रौतहट सदरमुकाम गौरबाट प्रहरीले २७० बोरा अवैध चामल बरामद गरेको छ।
गौर नगरपालिका ५ स्थित विष्णु मिश्राको दुई तल्ले पक्की घरको भुई तलाको गोदामबाट प्रतिबोरा २५ किलो दरका चार लाख ८६ हजार रुपैयाँ बराबरको अवैध चामल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मिश्राको घरमा गौर ५ घर भएका हरेराम साह र नन्दलाल साहले कोठा भाडा लिएर नन्दलाल चामल, चिउरा भुजा पसल सञ्चालन गर्दै आएका थिए।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्रतिबोरा १८ सय रुपैयाँ मूल्य बराबरको २७० बोरा चामल बरामद गरिएको रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गोप्य सूचनाको अधारमा गोदाममा छापा मारेको थियो।
पसल सञ्चालकले विल विजक केही देखाउन नसकेपछि चामल बरामद गरिएको यादवले बताए। बरामद चामल सोमबार साँझ प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।
Shares
प्रतिक्रिया