ad ad

म्यागेजिन


वसन्त थापाको संस्मरण– ‘दसैँ–तिहार हिन्दू चाड’ भनेर हामी आत्मसमर्पण गर्दैछौँ

‘उता ड्याम्म तोप पड्किन्थ्यो, यता बाजेले टीका सुरु गर्थे’ (भिडिओ)
वसन्त थापाको संस्मरण– ‘दसैँ–तिहार हिन्दू चाड’ भनेर हामी आत्मसमर्पण गर्दैछौँ

वसन्त थापा भन्छन्– हाम्रो मौलिक दसैँ चोरी भयो (तस्बिर/भिडिओ : सरोज बैजु)


जेवी पुन मगर
कात्तिक ३, २०८० शुक्रबार १७:०, काठमाडौँ

दसैँमा टीका थाप्ने भूमिकाबाट टीका दिने भूमिका निर्वाह गरिरहेका लेखक वसन्त थापा आफ्नो यो यात्रालाई आनन्दभन्दा कर्तव्यबोधको भारी ठान्दछन्। किनकि उनी बाल्यकालको दसैँको जम्जमाहटबाट अझै पनि मुक्त हुन सकिरहेका छैनन् र सायद त्यसो गर्न चाहँदैनन् पनि।

तर ‘टाठाबाठा’ हरूले दसैँलाई आफ्नो बपौती ठान्दै गरिरहेको ‘हिन्दूकरण/भारतीयकरण’ र अर्काेपट्टि गैरहिन्दूले ‘यो चाड हाम्रो होइन’ भन्दै थालेको बहिष्कारको राजनीतिले नेपाली माटोबाट उब्जिएको दसैँ जस्ता मौलिक नेपाली चाडको अस्तित्वमाथि नै समस्या उत्पन्न भएको ठान्दछन् उनी।

थापाले यो दसैँ संस्मरण मार्फत नेपाली समाजको सांस्कृतिक र सामाजिक धरोहरको महत्ता र संवेदनशीलतामाथि सूक्ष्म नजर लगाउने प्रयत्न गरेका छन्।

वसन्त थापाको धनकुटा, धरान र काठमाडौंको दसैँ संस्मरण :

होस सम्हालेदेखि नै मलाई दसैँ के हो भन्ने थाहा छ। दसैँको महत्व थाहा छ। दसैँको बेग्लै महत्व, बेग्लै चाहना, बेग्लै उत्साह केटाकेटीदेखि नै हुन्थ्यो। मेरो प्रारम्भिक बाल्यकाल धनकुटाको साबिकको चुलिवन गाउँपञ्चायतमा पर्ने डाँडागाउँ (अहिले यो धनकुटा नगरपालिकाभित्र पर्छ) मा बित्यो, जहाँ मिठोमसिनो खानलाई दसैँ नै कुर्नुपर्थ्यो। धानको भात र मासुका लागि दसैँ नै आउनुपर्थ्यो। धान नफल्ने कोदो मकै र गेडागुडी मात्र हुने पाखोबारी जहाँ सिँचाइको सुविधा छैन, त्यस्तो गाउँको मान्छेले के खान्छ, तपाईं कल्पना गर्नसक्नुहुन्छ। 

दसैँ भनेपछि धानको भात खान पाइयो। मासु खान पाइयो। कुखुरा खानुहुन्छ कि सुँगुर खानुहुन्छ कि खसीको मासु खानुहुन्छ, रोजीरोजी खान पाइयो। हरेक दिन दुई छाक खानाको जोहो गर्न मुस्किल परिवारमा हुर्किरहेको मजस्ता बच्चालाई मिठोमसिनो खान पाइने आशले दसैँ बडो रमणीय लाग्थ्यो। त्यसैले म दसैँलाई सानैदेखि एउटा रमाईलो अवसरको रुपमा सम्झन्छु।

चारैतिर एक किसिमको उल्लासमय वातावरण भएकोले गाउँको परिवेश नै उमंग बढाउने खालको छ। शरद ऋतुको आगमनसँगै भरखर वर्षा सिद्धिएको छ,पानी थामिएको छ। आकाश खुलेर छयाङ्ग नीलो देखिएको छ। लालुपाते र सयपत्रीहरू फुल्न थालेका छन्। तोरी र फिलिङ्गेका पहेँला फूल फुलिरहेका छन्। मकै बाली भित्रिसकेको छ। हिउँदेबाली मास, भट्मास, मस्याङ र कोदो खडा छ। बारीमा खालखालका बोडी, सिमी र अम्बा लटरम्म झुलेका छन्। सुन्तला भर्खर–भर्खर पहेँलो–पहेँलो हुन थालेका छन्। हाम्रोमा दुईतीन थरीका अम्बा थिए। सुन्तला यति मिठा हुन्थे कि भनिसाध्य छैन। यी सब कारण वातावरण बडो जम्जमाएको, बडो रमाइलो हुन्थ्यो। 

धनकुटाको परिवेश
लिङ्गे पिङ र रोटे पिङ बनाउने चहलपहल चल्थ्यो। लिङ्गे पिङ त साधारण भयो। काठको रोटे पिङ जोसुकैले बनाउन सक्दैनथे। जान्ने लाठेहरूले पिङ ठड्याउन थाल्थे। रोटे पिङ डाँडाको अग्लो ठाउँमा राखिन्थ्यो। लिङ्गे पिङ चाहिँ टारजस्तो ठाउँमा ठड्याइन्थ्यो। फूपूहरू बाबियोको डोरी बाट्नुहुन्थ्यो। लिङ्गे पिङ बनाउन धेरै लठारो चाहिने हुनाले हरेक घरमा त्यसो गरिन्थ्यो। लिङ्गे पिङ बनाउन पनि सामूहिक प्रयास हुन्थ्यो। सामूहिक प्रयासले डोरी बाटिन्थ्यो। बाँस ल्याएर लिङ्गो थापिन्थ्यो। यो सबै गाउँलेको सामूहिक प्रयासबाट हुन्थ्यो। पिङ बनाउन हुने सामूहिक प्रयत्न आफूलाई खुब रमाइलो लाग्थ्यो। रोटे पिङमा चार वटा पिर्का हुन्थे। एकजना बसेर मात्र पनि नहुने, सन्तुलन मिलाउनुपर्ने। एक्लै खेल्न नसकिने कसैले मच्चाउनुपर्ने।

घरमा बाजेले घटस्थापनाको दिनदेखि नै अँध्यारो कुनामा जमरा थापेर नित्य पूजा गर्नुहुन्थ्यो। म पनि पूजामा बाजेसँग पछिपछि जान्थेँ। बाजेले धुप दिँदाखेरी सालधुपको बासना मलाई खुब मन पर्थ्यो। बाजेले अरु अरु पूजा गर्नुहुन्थ्यो, म चाहिँ घरीघरी त्यो सालको धुप जलाइबस्थेँ। बाजेले गाली गर्ने मलाई। 

घटस्थापनाको दिन मार हान्नुपर्ने। मार केको भन्दा घिरौँलाको। घिरौँलालाई चार खुट्टा लगाएर काटिन्थ्यो। कुखुराको भालेको बलि दिन नसकिने रोजै। नौरथाभरि घिरौँला काटिन्थ्यो। प्रतीकात्मक रुपमा बलि दिइन्थ्यो। नवमीको दिन चाहिँ साँच्चिकै मार हुन्थ्यो। त्यसलाई मार नै भनिन्थ्यो। त्यसको अघिल्लो दिन (अष्टमी) चाहिँ काट्ने खाने भोज गरिन्थ्यो। मार हान्दा आँगनमा रेखा कोरेर त्यतिबेला फलेका फलफूलहरू राखेर सक्नेले बोकाको मार हान्थे, नहुनेले कुखुराको भाले काट्थे। 

मार हानेपछि मालसिरी गाइन्थ्यो। त्यसबेला लोग्नेमान्छेहरू एकघरबाट अर्काे घरमा मालसिरी गाउँदै हिँड्थे। हाम्रो गाउँ ठूलो थिएन। आठदस घर मात्र थियो।

अरु स्मरण छैन तर मालसिरीको पहिलो पंक्ति म अझै सम्झन्छु – ‘जय देवी भैरवी गोरखनाथ जी’ भन्थे। एक किसिमको लय हालेर गाइन्थ्यो। एउटा घरमा मार हानेर मालसिरी गाइसकेपछि उपल्लो घर उक्लेर त्यही प्रक्रिया दोहोर्‍‍यान्थ्यो। एवं रीतले मारको दिन सकिन्थ्यो। 

नवमीकै दिन हतियार पूजा हुन्थ्यो। अहिले विश्वकर्मा पूजा भनेर असोज १ गतेलाई व्यापक तवरले मनाइँदैछ, त्यो चाहिँ बाह्य प्रभाव हो। सवारी साधनको प्रयोग बढेकोले गर्दा अहिले विश्वकर्मा पूजामा हतियारको पूजा गर्ने चलन चल्यो। ग्यारेजहरूमा होहल्लासहित पूजा हुन थाल्यो। यो नौलो कुरा हो। यो भारतको त्यहाँमाथि पनि बंगालको प्रभाव झैँ लाग्छ मलाई। यो पछिल्लो प्रभाव हो। नत्र हाम्रो विश्वकर्मा पूजा परम्परागत रुपमा हुने भनेकै नवमीको दिन हो, जुन दिन मार हानिन्छ। त्यसदिन नित्य प्रयोग हुने घरमा जे जे हतियार छन्, कृषि उपकरणहरू छन्, तिनलाई धोइपखाली पूजा गरिन्थ्यो। हाम्रोमा बाजेले सधैँ तरबार निकाल्नुहुन्थ्यो। सायद त्यो बाजेको पनि बाउको होला। त्यो तरबार खाली दसैँमा एकचोटि निस्कन्थ्यो।

डाँडाघरमा सबै घर मगरको थियो। कहिलेदेखि त्यो बस्ती बस्यो, ती कहाँबाट आए, कहिले तिनले जंगल फाँडे– त्यसको इतिहास कसैलाई थाहा छैन। म सोच्छु, कहिलेदेखि यो पाखोमा आएर बसे होलान्? गाउँभन्दा अलिक मास्तिर दुई जना बाहुन परिवार थिए। किन हो थाहा छैन, ती दुवैलाई साइँला बाजे भन्थे। एकजना गुरागाईं साइँला बाजे जो हाम्रा पुरेत पनि थिए, हाम्रो घरमा आएर न्वारन गर्ने, जुठोमा चोख्याउने, सत्यनारायणको पूजा लगाउने कर्मकाण्ड गरिदिन्थे। यी साइँला बाजेभन्दा अलिक मास्तिर घर भएका अर्का साइँला बाजे चाहिँ पोखरेल थरका थिए। मलाई लाग्छ उनी पठित थिएनन्। त्यसैले गुरागाईंले झैँ पुरेत्याईं नगरी अरुले झैँ खेतीपाती गर्दथे।

हाम्रो गाउँभन्दा अलिक पर्तिर आठपहरिया राईहरू थिए, जसलाई हामी सबै जिम्दार भन्थ्यौँ। तर उनीहरू कतिपयले आफूलाई आठपरे त कतिपयले आठपहरिया राई भन्दथे। यो भन्दा अलिक परको दुरीमा अर्काे गाउँ थियो जसको नाउँ थियो– टोड्के। त्यहाँ विश्वकर्माहरूको बस्ती थियो। कृषिलाई चाहिने कुटी, कोदालो, छुरी, चक्कु, कर्दजस्ता यावत कुरा बनाउने र अर्जाप्ने काम त्यही गाउँमा हुन्थ्यो। त्यस्तो थियो हाम्रो गाउँको परिवेश। अलिक तल्तिर सिरुवानी भन्ने बजार थियो। त्यो मूलबाटोमै पर्थ्यो। त्यो हाम्रो गाउँभन्दा एक खुड्किलोमुन्तिर थियो। त्यो धरानबाट हिँड्ने मूलबाटोमा पर्थ्यो। त्यहाँबाट धनकुटा बजार र त्यसभन्दा अलिक मास्तिर हिँडे हिले पुगिन्थ्यो। अझै माथि चढ्दै जाँदा भोजपुर, चैनपुर, तेह्रथुम, ताप्लेजुङ पुग्ने बाटो पनि त्यही थियो। सिरुवानीमा नेवारहरूको बसोबास थियो। उनीहरू भालेको डाकसँगै उठ्थे र चिउरा कुट्दथे। तिनले ढिकी कुटेको आवाज टुकुल टुङ् टुकुल टुङ् गरेको हाम्रो घरसम्मै सुनिन्थ्यो।

दशमीको दिन केही न केही दानदक्षिणा पाइएला भनेर टीका लगाउन सबै केटाकेटीहरू जम्जमाएका हुन्थे। दक्षिणा पाएको पैसा जम्मा गरेर केही किन्न पाइएला भन्ने हुन्थ्यो। त्यसैले आफ्नो घरमा मात्र होइन, नाता पर्नेकोमा पनि टीका लगाउन गइन्थ्यो। पैसाको मुख देख्न गाह्रो हुन्थ्यो। त्यतिबेला पाँच पैसाको ठूलो ढ्याक हुन्थ्यो। त्यो त धेरै हो। त्यतिबेला सबै चीज सस्तो हुन्थ्यो। मिठो खान पाइने र दुई चार पैसा हात पनि पर्ने। त्यो बेग्लै उत्साह हुन्थ्यो। 

साइत हेरेर टीका लगाइन्थ्यो। तर टीकाको साइत कसरी पर्खने? न गाउँमा कसैसँग घडी छ न कसैकहाँ रेडियो छ। म जन्मिएपछि स्थापना भएको रेडियो नेपाल सुन्न हामीसँग रेडियो पनि थिएन। धनकुटामा राणाको समयदेखि नै बडाहाकिम बस्ने चोक थियो। किनकि धनकुटा पूर्वको ठूलो प्रशासकीय गौँडा हो। धनकुटा बजारभन्दा माथि सल्लेरी वनभन्दा पनि माथि बडाहाकिम बस्ने निवास थियो। त्यहाँ तोप पड्कन्थ्यो। हामी टीका, अक्षता, जमरा बोकेर तम्तयार अवस्थामा बस्थ्यौँ। अनि उता ड्याम्म तोप पड्किएपछि साइत भएछ भनेर टीका लगाउन सुरु गर्थ्यौं। त्यो थियो धनकुटाको रमाइलो। 

भिडिओ :

फूलपातीको दिन धनकुटाको टुँडिखेलमा बढाइँ हुन्थ्यो। बडाहाकिम बस्ने ठाउँमै सेनाको गारत पनि थियो। त्यहाँबाट तोपहरू टुँडिखेलमा लगेर पड्काउँथे। म गम्थेँ, त्यत्रा तोप त्यो उकालोमा कसरी तानेर लगे होलान्? पित्तलको पालिस गरेर टल्काएको बडेमानको तोप। पाङ्ग्रा पनि कालो बनाएर लस्करै राखिएको तोप छुस्कीले झोसेर ड्यामड्याम पड्काउँथे। सेनाको टुकडीले पनि फायर गर्दथे। 

