबका अध्यक्ष कमल सापकोटाले जनचेतनामूलक कार्यक्रम जिल्लाका सबै थारू बस्तीमा आयोजना गर्ने गरी सुरुआत गरिएको बताए। 

दाङका थारू समुदायमा सिकलसेल भयावह अवस्थामा रहेको र उपमहानगरका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताए। सिकलसेल पीडितलाई राज्यले एक लाखसम्मको उपचारको व्यवस्था गरेको उनले जानकारी दिए। गाउँगाउँमा रोग पत्ता लगाउन स्क्रिनिङ गर्न आवश्यक रहेको उनले बताए। 

हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको स्क्रिनिङ भइरहेको केसीले जानकारी दिए। उनका अनुसार दाङमा गएको वर्षमा दुई हजार आठ सय दुई जनामा गरिएको स्क्रिनिङमा ३७ जनामा सिकलसेल भेटिएको थियो भने तीन सय २८ जनामा वाहक देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .