म्यागेजिन


मैले आमाभन्दा बुबा बलियो भन्ने भ्रम तोड्न खोजेकी हुँ: आन्विका (भिडियो वार्ता)

मैले आमाभन्दा बुबा बलियो भन्ने भ्रम तोड्न खोजेकी हुँ: आन्विका (भिडियो वार्ता)

कृष्ण आचार्य
कात्तिक २२, २०७६ शुक्रबार १०:१८,

२०६१ सालमा ‘हाम्रा कुरा पनि सुन्नुस्’ नामक बाल कथासंग्रह प्रकाशन गरेर आन्विका गिरी नेपाली साहित्यमा प्रवेश गरिन्। तर, त्यो पुस्तकको कतै चर्चा भएन। प्रौढ साहित्यको चर्चा देखेपछि उनी त्यतै लागिन्, कथा संग्रह ‘कम्युनिस्ट’ मार्फत्। प्रौढ साहित्यमा प्रवेश गरेकी आन्विका पछिल्लो समय बालबालिकालाई यौन दुर्व्यवहार बुझाउने पुस्तक लिएर आएकी छन्। बाल साहित्य, राजनीतिक कथा, उपन्यास हुँदै फेरि बाल साहित्यमा फर्किएकी आन्विकाले हालसम्म सात वटा पुस्तक लेखिसकेकी छन्। उनका लेख–रचना पनि सधैँ चर्चामा रहन्छन्। महिला आन्दोलन, सशक्तिकरण र न्यायका पक्षका आवाज उठाउँदै आएकी लेखक आन्विका गिरीसँग यो साताको वार्ताः

बाल्यकालमा आमा (उमा गिरी) ले तपाईंहरुलाई राजकुमारका कथाहरु खुबै सुनाउनुहुन्थ्यो रे होइन?
मेरो आमा जनकपुरमा हुर्किनुभयो। हामीलाई उहाँले मैथिली र हिन्दीभाषीमाझ प्रचलित लोककथा सुनाउनुहुन्थ्यो। ती कथा काल्पनिक हुन्थे। जस्तैः एउटी महिलाको पाँच छोरी हुन्छन्। एउटा राजकुमार आउँछन् र कान्छी छोरी भगाएर लैजान्छन्। उसकी आमाले घोडाको पुच्छर तरबारले काटिदिन्छिन्।

उहाँ ७ जना छोराछोरीको आमा। बिहानदेखि साँझसम्म काम गरिराख्नुपर्दा निकै थाक्नुहुन्थ्यो। तर, हामीलाई कथा सुन्नैपर्ने। त्यसैले हामी उहाँको खुट्टा थिचिदिँदै कथा सुन्थ्यौँ। कुनै–कुनै बेला भने फकाउनका लागि पनि यसो गरिन्थ्यो। केटाकेटीमा सधैँ खुट्टा थिचिदिन मन नलाग्न सक्छ, दिक्क लाग्न सक्छ तर, खुट्टा थिचेपछि कथा सुन्न पाइन्छ भन्ने लोभ थियो। उहाँका भूतप्रेत, राजकुमारका कथा सुनेर हामी हुर्कियौँ।

तपाईंले आमाबाट अलौकिक कथा सुन्नुभयो। अहिले आफ्नी छोरीलाई कस्ता कथा सुनाउनुहुन्छ?
आमाबाट सुनेका कथा यथार्थ होइनन् भन्ने मैले बुझेँ। त्यो बुझ्न मलाई समय लाग्यो। भूतप्रेत, राक्षस, बोक्सीमा मलाई विश्वास त थिएन तर, आमाको कथाले एउटा उमेरसम्म प्रभाव पारेको थियो। यस्ता कथा सुनाउँदा छोरीको मानसिकता पनि त्यस्तै हुनसक्थ्यो। त्यसैले मैले उसलाई कहिल्यै त्यस्ता कुरा सुनाइनँ। कहिलेकाहीँ मैले जिस्काएर ‘अब मेरो टाउकोमा दुईटा सिङ आउँछ है’ भन्दा छोरी हाँस्छिन्। उनलाई हरर फिल्म हेर्न कुनै डर लाग्दैन। एक्लै पनि हेर्छिन्। म सचेत भइसकेकाले मेरो छोरीमा डर राख्न चाहँदैनथेँ। मेरो आमा चेतनाका हिसाबले कमजोर हुनुहुन्थ्यो र हामीलाई आफ्नो आमा, हजुरआमाबाट सुनेका कुरा सुनाउनुहुन्थ्यो। तर, म यसमा सचेत भएँ।

AG2

सानै उमेरमा केटाकेटीलाई लैंगिक विभेद, दुर्व्यवहारका कथा सुनाउँदा उनीहरु सबै लोग्नेमान्छे खराब हुन्छन् भन्नेजस्ता धारणा बनाउन उत्प्रेरित त हुँदैनन्?
छोरीलाई मेरो कुरा सतप्रतिशत सही नहुन सक्छ र यसकै आधारमा तिमी कुनै धारणा नबनाऊ भन्ने गर्छु। यो मेरो विचार हो, मलाई यस्तो लागिरहेको छ, तिमी पढ, बुझ अनि आफ्नो धारणा बनाऊ भन्छु। कुनै पनि कुराप्रति उसको आफ्नो विचार, दृष्टिकोण होस् भन्ने मेरो चाहना थियो र उनी त्यही बाटोमा अघि बढिरहेकी छिन् भन्ने मलाई लाग्छ। विविधताभित्र एकता त छ हाम्रोमा, तर त्यही समाजमा थुप्रै असमानता र विभेद पनि छन्। यो कुरा पनि म छोरीलाई सिकाउँछु।

लेखनतिर जाउँ, ०६१ सालमा ‘हाम्रा कुरा पनि सुन्नुस्’ बाल कथा संग्रह प्रकाशित गर्नुभयो। १९ वर्षको उमेरमा यो जोश कहाँबाट आयो?
म विद्यालयमा अतिरिक्त क्रियाकलापहरुमा सक्रिय हुन्थेँ। नयाँ कुरा पढ्ने, बुझ्ने र जान्ने मेरो रुची थियो। बालअधिकार क्लबमा पनि आवद्ध थिएँ। घर, स्कुल, परिवार र समाजमा बाल सहभागिताका विषयमा क्लबमार्फत काम गथ्र्यौँ। मैले धेरै कुरा सिक्न पाएँ। आफूले देखेका र भोगेका कुरालाई कथाको रुप दिएकी थिएँ। अरुलाई पनि त्यसबारे जानकारी दिने उदेश्यले किताब निकाल्ने सोच बनाएँ। तर, कसले प्रकाशित गर्छ, कसरी गर्ने भन्ने थाहा थिएन। त्यसैले आफैँ प्रकाशन गरेँ।

aanwika2.jpg

कविता प्रतियोगिताहरुमा तपाईं विजेता बन्नुहुन्थ्यो, तर कहिल्यै कविता संग्रह भने निकाल्नुभएन। किन?
सुनसरीको शिशु विकासिनी मधेसा स्कुलमा पाँच कक्षामा पढ्दा पहिलो पटक कविता प्रतियोगितामा भाग लिएकी थिएँ, प्रथम भएँ। त्यसपछि थुप्रै प्रतियोगिताहरुमा प्रथम हुने सौभाग्य पाएँ। जिल्लामा पनि प्रथम भएँ। हेर्दाहेर्दै म कवि नै भएँ। तर, पछि मैले कविता नै लेख्न छाडेँ। अहिले मसँग एउटा पनि कविता छैन होला। अरुका कविता पढ्न थालेपछि आफूले लेखेका कविता त केही होइन रहेछन् भन्ने लाग्यो। त्यसैले मैले कहिल्यै कविता संग्रह निकाल्नेबारे सोचिनँ र निकाल्दिनँ पनि।

प्रौढ साहित्यमा जम्दै गर्दा छोरीका लागि पढ्ने राम्रो किताब खोज्दा नभेटिएपछि फेरि बाल साहित्य लेख्न अघि सर्नुभयो भन्ने सुनिन्छ। खास कुरा के हो?
सानो छँदा मैले किताब पढ्न पाइनँ। मेरो आमालाई पाठ्यक्रमबाहेकका किताब पढ्न दिनुपर्छ भन्ने थाहा पनि थिएन। मेरो बुबा शिक्षक भए पनि पाठ्यक्रममै जोड दिनुहुन्थ्यो। तर, छोरीले यसबाहेकका धेरैभन्दा धेरै किताब पढुन र आफ्नो जीवनबारे सानैदेखि धेरै कुरा थाहा पाउन भन्ने सोच्थेँ। मैले फेला पारेका किताब कि त काल्पनिक कि कुनै जाति, भाषा र संस्कृतिलाई प्रोत्साहन गर्ने हुन्थे। त्यसैले अलिकति गम्भीर भएर किताब लेख्नुपर्छ भन्ने लागेको हो।

आफूले किताब लेखेर छोरीको आवश्यकता पूर्ति गर्नुभयोजस्तो लाग्छ?
मेरा एक–दुईटा किताबले उनको आवश्यकता पूर्ति भयो या भएन भन्न सक्दिनँ। तर, उनले यस्तो खालको किताब पनि हुन्छ है भन्ने कुरा त थाहा पाइन् नि। अब उनमा यस्ता खालका किताब पढ्नुपर्छ भन्ने चेत विकास भएको छ भन्ने मलाई लाग्छ। अहिलेका बालबालिका अंग्रेजी साहित्यको सम्पर्कमा आएका छन्। जुन विशाल छ। उनीहरुको तुलनामा त हामी धेरै पछि छौँ। यसबीच उनलाई नेपाली किताब पढाउनमा केही भूमिका खेलेँ कि भन्ने लाग्छ। फेरि मेरो किताब मेरी छोरीका लागि मात्र नभएर उनीजस्त थुप्रैका लागि हो।

धेरै हदसम्म बाल साहित्यलाई बेवास्ता गर्ने चलन छ। राजनीतिक विषयवस्तुमा रुची राख्ने तपाईं बाल साहित्य लेखनतर्फ लाग्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
अहिले पनि म राजनीतिक कथा लेखिरहेकी छु। मेरो पहिलो रुची पनि त्यही हो। बालबालिकाका लागि पनि लेख्नुपर्छ भनेर यता लागेकी हुँ। अन्य उमेर समूहका लागि पनि लेखिरहेकी छु, केही समयपछि किताब पनि आउला। अहिले साहित्य पढिसकेपछि बालबालिकामा त्यसको छाप परोस् भनेर गम्भीर भएकी हुँ।

मान्छेबाट दुईखाले प्रतिक्रिया आइरहेका छन्। कतिपयले आन्विका लेख्न नसकेर बाल साहित्यमा लागी भन्नेजस्ता कुरा पनि गर्छन्। अर्कोतर्फ थुप्रै मान्छेले मलाई धन्यवाद पनि दिएका छन्। तपाईंले लेख्न थालेपछि अरुले पनि बाल साहित्य लेख्छन् कि भन्नेहरु पनि छन्। सकारात्मक प्रतिक्रिया सोचेभन्दा बढी आएको छ। म यसमै खुसी छु।

बाल यौन दुर्व्यवहारका विषयमा लेख्न कसरी प्रेरित हुनुभयो?
बालिकाहरुमाथि बलात्कारका घटना बारम्बार भइरहेका छन्। यस्ता विषयमा म अलि बढी नै चासो राख्छु। निर्मला पन्तको विषयमा त म आफैँ पनि धेरै सक्रिय भएँ। विभिन्न आन्दोलन, धर्नामा गएँ, विभिन्न व्यक्तिलाई भेटेर लबिङ गर्ने काम गरेँ। त्यसपछि मलाई निर्मलाजस्तै बालबालिकामाथि दुर्व्यवहार हुन्छ र त्यस विषयमा लेख्नुपर्छ भन्ने लाग्यो। किन कि धेरैलाई बाल यौन दुर्व्यवहार के हो भन्ने नै थाहा हुँदैन। परिवारका सदस्यसँग कसरी यसबारे कुरा गर्ने भन्ने पनि ज्ञान हुँदैन। पाठ्यक्रममा पनि जानकारी छैन। त्यसैले मैले किन नलेख्ने भन्ने लाग्यो र लेखेँ।

AG

पुस्तक लेख्दा पीडित बालबालिकाका अनुभवलाई पनि समावेश गर्नुभयो?
मैले पीडितहरुसँग त कुरा गरिनँ। तर, पत्रपत्रिकामा आएका कुराहरु, विभिन्न अनुसन्धानमूलक प्रतिवेदन अध्ययन गरेँ। त्यसलाई आधार बनाएर लेखेको हो। केदार शर्मालगायत केही व्यक्तिसँग सल्लाह पनि लिएँ।

विभिन्न सर्वेक्षणअनुसार बालबालिका आफन्तबाटै सबैभन्दा बढी यौन हिंसामा पर्छन्। यस्तो किन हुन्छ?
दुर्व्यवहार भन्ने कुरा अचम्मको छ। अर्को पक्षले असहज महसुस गर्ने बित्तिकै त्यो दुर्व्यवहार हो। ठूला मान्छेलाई बालबालिकालाई माया गरेँजस्तो लाग्न सक्छ तर, त्यहाँ दुर्व्यवहार भइरहेको हुन्छ। हामीकहाँ त्यो किसिमको सचेतता छैन। बालिकालाई दाह्री दल्ने, शिक्षकले विद्यालयमा ढाड सुमसुम्याउने खालका थुप्रै घटना छन्। दुर्व्यवहारदेखि बलात्कारसम्मका घटना प्रायः आफन्तबाटै घटेका थुप्रै उदाहरण छन्।

आफन्तप्रति पीडित पक्षको परिवारले विश्वास गरेका हुन्छन्। अर्को, बच्चाले भनेको कुरालाई गम्भीरतापूर्वक लिइँदैन। पीडकले त्यसको फाइदा उठाइरहेको हुन्छ। समस्या परिवारमा आएपछि पनि डर, धम्की देखाउने गरेका कारण घटना बाहिर आउँदैन। त्यस्तै, इज्जत र प्रतिष्ठाका कारण पनि कतिपय घटना दबाइएका हुन्छन्।

‘सानीका ज्ञानी कुरा’ ले यस्ता घटनाको अन्त्यका लागि कस्तो प्रभाव पार्ला?
केही समयअघि म अपाङ्गता भएका बालबालिकासँगको एक कार्यक्रममा गएकी थिएँ। त्यहाँ मैले अभिभावकहरुलाई तपाईंहरुले अहिलेसम्म आफ्ना बालबालिकालाई यस्तो खाले दुर्व्यवहार हुनसक्छ भनेर सचेत गराउनु भएको छ कि छैन भनेर सोधेँ। दुई जनाले मात्र भनेका छौँ भन्नुभयो। २४–२५ जनामा दुई जनाले मात्र यस विषयमा कुरा गर्नुभएको रहेछ भनेपछि हामीले के बुझ्ने? मैले आफ्नो पुस्तक दिएपछि उहाँहरु खुसी हुनुभयो र यसबारे कुरा गर्ने बताउनुभयो।

एक जना दाह्री पाल्ने व्यक्तिले मलाई म जहिल्यै बालबालिकालाई दाह्री दलिदिन्थेँ। तपाईंको किताब पढेपछि झसंग भएँ। अब त्यस्तो काम गर्दिनँ भन्नुभयो।

aanwika3.jpg

आफूमाथि हुनसक्ने दुर्व्यवहारप्रति बालबालिका आफैँ कसरी सचेत हुन सक्छन्? त्यसका लागि अभिभावकीय दायित्व के रहन्छ?
पहिलो कुरा त बालबालिकाले दुर्व्यवहार भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्यो। त्यो जानकारी दिने भनेको अभिभावक, शिक्षक, युट्युब च्यानल र पाठ्यक्रम हुन सक्छन्। दुर्व्यवहार भनेको के हो भन्नेबारे जानकारी पाइसकेपछि बालबालिकाले आफ्ना अभिभावकलाई आफूमाथि भएको घटनाबारे बताउन सक्छन्। बालबालिकालाई तिमीहरुमाथि यस्तो–यस्तो गतिविधि हुनसक्छ र त्यस्तो भएमा प्रतिकार गर्नु, हामीलाई भन्नु भन्दा केही लाज मान्नुपर्ने देखिँदैन। बच्चाले भनिसकेको कुरालाई पनि अभिभावकले गम्भीर रुपमा लिनुपर्छ। यो थाहा पाएपछि के होला, मान्छेले के भन्लान् भन्ने होइन, गलत कुराको विरोध गर्दा सधैँ सबैले राम्रो भन्छन् भन्ने सोच्नुपर्छ। गलत कुरासँगको लडाइँ इज्जत वा बेइज्जत केहीसँग पनि जोडिँदैन। त्यसैले घटनालाई लुकाउने वा दबाउने काम गर्नु झन् पीडकलाई प्रोत्साहन दिनु हो।

तपाईं महिला आन्दोलन र महिला शसक्तिकरणको विषयमा पनि जानकार हुनुहुन्छ। अहिले नेपाली महिला आन्दोलनको अवस्था कस्तो छ भन्ने लाग्छ?
नेपालमा महिला आन्दोलन एक किसिमले सामसुमजस्तै छ। महिला आन्दोलन न संगठित छ न प्रखर नै छ। सामाजिक संजालभित्र छिर्दा निकै हल्ला भएजस्तो लाग्छ तर, त्यहाँबाट बाहिर निस्किएर हेर्दा शून्यप्रायः छ। मुद्दाहरुमा बहस हुने गरेको छैन। अर्को कुरा आफूनिकट वा आफ्नो विचारको पार्टी सरकारमा भए चुप लाग्ने परम्पराले पनि महिला आन्दोलन पछाडि परेको छ। महिलाको मुद्दामा त कम्तीमा पार्टी र सरकार नभन्नु पर्ने हो। तर, यहाँ त्यो छैन।

‘मी टू’ अभियानले नेपालमा पारेको प्रभावबारे तपाईंको धारणा के छ?
हाम्रो सचेतनाको तह कहाँ छ भन्ने कुराले प्रभाव पार्छ। मण्डला थिएटरको विषयमा पीडितले ठूलो जोखिम मोलेर घटना सार्वजनिक गरे। तर, मानिसहरुले त्यसलाई निकै हलुका तरिकाले लिए। मण्डलाले छानबिन समिति बनाउने भन्यो तर, तीन महिनासम्म एउटा समिति पनि बनाउन सकेको छैन। पीडकलाई एक वर्षका लागि निलम्बन गर्यौं भन्यो तर, निलम्बित व्यक्तिलाई मञ्च दिइयो। मानिसहरु उसकै नाटक हेर्न गए। ठूलाठूला व्यक्तिले समेत नाटकको प्रचार गरे। कसैले किन यस्तो व्यक्तिको नाटक देखाइरहेको भनेर एउटा पनि प्रश्न गर्न सकेनन्।

त्रिविका प्राध्यापक डा कृष्ण भट्टचनलाई उनकै विद्यार्थीले यौन हिंसाको आरोप लगाए। तर, यसलाई जनजातिमाथिको आक्रमणको संज्ञा दिएर दबाउन लागियो। त्यसैले यस्ता विषयले तत्काल आउनासाथ प्रभाव नपार्न सक्छन्, त्यसका लागि समय लाग्छ। भट्टचनको समर्थनमा आवाज उठाउने ओम गुरुङमाथि प्रश्न किन नउठाउने? उहाँले जनजातिमाथिको हमला भनेर प्रेस विज्ञप्ति निकाल्न मिल्छ? यस्ता कुरालाई चिर्दै हामी अघि बढ्नुपर्छ। मलाई लाग्छ पीडितले आवाज उठाउन छाड्नु हुँदैन।

आफूले चिनेको, प्रतिष्ठित व्यक्तिप्रतिको विश्वासले यसो भएको भन्ने लाग्दैन?
मुख्य कारण यही हो नि। ‘मैले त उहाँलाई यति वर्षदेखि चिनिरहेको हो, उहाँले त्यस्तो गर्नै सक्नुहुन्न’ भन्ने खालको विश्वासले कुरा बिग्रिएको हो। तपाईं अरु मानिसलाई चारित्रिक प्रमाणपत्र दिन सक्नुहुन्न। तपाईंसँगका असल मान्छे अरुका लागि खराब हुनसक्छ। अर्को कुरा बौद्धिक मानिएका, प्रभावशाली, वैचारिक मानिसहरुले यसलाई गम्भीरताका साथ नलिनु दुःखद् हो। एकदिन उनीहरु आफ्नो व्यवहारप्रति लज्जित हुन्छन् भन्ने मलाई लाग्छ।

भिडियो: 

उमेर पुगेकाहरु पनि दुर्व्यवहारमा पर्नेबित्तिकै यसबारे बोल्न सक्दैनन्। कतिपयमा यौन हिंसा हुनसक्छ भन्ने सचेतना पनि कम देखिन्छ। अझै पनि किन यस्तो अवस्था छ?
जब बोल्छन् नि तब के हुन्छ? प्रहरीकोमा जाँदा प्रमाण खोज्दै झुलाइन्छ। उपल्लो दर्जाको मान्छे छ भने घटनास्थल पुग्नै प्रहरीलाई समय लाग्छ। त्यतिबेलासम्म प्रमाण नष्ट भइसकेको हुन्छ। आफ्नो साथी वा कार्यक्षेत्रमा भन्दा पनि विश्वास गर्दैनन्। परिवारमा भन्न सक्दैनन्। सहरी क्षेत्रका महिलाहरु त सचेत छन् तर, ग्रामीण क्षेत्रका महिलामा त्यो सचेतना नहुन सक्छ। त्यसैले सर्वप्रथम सचेतना फैलाउनु आवश्यक छ।

आरआर क्याम्पसका स्ववियू नेता इन्द्रहाङ राईको केसमा हेर्नूस् न, ती बलात्कृत युवती दाइ सम्झिएर विश्वास गरेर उनीसँग कोठामा पुगिन्। तर, विश्वासघात भयो। यस्ता कुरामा पनि सचेत हुन जरुरी छ। घटनापछि पनि लाज, डर, धम्कीका कारण घटना बाहिर आउन सकेको छैन। तर, हिजोभन्दा आज राम्रो हुँदै गएको छ।

महिला लेखक आफ्ना पीडा र रोदनका कुरामात्र लेख्छन् भन्ने आरोपलाई कसरी लिनुहुन्छ?
केन्या जाँदा एक शिक्षकलाई मैले एक पटक प्रश्न गरेँ– बाटोमा हिँड्दा म मुस्कुराउँछु तर, यहाँका मानिसहरु कि मुस्कुराउँदैनन्? उनले मलाई उत्तर दिए– अ हंग्री म्यान इज एन एंग्री म्यान। केन्यामा कति भोकमरी, गरिबी छ। उनीहरुको कथा मैले बुझ्न सकिनँ। त्यसैले सर्वप्रथम महिलाको रोदन र पीडाका कुरा लेखिनु आवश्यक छ। पुरुषले यस्तो लेखे भनेर महिलाले पनि त्यस्तै लेख्नुपर्छ भन्ने छैन। पछिल्लो समय हेर्नुस् त सामाजिक सञ्जालमा महिलाका आलेख कति सशक्त ढंगले आइरहेका छन्। कतिपयलाई यो महिलाले पुरुषको विरुद्धमा लेखेको भन्ने लाग्न सक्छ। तर, उनीहरुले सासू, बुहारी वा परिवारका अन्य सदस्यविरुद्ध पनि लेखिरहेका छन्। महिलाको लडाईं पुरुषसँग नभएर पितृसत्तात्मक सोच भएका जो कोहीसँग हो।

महिला लेखक र पुरुष लेखकको लेखकीय पढ्नुस न। महिलाहरु घरको काम सकेर, छोराछोरीलाई सुताएर राति १२ बजेसम्म र बिहानै उठेर लेख्छन्। पुरुषहरु श्रीमतीलाई, छोराछोरीलाई दिने समय काटेर लेखिरहेका हुन्छन्। कुकरको सिठ्ठी बज्दा पुरुष लेखकलाई डिस्टर्ब हुने तर, त्यो सिठ्ठी बजाउन महिलाले कति दुःख गरेकी छन् भन्ने कुरा नबुझ्ने? सिठ्ठी नबजाएर लेख्ने वातावरण बनाइदिनु पर्ने? मलाई लाग्छ महिलाले लेख्ने यस्तै कुराको महत्व धेरै छ तर, त्यसलाई हामी गन्थन मन्थन भनेर इग्नोर गरिरहेका छौं।

तपाईंको अर्को पुस्तक ‘आमाले सक्नुहुन्छ’ मा त लैङ्गिक रुपमा पुरुषभन्दा महिला बलियो हुन्छन् भन्ने कुरा देखाउन खोज्नुभएको छ नि?
हो, मैले आमाभन्दा बुबा बलियो भन्ने भ्रम तोड्न खोजेकी हुँ। पुस्तक पढेपछि धेरैले आमालाई फर्किएर हेरेको बताउनुहुन्छ। परिवारमा हरेक आमाको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुन्छ। मैले त्यसैलाई दर्शाउन खोजेकी हुँ। आमाले गर्ने सानातिना कुरालाई एउटा बच्चाले कथाको रुपमा भन्दा त्यो बढी प्रभावकारी हुन्छ भनेर त्यसो गरेकी हुँ। किताबमा परिवारमा बुबा पात्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। मलाई अहिले एउटा छोरी हुर्काउन गाह्रो लाग्छ भने मेरो आमाले कसरी ७ जना छोराछोरी हुर्काउनुभयो होला? सबैले आफ्नो आमालाई सम्झियौँ भने त्यो महसुस हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .