सर्लाहीको हरिवनस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा जाँच गराएकामध्ये ३६ जनामा मोतिबिन्दुको समस्या देखिएको छ।
संस्थाले मंगलबार हरिवन ३ डाबरीमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।
शिविरमा ३ सय ३६ जनाले आँखा जाँच गराएका थिए। आँखा जाँच गराएकामध्ये ३६ जनामा मोतिबिन्दुको समस्या देखिएको संस्थाका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए।
सामुदायिक आँखा अस्पताल हेटौँडा र लायन्स क्लब हेटौँडाको सहयोगमा शिविर सञ्चालन गरिएको हो।
मोतिबिन्दुको समस्या देखिएका ३६ जनाको संस्थाले नै निःशुल्क अपरेसनको व्यवस्थासमेत मिलाएको अध्यक्ष पन्तले बताए।
‘उहाँहरूलाई भोलि (बुधबार) हेटौँडा आँखा अस्पतालमा लगेर निःशुल्क अपरेसन गर्ने तयारी भएको छ’, पन्तले भने, ‘अपरेसन गर्दा बिरामीको केही खर्च हुँदैन। सबै व्यवस्था संस्थाले नै गर्नेछ।’
Shares
प्रतिक्रिया