चलचित्र लेखक शान बस्न्यात किशोर छँदासम्म पाँच जनाको समूहमा भाइटीका लगाउँथे। आफ्नै भाइ–बहिनी र माइलो बुबाका छोरा–छोरी एकै ठाउँमा जम्मा भएर रमाइलो गर्दै टीका लगाउँथे।
सानोमा उनीहरुलाई भाइटीकाको नियम थाहा हुँदैनथ्यो। टीका लगाउँदा उल्टोपाल्टो हुन्थ्यो। कहिले पहिले तेल लगाउने, कहिले छिट्टै ओखर फुटाउने त कहिले के, कहिले के।
‘टीका लगाइसकेपछि ला त्यो पनि गर्न बाँकी छ है भनेर फेरि गर्नुपथ्र्यो’, शानले बाल्यकालको भाइटीकाको अनुभव सुनाए।
खल्लो बन्दै भाइटीका
उमेर बढेसँगै तिहारको रमाइलो पनि घट्दै गएको छ। अहिले त शानका दाइ, भाइ र बहिनी विदेशमा छन्। भाइटीकामा एक बहिनी र उनीमात्र हुन्छन्। पहिलाजस्तो रमाइलो हुँदैन।
‘फोन या भाइबरमा कुरा गरेर चित्त बुझाउनुपर्छ’, शान सुनाउँछन्, ‘पहिला सबै एकै ठाउँमा भएजस्तो रमाइलो नै हुँदैन। उनीहरु उता बसेर हामीलाई सम्झिने, हामी यता बसेर उनीहरुलाई।’
दाइ विदेशिएको १० वर्ष भयो भने भाइ ६ वर्ष। पछिल्लो वर्ष बहिनी पनि विदेश उडेपछि दाजु–बहिनीका लागि २०७५ सालको तिहार निकै खल्लो भयो। यो वर्ष पनि उनको ठूलो बुबाको छोरा बितेकाले टीका छैन। त्यसैले तिहार नरमाइलो हुने पक्का छ।
नायिका प्रियंकासँग भाइटीका
शानले विगत ६ वर्षदेखि नायिका प्रियंका कार्कीसँग भाइटीका लगाउँदै आएका छन्। उनीहरुले रमाइलो गर्दा गर्दै एक–अर्कालाई दिदी–भाइ बनाए। यो सम्बन्ध अगाडि बढ्दै गयो।
२०७० साल। प्रियंकाले शानसँग रक्षाबन्धन लगाउने प्रस्ताव गरिन्। शानले पनि सहमति जनाए। त्यसपछि उनीहरुको दिदी–भाइको सम्बन्धले वैद्यानिकता पायो। त्यसै वर्ष भाइटीका पनि लगाए।
प्रियंकाका आफ्नै भाइ प्रणित अमेरिकामा बस्छन्। त्यसैले उनी प्रणितलाई भाइटीका लगाउन असमर्थ हुन्छिन्। उनका केही आफन्त दाइ–भाइ पनि छन्। प्रियंका सुरुमा उनीहरुलाई टीका लगाइदिन्छन्, त्यसपछि शानलाई। कहिलेकाहीँ सँगसँगै पनि।
शान पनि बहिनीसँग टीका लगाएर प्रियंकाकोमा जान्छन्। तर, कहिलेकाहीँ शान टीका लगाएर त्यहाँ पुग्दासम्म प्रियंकाको टीका लगाउने कार्यक्रम सकिएको हुँदैन।
‘प्रियंकाले सम्पूर्ण प्रक्रिया पूरा गरेर टीका लगाइदिनुहुन्छ त्यसैले ढिला हुन्छ’, शान सुनाउँछन्, ‘हाम्रो पारा त पहिलेको जस्तै हो। छिटोछिटो लगायो सक्कायो।’
उनले प्रियंकासँग जिस्कँदा–जिस्कँदै भाइटीका लगाउन सुरु गरेको बताए। ‘प्रियंकासँगको सम्बन्ध दिदी, तपाईं, तिमी हुँदै अहिले तँसम्म पुगेको छ’, उनी सुनाउँछन्।
खुट्टा ढोगाउँछिन् प्रियंका
हरेक पटक प्रियंका भाइटीकापछि शानलाई खुट्टा ढोगाउँछिन्। ढोगाएको फोटो फेसबुकमा राख्छिन्। शानलाई यो कुरा रमाइलो लाग्छ। उनलाई लाग्छ, आत्मीयता भनेको यही न हो।
तर, सो कुराले बहिनीहरुको खुट्टा नढोगेका उनलाई दबाब बढेको छ। त्यसैले उनी आजभोलि बहिनीहरुको पनि खुट्टा ढोग्छन्। ‘उहाँसँग टीका लगाउँदा सबै कुरा रमाइलो नै हुन्छ’, शान भन्छन्, ‘प्रियंका जति निकट भयो उति रमाइलो गर्नुहुन्छ।’
बोक्नै नसक्ने उपहार
शान प्रियंकासँग टीका लगाएपछि कहिले उपहार त कहिले पैसा दिन्छन्। कति दिन्छन् त्यो त खुलाउन चाहन्नन्। भन्छन्, ‘राम्रै दिन्छुजस्तो लाग्छ।’
प्रियंकाले भने शानले बोक्नै नसक्नेगरी उपहार दिन्छिन्। एउटा बास्केटमा के–के हुन्छ-हुन्छ।
‘उहाँको चिज अलि डेन्जर आउँछ के’, शान हाँस्छन्।
बास्केटमा चकलेट, बिस्कुट, मीठाई, जुस, केक, फलफूल, भाइ मसलादेखि थुप्रै चिजहरु हुन्छन्। सुरु–सुरुमा त उनले दिएका उपहार शानले मोटरसाइकलमा घर ल्याउनै सकेनन्। गाडीमै ल्याउनुपर्यो।
‘आजकाल त म गाडी नै लिएर जान्छु’, शान जोडले हाँस्दै भन्छन्।
ल्याउन त ल्याउँछन् तर प्रियंकाले दिएका खानेकुरा सिध्याउन निकै समय लाग्छ उनलाई।
भावनात्मक सम्बन्ध
रगतको नातासँगै भावनात्मक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यही सम्बन्धको जग हो– प्रियंका र शानको नाता पनि।
२०६९ सालमा ‘भिजिलान्ते’ फिल्मका क्रममा उनीहरुको भेट भएको थियो। फिल्मको सेटमा प्रियंकासहित तीन जना केटीहरु आएर शानलाई ‘राइटर साव’ भनेर जिस्काएका थिए। तर, सान लाजले बोल्न सकेनन्। यो फिल्मको सुटिङ सकिँदासम्म उनीहरुबीच खासै बोलचाल भएन।
प्रियंकासँगको दोस्रो फिल्ममा भने उनीहरुबीच बोलचाल भयो। तेस्रो फिल्म ‘झोले’ सम्म आइपुग्दा त उनीहरुले भाइटीका नै लगाए।
‘मलाई आफ्नो बहिनीहरुको निकै माया लाग्छ र ऊ पनि आफ्नै भइसक्यो’, शान प्रियंकाप्रतिको प्रेम दर्शाउँछन्।
पहिलो पटक भेट्दा प्रियंका र शानको बोलचाल नै भएको थिएन। शानको स्वभाव पनि लजालु छ। उनी हत्तपत्त कसैसँग खुल्दैनन्।
टीकापछि चिया गफ
भाइटीका लगाएपछि प्रियंका र शान लामो समय चिया गफमा भुल्थे। रमाइलो गफगाफ हुन्थ्यो। तर, यस पटक टीका नभएकाले उनले प्रियंकालाई मिस गर्नेछन्।
‘सकेसम्म भेटेर चिया पिउने र गफ गर्ने योजना छ तर समय कस्तो हुन्छ’, शान सुनाउँछन्।
प्रतिक्रिया