ad ad

मधेस


दुर्गम गाउँमा बिजुली पुगेपछि...

दुर्गम गाउँमा बिजुली पुगेपछि...

फाइल फाेटाे


नेपालखबर
पुस ६, २०७९ बुधबार १९:३१, काठमाडौँ

वर्षाैंदेखि अन्धकारमा बसेका सिरहाको धनगढीमाई नगरपालिका– १४  स्थित अति विकट मानिएको मराइन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। 

स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पुर्‍याएको हो। 

बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्ने गरेका स्थानीयले गाउँमा बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको बताएका छन्।

‘बिजुलीका लागि एक दशकदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौँ’, स्थानीय दिलीप लामाले भने,‘तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या हुन्छ भन्दै सम्बन्धित निकाय पन्छिदै आएको थियो।’

अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको लामाको भनाइ छ। 

“गाउँमा बिजुलीको सुविधा नहुँदा वर्षाैंदेखि लालटिन र टुकी बालेर रात बिताउने गरेका थियौँ’, सिरहाको धनगढीमाई नगरपालिका–१४ मराईनका स्थानीय सूर्य मगरले भने,‘ढिलै भए पनि गाउँमा बिजुली पुगेको छ, यसका कारण गाउँ झिलिमिली बनेको छ र अब हामीलाई सहज भएको छ।’ बिजुली नुहँदा समान्य मोबाइल चार्जका लागि पनि धनगढी बजार धाउनुपर्ने बाध्यताबाट समेत अब मुक्त भएको उनको कथन छ। 

अहिले पूरै गाउँ झिलिमिली छ। विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन्। रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोेबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीय दङ्ग छन्। रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित भएको  लामाले बताए। 

दुर्गम मानिएको ती बस्तीमा बिजुली पुर्‍याउन लामो प्रयासपछि बल्ल बिजुली ल्याउन सफल भएको धनगढीमाई नगरपालिका–१४ का वडाध्यक्ष अमित ठकुरीले बताए। ‘अत्यन्तै विकट ती गाउँबस्तीका स्थानीयको प्रमुख माग नै बिजुली थियो’,वडाध्यक्ष ठकुरीले भने, ‘बाटोघाटो र यातायातको पहुँच नपुगेका यी बस्तीमा कसरी बिजुली ल्याउने भन्नेमा ठूलो चिन्ता थियो।तर विद्युत् प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएको खुसी लागेको छ’ , उनले भने।

पूर्वपश्चिम राजमार्गदेखि करिब १० किलोमिटर उत्तर चुरे जङ्गलनजिकै रहेको सो वडामा करिब दर्जन बस्ती छन्। वर्षाैंदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण सुरु भएसँगै पहिलो चरणमा खुट्टीखोला, मराइनको सबै र राईरैनीको केही भागमा बिजुली बत्ती बल्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए। 

सो वडाको दुर्गममा पर्ने पोलार, मैनामैनी, तोरिबारी, राईरैनी, अम्बासे, मोतिश्री, चट्टान, जामुनटार, डल्मेलगायतका गाउँ बस्तीमा बिजुली पुर्‍याउन चालु आर्थिक वर्षमा रु पाँच करोडको लागतमा विद्युतीकरण सुरु गरिएको प्रमुख यादवले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .