तीन दाजुबहिनीमध्ये नवीन र नविता साह डाक्टर हुन्। नविता समिट र नवीन मेघा अस्पतालमा कार्यरत छन्। कान्छी बहिनी कविता म्यानेजमेन्ट पढ्दै छिन्।
कक्षा १० सम्म दाजु–बहिनी दुवैले जनकपुरमा तिहार मनाए। उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनीहरुले उपत्यकामै तिहार मनाउन थालेका छन्।
तिहारमा जनकपुरमा छुट्टै रौनक हुन्थ्यो। एक सातादेखि तिहारको रमझम सुरु हुन्थ्यो। पटका पड्काउन पाएपछि दुबै दाजुबहिनीलाई केही चाहिँदैनथ्यो।
‘सानोमा तिहारसँग हाम्रा रहर पनि जोडिएका हुन्थे’ नविता सुनाउँछिन्, ‘भाइटीका लगाउने, पटका पड्काउने, दाइले दिने दक्षिणाको पर्खाई, झिलिमिली निकै रमाइलो हुन्थ्यो बाल्यकालको तिहार।’
दाजु–बहिनीको आत्मीयता
नवीनलाई बुबाले बहिनीहरुलाई दक्षिणा दिन पैसा दिन्थे। उनले टीका लगाएर त्यो पैसा बहिनीहरुलाई दिन्थे। एकछिनपछि ‘अघि दिएको पैसा मलाई देन’ भनेर मागिहाल्थे।
‘यो पनि एउटा बाल्यकालको रमाइलो र स्मरणीय पक्ष हो’ नविता प्रफुल्लित हुन्छिन्, ‘अब ती दिनहरु चाहेर पनि कहाँ फर्काउन सकिन्छ र!’
बाल्यकालमा दुई दाजुबहिनी झगडा पनि खुबै गर्थे। भनिन्छ नि, जोसँग बढी झगडा हुन्छ निकटता पनि उसैसँग बढी हुन्छ, उनीहरुको सम्बन्ध पनि त्यस्तै थियो। एकलाई अर्को चाहिहाल्ने, बोलिहाल्नु पर्ने, कुरा सुनाइहाल्नु पर्ने।
पढाइमा नवीन नविताभन्दा एक वर्ष सिनियर थिए। काठमाडौंमा आएर नवीनले साइन्स पढे। एक वर्षपछि (२०६३ सालमा) नविता पनि यहीँ आइन् र साइन्स नै पढ्न थालिन्।
सिनियर भएको नाताले दाजुको जिम्मेवारी बनिन् उनी। उनले पनि काठमाडौंमा बुबा र दाइ दुवैको भूमिका निर्वाह गरेर नवितालाई गाइड गरे।
‘दाइले मलाई गाइड नगरेको भए म डाक्टर हुने थिइन। आज म जहाँ छु यसमा उहाँको भूमिका निकै महत्वपूर्ण छ’ नविता भन्छिन्।
पाकिस्तानमा दुःखद् ६ तिहार
‘दाइ जहाँ मलाई त त्यहीँको तिहार रमाइलो’ काठमाडौं आइसकेपछि आफूहरुले यतै भाइटीका लगाउन थालेको नविता सुनाउँछिन्।
पछि डाक्टरी पढाइका लागि नविता पाकिस्तान गइन्। ६ वर्ष त्यतै बित्यो। मुस्लिम समाजमा हिन्दू परम्पराका चाड मनाउने कुरा त परै जाओस् कुरासमेत गर्न पाइँदैनथ्यो। त्यसैले ती वर्षहरु नविताका लागि निकै कष्टकर बने। विशेषगरी तिहारको समयमा दाइको सम्झनामा।
२०६८ सालमा पाकिस्तान पुगेकी उनलाई त्यस वर्षको तिहारमा दाइको यादले खुब सतायो। पहिलोपटक दाइलाई टीका लगाइदिन नपाएको दुःख उनको मनले गाह्रो गरी सह्यो।
‘मुस्लिम देश भएकाले घर आउन त्यसबेला बिदा पनि हुँदैनथ्यो’ नविता स्याड हुन्छिन्।
दाइले भाइटीकाको बेला फोन गर्थे। उनको आवाज सुनेरै भए पनि नविता चित्त बुझाउँथिन्। दाइले फोनमा म तँलाई मिस गरिरहेको छु है भन्दैनथे। उनको स्वाभाव नै त्यस्तै थियो। तर, नविता बुझ्थिन, शब्दद्वारा दाइले नभने पनि उनको मन शान्त छैन भन्ने।
डाक्टरी भाइटीका
नविता २०७३ सालमा नेपाल फर्किइन्। लगत्तै डाक्टरको रुपमा जागिरे भइन्। ६ वर्षपछिको भाइटीका उनका लागि विशेष थियो। अझ भनौँ त्यतिबेला नवीन डाक्टर बनिसकेका थिए।
नविता पनि डाक्टर बनेपछि उनीहरुले त्यो वर्ष जनकपुर नै पुगेर परिवारका साथमा तिहार मनाए। दुवै दाजुबहिनी परिपक्क भइसकेका थिए। तिहार औपचारिकता बन्यो। धेरै कुरा बदलियो। तर, आत्मीयता बदलिएन।
बदलिएका कुरामध्ये दक्षिणा र उपहार पनि हुन्। बेरोजगार हुँदा कम दक्षिणा हुन्थ्यो, जागिरे भएपछि दक्षिणासँगै उपहार पनि थपियो।
‘पाँच हजार हुँदै अहिले त सुनको सिक्री, कानमा लगाउने झुम्का आउन थालेको छ’ नविता हाँस्छिन्। तर, उनलाई उपहार एउटा आत्मीयता साट्ने माध्यममात्र हो भन्ने लाग्छ। ‘सानो ठूलो भन्ने हुँदैन। मूल्य हेरिँदैन। कसले दियो भन्ने कुराले नै महत्व राख्छ’, उनी भन्छिन्।
उपहार एउटा स्मरण पनि हो। त्यसैले नविता पनि चस्मा, ज्याकेट, जुत्ताजस्ता वस्तु उपहार दिन्छिन्।
नवितालाई लाग्छ दाजुबहिनीको सम्बन्ध सधैँ सुमधुर हुन्छ। भाइटीकाका कारणमात्र राम्रो हुने भन्ने होइन।
‘तर, एक दिन पुरै एकअर्कालाई समय दिँदा त्यसले यसको महत्व झनै बढाइदिन्छ, आत्मियता देखाउने अवसर मिल्छ’ नविता भन्छिन्, ‘नत्र त हाम्रो पेसामा फुर्सद भन्ने नै कहाँ हुन्छ र।’
भाइटीकाको दिन दाइको डियुटी
यस पटक भाइटीकको दिन नविनको डियुटी छ। उनले दशैंमा बिदा बसेका कारण कारण तिहारमा डियुटी जानु पर्ने भएको हो।
गत वर्ष नविताको बिहे भएकाले यतिबेला उनीहरु सँगै पनि छैनन्। त्यसैले यसपटकको भाइटीका के हुने हो नवितालाई थाहा छैन।
‘तर, मलाई जहाँसम्म लाग्छ दाइले सप्राइज चाहिँ पक्कै दिनुहुन्छ’ नविता भन्छिन्। दशैंमा काम गरेकाले तिहारमा नविताको भने बिदा छ।
उनलाई लाग्छ डाक्टरी फिल्डमा कुनै च्वाइस छैन। जागिर गर्दा नै आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्छ। बिरामीको सेवामा समर्पित हुनु नै पहिलो रोजाइ हुन्छ।
‘तिहारमा दाइभाइ, दिदीबहिनीसँग एउटा आत्मीयता त हुन्छ। तर, हाम्रो कारण एउटा बिरामी भए पनि निको हुन भनेको सबैभन्दा ठूलो सन्तुष्टि हो’ नविताले भावुक हुँदै भनिन्।
Shares
प्रतिक्रिया