त्यसदिन टुँडिखेलमा ठूलो मेला लाग्दथ्यो। मेलामा धनकुटा बजार वरपरका सबै मान्छे जम्मा हुन्थे। हामी बिहानै खानासाना खाइवरी रेडी भएर घरबाट झण्डै एक घण्टा लामो बाटो हिँडेर त्यहाँ पुग्थ्यौँ। त्यो मेलामा पाइने भरखर भरखर निस्केको आगोमा पोलिएको काँचो बदामको स्वाद मलाई यति स्वादिलो लाग्ने कि भनिसाध्य छैन। 

अतिततिर फर्केर हेर्दा खासगरिकन बाल्यअवस्थातर्फ दुःखका बाबजुद, कठिनाइका बाबजुद हुर्कंदै गरेको उमेरमा त्यो आफैँमा एउटा रमाइलो कुरा हुँदोरहेछ। जब म हुर्कंदै थिएँ, सुखको त नामोनिसाना थिएन। जे थियो दुःखैदुःख थियो। जिन्दगी अभावग्रस्त थियो। दुइ छाक खानलाई हम्मे पर्थ्यो। त्यसका बाबजुद म अहिले पनि सम्झन्छु, पछाडितिर फर्केर हेर्छु, तब त्यो बाल्यजीवन साह्रै रमाइलो लाग्छ, दुःख लाग्दैन।

धराने दसैँ
बाजे–बज्यैलाई धनकुटामा छाडेर हामी धरान झर्‍यौँ। धरान आइसकेपछि पनि म चाहिँ प्रत्येक दसैँ नबिराई धरानबाट धनकुटा जान्थे। मेरो दसैँतिहार धनकुटामा बित्नु अनिवार्य थियो। यो प्रक्रिया एसएलसी नदिँदासम्म जारी रहयो। धरानमा मैले दसैँ मनाइनँ भन्दा पनि हुन्छ। एसएलसी गरेर जब मैले कलेजको प्रांगणमा टेकेँ, अनि मैले बिस्तारै धनकुटा बिर्सन थालेँ। बज्यैको माया पनि बिर्सन थालेँ। त्यसपछि म धनकुटा जान छाडेँ भन्दा पनि हुन्छ। कलेज गएँ, बेग्लै माहोल भयो। त्यसपछि म दसैँका लागि धनकुटा गइनँ। नत्र त्यतिञ्जेल दसैँ तिहार भन्ने बित्तिकै मेरो लागि धनकुटा हुन्थ्यो।

धरानको दसैँ बेग्लै खालको हुन्थ्यो। धनकुटा ग्रामीण परिवेशको भयो भने धरान नगरउन्मुख बजार थियो। हाम्रोमा त पूर्णिमासम्म टीका लगाउने चलन छ। धरानमा त्यतिबेला खासै यातायातको सुविधा थिएन, जहाँ गए पनि हिँडेर जानुपर्थ्यो। आफ्नो घरमा टीका लगाएर आफन्तकहाँ टीका थाप्न टाढाटाढा हिँडेर पुग्थ्यौँ। धरानमा बिस्तारै बिस्तारै आधुनिकता भित्रिँदै थियो। त्यसैले दसैँमा नयाँ आयाम थपिँदै थियो। 

ब्रिटिस क्याम्पमा बस्ने केटाकेटीहरूसँग मेरो दोस्ती भएको थियो। धेरैजसो अवसरमा उतै जान्थेँ। त्यहाँ उनीहरूले ठूलो कार्यक्रमको आयोजना गरेर कालरात्री (अष्टमीको राति) भव्य मनाउँदथे। म उनीहरूको साथी भएको नाताले त्यहाँ घुस्थेँ। त्यो आफैँमा रमाइलो कुरा हुन्थ्यो। त्यो अवसरमा उनीहरूले बाहिरबाट सांस्कृतिक टोली ल्याएर कार्यक्रम गर्थे। त्यहाँ तम्बोला (बिङ्गो) खेल हुन्थ्यो। त्यो नौलो खेल थियो। सहरी वातावरण बढिरहेको हुनाले साथीहरूसँग हाहाहुहु गर्दै रमाइलो गरिन्थ्यो। त्यतिबेला लङ्गुरबुर्जा चल्थ्यो। हामी चाहिँ उता झण्डीबुर्जा भन्थ्यौँ। दुईचार पैसा थाप्थ्यौँ, रमाइलो गर्थ्यौं। धरान बजारमा मेला लाग्थ्यो। रोटेपिङ हाल्थे। मेलामा पनि हुन्थ्यो तम्बोला। यो नयाँ आयाम थपिएको थियो दसैँमा। जबकि परम्परागत रुपमा यस्तो प्रचलन कहिल्यै थिएन। 

धरानमा दसैँको बेलामा बुढासुब्बा र दन्तकाली मन्दिरमा ठूलो पूजा हुन्छ। बुढासुब्बामा त पञ्चबलि पनि दिइन्छ। कुखुराको भाले, बोका, सुँगुर, राँगो र परेवा। यता दन्तकालीमा चाहिँ कुखुराको भाले चल्दैनथ्यो। हाँस र बोकाको पूजा हुन्थ्यो। कुखराको भाले त घरमा पनि हुने भयो। बोका हामीसँग हुन्थेन। हामी के गर्थ्यो भने त्यहाँ बोकाको बलि दिने धेरै हुन्थे। बोकाको टाउको किन्न पाइन्थ्यो। त्यसलाई २–३ रुपैयाँ पर्थ्यो। बेच्नको लोभले त्यहाँ मार हान्नेहरूले लामो घिच्रो राखेर काट्थे। दुइटा टाउको ल्याउँदा हामीलाई दसैँभरिलाई मनग्गे पुग्थ्यो। त्यहाँ हाँसको टाउको पनि किन्न पाइन्थ्यो त्यो पनि लामो घिच्रो सहित। त्यो पनि किनेर ल्याउँथ्यौँ। त्यसो गर्दा थरीथरी कुखुरा, हाँस, बोकाको मासु खान पाइयो। सुँगुर त घरमै हुन्थ्यो। धनकुटामा दसैँ सामूहिक रुपमा मनाइन्थ्यो। तर धरानमा त्यस्तो थिएन। धनकुटामा जस्तो मार हानेर घरघरमा मालसिरी गाउँदै हिँड्नेहरू धरानमा खोजेर कहाँ पाउनु! 

काठमाडौंको दसैँ 
धरानपछि काठमाडौं आइयो। यहाँको के कुरा गर्ने! दुईचार वर्षको दसैँमा त टीका नलगाई एक्लै बसेँ। धरान पनि गइनँ। टीका लगाउन जाने आफन्त पनि थिएनन्। पछि मात्र थाहा भयो, ठूलाबडाकहाँ त्यसै पनि टीका लगाउन जान पाइँदोरहेछ। तर कल्लाई ठूलाबडा मान्ने? त्यो पनि समस्या थियो। त्यसैले एकदुई वटा दसैँ खाली निधार बिताएँ। पछि घरजम गरियो। डेरामा बस्ने मान्छेको दसैँ हुन्छ के? काठमाडौंमा नौरथाको बेलामा विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने चलन रहेछ। त्यो हामीले पनि सिक्यौँ। हरेक दिन एउटा शक्तिपीठको दर्शन गरिन्थ्यो। नौरथाभरि मैतिदेवी, कालिकाथान, भगवतीबहाल, शोभाभगवती, भद्रकाली, नरदेवीजस्ता शक्तिपीठको चक्कर लगाइन्थ्यो। परिवारको लागि भए पनि शक्तिपीठको चक्कर लगाउन सिकियो। 

काठमाडौंको दसैँ टीका थाप्नेबाट टीका दिने भूमिकामा परिवर्तन भयो। यसरी हेर्दा यो कर्तव्यवोध जस्तो हुँदोरहेछ, घरमूलीको रुपमा मैले गरेको कर्तव्यपालनजस्तो। जुन भूमिका मभन्दा अगाडि मेरो बुबाले गरे होलान्, मेरो बाजेले गरे होलान्, त्यही भूमिका अहिले म पूरा गर्दैछु। परिवारिक भेटघाट र पुनर्मिलनको समय हो दसैँ। परदेश जानेहरू, टाढाटाढाको मान्छेहरू दसैँको बहानाले फर्कन्छन्। यहीँ बसिरहे पनि भेट नभएका नातागोता आफन्तहरूबीच दसैँको निहुँमा भेट हुन्छ। पारिवारिक सम्बन्धलाई गाँसेर मजबुत बनाउने एउटा अवसर पनि हो। म यो चाडलाई त्यही रुपमा लिन्छु। तर जतिखेर म टीका थाप्ने भूमिकामा थिएँ, त्यो मलाई रमाइलो लाग्थ्यो। टीका दिनेभन्दा टीका थाप्ने भूमिका मलाई रमाइलो लाग्छ।

सानोमा टीकाको दिन अलिकता भुइँ छाड्नुपर्छ रे भन्ने सुनेको हो। पिङ खेलेकोलाई भुइँ छाडेको भनिन्छ। त्यही भएर पिङ खेलिन्थ्यो। तर काठमाडौंमा लिङ्गे पिङ नै देखिँदैनथ्यो। कहीँ घुम्न जाने कुरा पनि भएन। त्यसैले घरमै सामान्य खानपिनले व्यतीत हुन्थ्यो दसैँ। काठमाडौंमा नातागोता एकदम कम भएको मान्छे परेँ। उताको तुलनामा त यहाँ कता हो कताको परिवर्तन। यसबारेमा मैले कतै लेखेको पनि छु। धनकुटामा दसैँ नामक मोटो किताबको साइज धरान झर्दा अलिक घटेको थियो भने धरान हुँदै काठमाडौंसम्म आइपुग्दा त्यो पकेटबुक साइजमा साँघुरियो।  

काठमाडौंमा पनि धनकुटाको झैँ टुँडिखेलमा बढाइँ हुन्थ्यो। हामी यहाँ पनि त्यो हेर्न जान्थ्यौँ। आर्मीले तोप पड्काउँथे। त्यो रमाइलो लाग्थ्यो। केटाकेटी लिएर जान्थ्यौँ। यस्तो बढाइँ जहाँसुकै हुँदैन। राणाकालमा जहाँजहाँ गौँडा थियो, सायद त्यहाँत्यहाँ हुन्थ्यो कि? बढाइँ धरान, विराटनगरमा हुन्थेन। पूर्वमा बढाइँ धनकुटाको पेवा जस्तै थियो। कि त काठमाडौंमा हुन्थ्यो। पश्चिमको चाहिँ थाहा भएन। सायद पाल्पा डोटीतीर हुन्थ्यो कि! 

दसैँका मौलिक तीन आयाम
दसैँका विभिन्न आयाम छन्– सांस्कृतिक आयाम, सामाजिक आयाम र धार्मिक आयाम। मैले आफूलाई नास्तिक भनेर त तोकेको छैन तर म वैचारिक रुपले अलिक अधार्मिक भएको हुनाले र धर्मको कर्मकाण्डमा कहिल्यै विश्वास नगर्ने हुनाले दसैँमा हुने सबै कर्मकाण्ड म पछ्याउँदिनँ। मेरो हुर्काइ नै त्यसरी भयो। 

त्यसको मतलब म आफ्नो विचार र मान्यता परिवारउपर थोपर्छु, त्यसो पनि होइन। जस्तैः मेरो श्रीमती नौरथामा शक्तिकेन्द्रमा जान चाहिन्छन् भने मैले हैट् यो त हुँदैन भन्दिनँ। म साथमा गइदिन्छु। म अलिक सम्झौतापरस्त छु। मध्यमार्ग रोज्छु।

यस्तो सोचाइका कारण कतिपय कर्मकाण्डमा सहभागी पनि हुन्छु। म अलग भएर बस्न भएन। जस्तैः मेरो छोरा र छोरीको बिहे जग्गे बसालेर बाहुनलाई मन्त्रपाठ गराएर सम्पन्न गरेँ। कर्मकाण्डप्रति भित्र मलाई विश्वास नभए पनि मैले पिताको भूमिका निर्वाह गरेँ। त्यो एउटा परम्परा सम्पादन गरिएको पनि हो।

तर जमरा राख्ने पूजा गर्ने काम चाहिँ म गर्दिनँ। व्रत पनि बसिएन। असलमा भन्ने हो भने त्यसमा विश्वास पनि छैन। दसैँ हाम्रो सांस्कृतिक चाड हो। सामाजिक चाड हो। एकथरीले यसलाई हिन्दूहरूको एक मात्र महान पर्व भन्छन्। सुनेर म हाँस्छु। अलिकति दिक्क पनि लाग्छ। दसैँलाई हिन्दू आवरण दिइएको पछि मात्र हो। जसरी दसैँको प्रभाव सर्वत्र बढ्यो, खासगरी पहाडी क्षेत्रमा त्यो हुनाको कारण यो नेपालको सैनिक परम्परासँग सोझै गाँसिएकोले हो। 

कसैले राज्य एकीकरण भन्छन्, कसैले गोरखा राज्य बिस्तार भन्छन्। दसैँ त्योसँग गाँसिएको छ। मैले अघि नै भनेँ, मेरो बाजे सैनिक पृष्ठभूमिको नभए पनि वहाँले दसैँमा जहिल्यै तरबार निकालेर पूजा गर्नुहुन्थ्यो। मगर त पश्चिमबाट सर्दैसर्दै पूर्व गएर पाखापखेरामा बसेका न हुन्। सायद मेरा पूर्वज पनि सैन्य सेवामा थिए। हिजो सिपाहीहरूले लडेबापत ठाउँठाउँमा जग्गा पाए, बिर्ताको रुपमा। त्यतिबेला पैसा हुन्थेन जिन्सीको रुपमा जग्गा दिइन्थ्यो– ओहोदा अनुसार कसैलाई धेरै कसैलाई थोरै। त्यसैले सैन्य पृष्ठभूमिका परिवारहरू देशभरि फैलिन पुगे। हामी पनि धनकुटामा त्यसरी नै आइपुग्यौँ होला। 

तपाईं मालसिरीमा देवी भाकेर गोरखनाथ भाकेर मार दिनुहुन्छ। ठाउँठाउँमा रहेको कोतमा पूजा गरिन्छ। त्यो कोत भनेको के हो? त्यो भनेको किल्ला हो। दसैँ त्यसरी सुरु भएको हो। हिन्दू आवरण चाहिँ पछि आयो। कसैलाई केही न केही परिभाषा चाहिन्छ, पृष्ठभूमि चाहिन्छ। त्यही चाहबमोजिम यसलाई यो त हिन्दू चाड हो भनेर परिभाषित गरियो। यदि यो चाड आम हिन्दू हुन्थ्यो भने जसरी धनकुटा, धरान, काठमाडौं, डोटी, डडेलधुरा, रोल्पा, रुकुममा दसैँ मनाइन्छ, त्यस्तैथगरी भारतमा पनि मनाइनु पर्ने हो। मनाइँदैन।

चाहे त्यो बंगाल, महाराष्ट्र, बैङ्लोर, गुजरात होस् या दक्षिण भारतमा नै किन नहोस्, हाम्रोमा जसरी मनाइँदैन। त्यहाँ कहाँ छ दसैँमा लिङ्गे पिङ स्थापना गर्नुपर्छ भन्ने कुरा? जमरा कहाँ छ? टीका कहाँ छ? ल मलाई बताउनोस्। मैले घिरौँलाको कुरा गरेँ। हामी कुभिण्डोलाई पनि मार हान्छौँ। मलाई बताउनोस्, यस्तो प्रचलन भारतको अहमदाबादमा छ कि नागपुरमा छ? यो नेपालीपन नेपालमा मात्र पाइन्छ। हाम्रोमा दसैँ सैन्य परम्पराबाट सुरु भयो। शक्तिको पूजा हो दसैँ। देवीको पूजा हो। पछि देवी भनेपछि नवदुर्गा भनियो। यो धेरै पछि गरिएको परिभाषा हो। यसरी आफूअनुकूल व्याख्या गर्ने प्रचलन अद्यापि छन्। 

हाम्रो गाउँमा देवीथान थियो। अहिले पनि छ। म त्यहीँ जन्मेँ, हुर्किए। त्यो देवी थानको नाम नै थिएन। त्यहाँ देवीको मूर्ति, प्रतिमा केही छैन। हातमा त्रिशुल भएको देवी थिइनन्। त्यहाँ शिलाखण्ड मात्र छ। त्यसैलाई अक्षता दिएर पूजा गरिन्थ्यो। घण्टा र त्रिशुल राखेर लाल पताका र ध्वजा राखेर पूजा गरी त्यसैमा मार हानिन्थ्यो। केही दुःख परे त्यही देवीलाई भाकल गरिन्थ्यो। त्यहाँ आले मगरको कन्या केटामात्र पूजारी हुने चलन थियो। त्यहाँ नित्य पूजा चाहिँ नहुने। औँसी र पूर्णेमा मात्र हुने। दसैँमा भने विशेष पूजा हुन्थ्यो। त्यो सँगै अर्काे महत्वपूर्ण पूजा फागु पूर्णेमा हुन्थ्यो। मेला नै लाग्थ्यो। 

त्यो चलन कहिलेदेखि चल्यो थाहा छैन। तर पछिल्लोचोटि त्यसलाई बछलादेवी भन्न थालेछन्। त्यहाँ दुइटा चट्टान छन्। अर्काेलाई गैँया देवी भन्न थालेछन्। पछि मात्र भयो नामकरण। नत्र पहिला त त्यो देवीथान मात्र थियो। दसैँमा महिषासुरलाई मारिरहेकी देवी त पछि मात्र छिर्यो हाम्रो समाजमा। यो आकृति आयातीत हो। हाम्रो मान्छे प्रकृतिपुजक थिए। पेसा, समय र परिस्थितिले गर्दा तिनले सैनिक परम्परा अपनाए। हरेक बलियोबाङ्गो सेनामा जान्थे। सैनिक परम्परा भएकोले शक्तिपुजक भइयो। नेपालमा जुन किसिमको दसैँ मनाइन्छ, जुन किसिमले फैलियोे, आफैँमा त्यसको बलियो प्रमाण हो। तर जसको धर्म दर्शन विकसित छ, तिनले ‘यो भनेको शक्तिदायिनी दुर्गा माता हो’ भनी व्याख्या गरिदिए। 

म के भन्छु भने यदि हिन्दूस्तान अर्थात आजको भारत हिन्दू धर्म, परम्परा र संस्कृतिको उद्गमस्थल हो भने त्यहाँ र यहाँ मनाइने चाड किन उस्तै नभएको? बंगालमा दसैँ धुमधामले मनाइन्छ तर दुर्गा पूजा भनेर मनाइन्छ। सहस्रबाहु भएको दुर्गाले महिषासुर वध गरेको मूर्ति सहितको पण्डालहरू बनाएर पूजा गरिन्छ। जमरा राख्दैनन्, टीका लगाउँदैनन्। 

त्यसैगरी दिल्ली, हरियाणा र पन्जाबतिर जानोस्, त्यहाँ दसैँको व्याख्या नै फरक छ। त्यता मनाइने दसैँ दुर्गासँग सम्बन्धित छैन। रावण वधसँग सम्बन्धित छ। रामले लंका विजय गरेको प्रसंगसँग सम्बन्धित छ। त्यसैले दिल्लीको रामलीला नामक ठूलो मैदान जहाँ दशमीको दिन दश टाउके रावणको भव्य पुत्ला बनाई त्यसको दहन गरिन्छ। जान्ने बुझ्नेहरूले आफूअनुकूल बनाउन दसैँलाई हिन्दू आवरण दिएका हुन्।

त्यही भएर बहुदल आउनासाथ जनजातिबाट दसैँ बहिष्कारको नारा पनि आयो। मैले त्यसबेला भनेको थिएँ– ‘तिमीहरूले दसैँजस्ता चाडबाडलाई किन अचानो बनाउँदैछौ? बरु यसलाई तिमी आफ्नो तरिकाले व्याख्या गर न। अर्काको व्याख्यामा तिमीले किन विश्वास गर्ने? आफनै ढंगले व्याख्या गर न।’ मेरो भनाइ अहिले पनि के हो भने अरुको व्याख्यामा हामीले विश्वास गर्नु भएन। अरुले दसैँ हिन्दूको भन्दियो भन्दैमा डराएर ‘हामी हिन्दू होइनौँ है’ भन्दै आफ्नै चाड दसैँ बहिष्कार गरिदिनु भएन। तिम्रो आचार व्यवहार बेग्लै छ। त्यो त्यसै देखिएको छ। फरकपना पनि प्रष्ट देखिन्छ। त्यो फरकपना र भिन्नता नै तिम्रो आफ्नो पहिचान हो भन्ने कुरा किन नबुझेको?

माघे र साउने संक्रान्तिकै कुरा गरौँ न। यी दुवै कृषकका चाड हुन्। मौसम बदलिने बेलाका चाड हुन। यो पनि हाम्रो मौलिक चाड हो। अहमदाबाद, कोलकाता या नागपुर या पटनामा माघे संक्रान्तिमा तरुल र चाकु खान्छन्? मस्यौरा खान्छन्? त्यो कहाँ जोडियो बताउनोस् त। यो हाम्रोपन हो। पात्रो उही, तिथिमिति एउटै हो तर जब हामीले यी चाडलाई ग्रहण गर्छौं, त्यहाँ तपाईंले आफ्नो मौलिक छाप छाडनुहुन्छ। तिहार पनि त्यही हो। यसलाई नितान्त सांस्कृतिक र सामाजिक चाडपर्वको रुपमा हेनुपर्दछ। हिन्दू मात्रको पवित्र चाड दसैँ–तिहार भनिन्छ। के तपाईंले नेपालीको चाड भन्न सक्नहुन्न? यो हाम्रो साँस्कृतिक जीवनको हिस्सा हो। 

देशविदेशमा कतिथरीका मान्छे गएर काम गरेका छन्, त्यहाँ पहाडका पनि छन्, मधेशका पनि छन् हिमाली भेगका मान्छे पनि छन्। विदेशमा इस्लामका पनि छन् तर तिनका कथा सुन्छु, पढ्छु– ‘यसपालि दसैँमा घर जाने’ भन्छन् उनीहरू। तपाईं दसैँ मनाउनोस् या नमनाउनोस्, तपाईं कुन समुदायबाट आउनुभएको छ, मतलब छैन। यसपालि त दसैँमा घर जाने हो भन्छन्। दसैँ हाम्रो क्यालेन्डरको महत्वपूर्ण तिथि जस्तो भइसकेको छ। जब यस्ता साँस्कृतिक कुराहरूलाई तपाईंले धार्मिक रंगरोगनले पोत्न खोज्नुहुन्छ, धार्मिक आवरण दिनुहुन्छ, त्यसले समस्या निम्त्याउँछ। 

मलाई लाग्छ, नेपालका सबै चाडबाडभित्र विशिष्ट नेपालीपन छ। यदि दसैँजस्ता हाम्रा चाड ‘हिन्दू’ हुन्थे भने अखिल भारतमा सबैले एकै किसिमले मनाउनुपर्थ्यो तर त्यसो गरिँदैन। तिहारमा देउसी भैलो भारतको कुन ठाउँमा खेलिन्छ? यदि हिन्दूधर्मको मुटु हो भने तिहार त्यहाँ किन नखेलिएको? हामी त्यसै आएको होइन बलिराजाले हुकुम भएको भन्दै भैलो भट्याइन्छ। को हो बलिराजा भनेको? यसको पछाडि हाम्रो के साँस्कृतिक पृष्ठभूमि लुकेको छ? यो त मननीय छ नि! 

तर यहाँ देखासिकीमा हिन्दूकरण भन्ने कि भारतीयकरण भन्ने, चाडको पृष्ठभूमि र नेपाली समाजको विशेषता छोपेर आयातीत परिभाषा गरिँदोछ। दसैँलाई दुर्गापूजा र दसहरा भन्न थालिएको छ। तिहारलाई दीवाली भन्ने गरेको देख्दछु। फागुलाई होली भनेको सुनिन्छ। जनैपूर्णेलाई राखी भन्न थालियो। यो त हाम्रोमा थिएन। यस्तो आयातीत परिभाषाले हाम्रो आफ्नोपन बिटुलिँदो छ। आफ्नो स्वत्व, आफ्नो मौलिकपना मर्दाेछ। हामी आत्मसमर्पण गर्दैछौँ। त्यो चाहिँ खासमा चिन्ताको विषय हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .