ad ad

मधेस


उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

नेपालखबर
भदौ २२, २०८१ शनिबार ७:५३, जलेश्वर

महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा शुक्रबार राति उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ।

श्रद्धा र आस्थाका महान् पर्वका रूपमा मानिएको यो पर्व शुक्रबार राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य अर्पण गर्दै सम्पन्न भएको हो। यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ।

प्रत्येक घरका ज्येष्ठ महिलाले दिनभर निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन्। यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन छ।

यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुई/तीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने आज घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तु पकाएर चन्द्रमा भगवान्‌लाई चढाउँदै पर्व सम्पन्न गरेका छन्।

शुक्रबार साँझ पर्नासाथ घरका सबै सदस्य चन्द्रमा उदाउने प्रतीक्षामा व्यग्र भएर बसिरहेका थिए। चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका छन्।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन्। त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ।

यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .