ad ad

म्यागेजिन


ती चित्तरञ्जनको कथा, जसका हातले नेपाल–चीन सीमा सम्झौता लेखे, पहिलो मदन पुरस्कार जिते

ती चित्तरञ्जनको कथा, जसका हातले नेपाल–चीन सीमा सम्झौता लेखे, पहिलो मदन पुरस्कार जिते

चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) को गोप्य भूमिका खम्पा निशस्त्रीकरणमा महत्वपूर्ण थियो


सीताराम बराल
कात्तिक १६, २०८० बिहिबार १९:१६, काठमाडौँ

प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा थिए। दुई मुलुकबीच वैज्ञानिक सीमाङ्कनका लागि ८ चैत्र २०१६ मा राजधानी पेकिङ (बेइजिङ) मा नेपाल–चीन सीमा सम्झौता हुने भयो। 

यसका लागि नेपाली, चिनियाँ र अंग्रेजी गरी तीन भाषामा ‘नेपाल–चीन सिमाना सम्झौता’ तयार पार्नुपर्ने भयो।  

चिनियाँ र अंग्रेजी भाषाको सम्झौता पत्रका लागि टाइपराइटर बेइजिङमा थिए। त्यसैले, यी दुई भाषाका लागि समस्या परेन। समस्या पर्‍यो– नेपाली भाषाको सम्झौता पत्र तयारीका लागि। किनकि, नेपाली प्रतिनिधि मण्डल टाइपराइटर बोकेर बेइजिङ गएको थिएन। त्यहाँ नेपाली राजदूतावास पनि स्थापना भइसकेको थिएन। 

तर अड्को सजिलै फुक्यो। नेपाली सहित तीनै भाषामा तयार पारिएका सम्झौताका प्रतिहरूमा नेपालका प्रधानमन्त्री बीपी कोइराला र उनका चिनियाँ समकक्षी चाउ एनलाइले हस्ताक्षर गरे। 

नेपाल–चीनबीच सीमा सम्झौता पत्र हेर्‍यौँ भने नेपाली भाषाको सम्झौता हातले लेखिएको भेटिन्छ। हातले लेखेर के भो त! टाइप गरिएभन्दा सुन्दर अक्षर छन्। सम्झौता पत्र पाँच पेज लामो छ, तर एक ठाउँमा पनि केरमेट छैन। 

सम्झौता पत्रमा प्रयोग भएका नेपाली अक्षर नारायणप्रसाद राजभण्डारीले लेखेका थिए। उनी नेपाल–चीन सीमा कमिटीका सदस्य–सचिव थिए। 

राजभण्डारी तिनै व्यक्ति थिए– जसले विसं २०१३ मा स्थापित मदन पुरस्कार पहिलो पटक प्राप्त गरे। ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ लाई प्रदान गरिएको पहिलो मदन पुरस्कारका लेखक ‘चित्तरञ्जन नेपाली’ नै नेपाल–चीन सम्झौता पत्रका लेखनकर्ता नारायणप्रसाद राजभण्डारी थिए।   

तर, चित्तरञ्जन नेपाली अब हामी सामु छैनन्। ९२ वर्षको उमेरमा २९ असोज (२०८०) मा उनको निधन भएको छ। 

ती चित्तरञ्जन 
‘भीमसेन थापा र तत्कालीन नेपाल’ बाहेक चित्तरञ्जनका ‘रणबहादुर शाह : व्यक्तित्व र शासनकाल’, ‘पारिवारिक षड्यन्त्रका कथा’, ‘जंगबहादुुरको कथा’, ‘राणाशाहीको रोलव्यवस्था र धर्मपत्रहरू’, ‘नेपाल–चीन सिमाना सन्धि’ लगायत पुस्तक पनि प्रकाशित छन्। 

चित्तरञ्जन नेपाली उनको साहित्यिक नाम थियो। तर, साहित्यका अन्य विधाभन्दा ऐतिहासिक निबन्ध लेखनमा उनको अभिरुचि रह्यो। यसैले उनलाई चित्तरञ्जन नेपालीको परिचय पनि दिलायो।  

 लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरूसँग चित्तरञ्जन नेपाली (सबैभन्दा अगाडिको लहरमा बायाँतर्फ पहिलो)। सौजन्य : स्व. चित्तरञ्जन नेपाली

तिनै चित्तरञ्जनसँग मेरो पहिलो परिचय अप्रत्यक्ष रुपमा कक्षा एकको विद्यार्थी छँदा भयो। अप्रत्यक्ष भेटमार्फत् उनी मेरा लागि इतिहासको पहिलो शिक्षक बन्न पुगे।  

मेरा पिताजी इतिहासको विद्यार्थी हुनुहुन्थ्यो। स्नातक तह अध्ययनका क्रममा उहाँले नेपाल र विश्वको इतिहास सम्बन्धी पुस्तक संकलन गर्नुभएको थियो।  

जब म अक्षर चिन्न सक्ने भएँ, घरमा रहेका बुबाका पुस्तकहरू मेरा पठन सामग्री बने। तीमध्ये मेरो ध्यान सबैभन्दा बढी आकर्षित दुई पुस्तकले गरे। 

तीमध्ये एक बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रुपरेखा’ थियो। यो बाक्लो गातावाल ठूलो आकारको पुस्तक थियो। दोस्रो पुस्तक अलिक सानो र पातलो गाताको थियो। पुस्तकको सुरक्षाका लागि पिताजीले ‘सोभियत भूमि’ पत्रिकाको गाता थप्नु भएको थियो। 

यो दोस्रो पुस्तक चित्तरञ्जन नेपालीले पहिलो मदन पुरस्कार जितेको त्यही ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ थियो।  

एसएलसीपछि २०५० मा पत्रकारिता अध्ययनका लागि जब म काठमाडौँ आएँ, पत्रकारिताका गुरु लालदेउसा राईले ‘समाचारको सुरुवात कसरी गर्ने’ भन्ने सीप सिकाउँदै गर्दा मेरो दिमागमा झट्ट चित्तरञ्जन नेपाली र ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ आइपुगे।  

लालदेउसा सरले भन्नुभएको थियो, ‘समाचार सामग्रीको इन्ट्रो (सुरुवात अंश) यस्तो आकर्षक र शक्तिशाली हुनुपर्छ कि तिमीहरूले लेखेको समाचारले पाठकलाई सुरुमै आकर्षित गरोस्।’ 

लेखनलाई आकर्षक बनाउने यो सूत्र इतिहास विधामा पनि उत्तिकै उपयोगी छ। तर, नेपाली इतिहासका लेखकहरूले यो पक्षमा ध्यान दिएका छैनन्। तिनको लेखनी सुरुवात र सम्पूर्ण प्रस्तुति त्यति आकर्षक हुँदैनन्।  

तर, ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ को सुरुवात भने लालदेउसा सरले भनेजस्तै आकर्षक थियो। 

हेरौँ– त्यसको सुरुवात कति स्वादिलो थियो!   

ईश्वी संवत् उन्नाइसौँ शताब्दीको सुरुवातमा नेपालको राजनैतिक अस्थिरताबाट एक यस्तो व्यक्तिको प्रादुर्भाव भयो, जसको प्रारम्भिक जिन्दगीको विषयमा ज्यादै कमलाई थाहा छ, अनि जसले एकतीस वर्षको लामो अविच्छिन्न अवधिमा नेपालको राजनैतिक आकाशमा चम्केर आफ्नो बुद्धि, बर्कत, राजनैतिक कुशलता एवं इमान्दारीबाट त्यसबखत सारा संसारमै आफ्नो साम्राज्यको किल्ला गाड्नका निम्ति कैयौँ राष्ट्रहरूलाई निल्दै अगाडि बढेको अंग्रेजी शक्तिबाट नेपाललाई केवल जोगाएका मात्र थिएनन् कि त्यस साम्राज्यवादी विदेशी शक्तिको विरोधमा एक भै लड्नका निम्ति भारतका सारा राज्यहरू, एवं चीन, बर्मा, पर्सिया आदि एसियाई राष्ट्रहरूलाई आव्हानसमेत गरी संसारमा सबैभन्दा पहिले एसियाई एकताका निम्ति आवाज उठाएका थिए, तथा चीन साम्राज्यको प्रकाण्ड प्रकोपबाट पनि गुम्न नसकेको नेपालको स्वतन्त्रता एवं अस्तित्वमा कुनै किसिमको धब्बा आउन दिएका थिएनन्, जसले बिलबर फोर्सको साथै दासत्वप्रथाको विरोध गरी मानवताको इज्जत गरेका थिए, तथा शासन व्यवस्थामा पनि अनेक वैज्ञानिक सुधारहरू गरी राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराएथे। अनि जसको अन्त पनि यति आकस्मिक तथा नाटकीय ढंगबाट भयो कि त्यो एसियाको इतिहासले प्रस्तुत गरेको (सबभन्दा) दुखद अवसान थियो। 

ती हुन्, जनरल भीमसेन थापा। 

यिनै जनरल भीमसेन थापा कहाँ, कहिले कुन ठाउँमा, जन्मे कुन वातावरणमा हुर्के भन्ने, अर्थात् उनको प्रारम्भिक जीवन कसरी बित्यो भन्ने विषयमा यहाँ कलम कोरिन लागेको छैन। यसकारण कि, मेरा भीमसेन थापा मुख्तियार भीमसेन थापा हुन्, देश निर्माता हुन्, न कि सिंगाने बालक! 

यस्तो आकर्षक सुरुवात र भीमसेन थापाबारेका रोचक–मार्मिक घटनाक्रमले म फुच्चेलाई त्यो पुस्तक पुरै छिचोल्न आकर्षित गर्यो। ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पढिसकेपछि ‘नेपालको ऐतिहासिक रुपरेखा’ पनि पढ्न म उद्यत भएँ।  

यदि ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ ले सुरुमै मलाई आकर्षित नगरेको भए इतिहासप्रति रुचि र किताब पढ्ने बानीको विकास पनि हुन्नथ्यो कि जस्तो लाग्छ।  

चित्तरञ्जन नेपाली यसरी मेरो जीवनमा इतिहास ज्ञान र शैक्षिक उन्नयनका कारक बने। त्यसैले गुरु लालदेउसा राईले पत्रकारिता पढाइको सुरुवात गर्दै गर्दा समाचारको सुरुवात कस्तो (आकर्षक) हुनुपर्छ भन्ने कुरा मेरो दिमागमा सजिलै घुसिहाल्यो। 

मेरो पढाइमा ‘टर्निङ प्वाइन्ट’ ल्याइदिने ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ लाई मैले अहिलेसम्म सुरक्षित राख्न सकेको छु। चित्तरञ्जन अब यो संसारमा छैनन्, न त मेरा पिताजी नै।

यो पुस्तकलाई उहाँहरू दुवैको चिनो मानेर ‘सोभियत भूमि’ पत्रिकाको गातामाथि प्लास्टिकको गाता थपेको छु, ताकि पुस्तक नच्यातियोस् र नमैलियोस्। च्यातियो र मैलियो भने उहाँहरूप्रतिको सम्झना र सम्मान पनि कमजोर र धुमिल हुँदै जान्छ कि भन्ने लाग्छ। 

जनरल भीमसेन थापा र तत्कालीन नेपाल, जसले चित्तरञ्जन नेपाललाई पहिलो मदन पुरस्कार दिलायो 

‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ जत्तिकै महत्वपूर्ण अर्काे कृति ‘नेपाल चीन सीमा सन्धि’ हो। विसं २०२१ मा ट्याब्लोइड पत्रिकाको साइजमा प्रकाशित यो पुस्तकले नेपाल–चीनबीच सीमा सन्धि कसरी भयो, सीमा सन्धि हुनुअघि सीमा विवादको पृष्ठभूमि कस्तो थियो भन्ने कुराको सुन्दर र व्यवस्थित वर्णन गरेको छ।   

चित्तरञ्जन नेपाली नेपालको तिब्बत–चीन सम्बन्धका पुस्तैनी जानकार थिए। नेपालको परराष्ट्र मामिलाको इतिहासका जानकार पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईका अनुसार चित्तरञ्जनका पिताजी सरदार मेदिनीप्रसाद, हजुरबुबा सुब्बा जुजुमान राजभण्डारी र हजुरबुबाका बुबा खरदार शिवप्रसाद राजभण्डारी अहिलेको परराष्ट्र मन्त्रालयको पूर्वरुप मुन्सीखानामा कार्यरत थिए। ‘भोट फाँट’ का रुपले चिनिने मुन्सीखानालाई ‘जैसीकोठा’ पनि भनिन्थ्यो।  

कुनै बेला तिब्बतसँगको सम्बन्ध नेपालको परराष्ट्र सम्बन्धको सबैभन्दा महत्वपूर्ण पक्ष थियो। उनले सानैदेखि भोट–तिब्बतसँगको सम्बन्धबारे पूर्वजहरूबाट सुन्दै आए। त्यसैले, पढेर भन्दा पनि पारिवारिक विरासतका कारण उनी तिब्बत–चीन मामिलाका गहन जानकार थिए। 

नेपाल–चीन सीमा कमिटीमा उनले सदस्य–सचिवको जिम्मेवारी पाउनुको एउटा कारण तिब्बत मामिलामा उनको गहिरो जानकारी पनि पनि थियो। नेपाल–तिब्बत सम्बन्धका जानकार उनका पिताजी सरदार मेदिनीप्रसाद राजभण्डारी सीमा कमिटीको सल्लाहकार थिए।

तिब्बत मामिलाबारे गहन जानकारीका कारण राज्यले बाबु–छोरा दुवैलाई सीमा कमिटीको जिम्मेवारी दिएको थियो। 

प्रशासनिक काम र भाषामा पनि उत्तिकै पोख्त भएकाले सीमा कमिटीका अध्यक्ष जनरल पदमबहादुर खत्रीले चित्तरञ्जनलाई सदस्य–सचिवको जिम्मेवारीका लागि सरकारसमक्ष प्रस्ताव गरेका थिए।

‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ ले पहिलो मदन पुरस्कार जितेपछि उनको वास्तविक नाम (नारायणप्रसाद राजभण्डारी) विलुप्तजस्तै हुनपुग्यो। सबैले उनलाई चित्तरञ्जन नेपालीका रुपमा चिन्दै आए।

२०१७ को पूर्वाद्र्धमा सीमा कमिटीको गठन हुँदा अध्यक्ष जनरल खत्रीलाई समेत ‘चित्तरञ्जन’ उनको वास्तविक नाम हो भन्ने लागेको थियो। सायद उनले ‘नेपाली’ लाई मात्र चित्तरञ्जनको उपनाम ठानेका थिए।

तर सरकारले चित्तरञ्जनको साटो नारायणप्रसाद राजभण्डारीलाई सदस्य–सचिव बनाउने निर्णय गर्यो। जनरल खत्री खिन्न भए।  

‘सदस्य सचिव पदको निमित्त तत्कालीन परराष्ट्र मन्त्रालयका सेक्सन अफिसर, मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीलाई सिफारिस गरियो, सरकारले नारायणप्रसाद राजभण्डारीलाई सो काममा नियुक्त गर्दा मलाई केही क्षण निराश हुनुपर्‍यो,’ नेपालीको दोस्रो महत्वपूर्ण कृति ‘नेपाल–चीन सीमा सन्धि’ को भूमिकामा जनरल खत्रीले (२०२१ मा पुस्तक प्रकाशित हुँदा जनरल खत्री परराष्ट्रसचिव थिए) ले लेखेका छन्, ‘वास्तवमा यो नाम र उपनामको अलमल मात्र थियो।’

सदस्य–सचिव छँदा उनलाई बीपी र चाउ एनलाइको हस्ताक्षर भएको नेपाल–चीन सीमा सम्झौता जस्तो ऐतिहासिक दस्तावेज आफ्नै हातले लेख्ने अवसर जुर्‍यो।

नेपाल–चीन सीमा सम्झौतामा हस्ताक्षर, ८ चैत्र २०१६।सौजन्य : प्रदीपमणि आचार्य दीक्षित 

लेखनको पृथक शैली 
राणा शासन अन्त्य भएको ६ वर्षपछि ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ प्रकाशित भएको थियो। नेपालको इतिहासबारे नेपालीले नै लेखेको यो तेस्रो पुस्तक थियो। 

त्यसअघि बालचन्द्र शर्माको ‘नेपालको ऐतिहासिक रुपरेखा’ र काशीप्रसाद श्रीवास्तवको नेपाल की कहानी (हिन्दी) प्रकाशित थिए। 

विसं १९८९ मा प्रकाशित अम्बिकाप्रसाद शर्मा (नेपाली मूलका भारतीय) को ‘नेपालको इतिहास’ बाहेक जे जेति पुस्तक थिए, नेपाली इतिहासबारे लेखिएका ती सबै पुस्तकका लेखक विदेशी थिए। 

विदेशी लेखकहरूले लेखेका कारण ती पुस्तकमा नेपाली दृष्टिकोणको अभाव थियो।  

इतिहास लेखनमा दुई शैली प्रचलित छन्। यसमध्ये ‘भर्टिकल ट्रेन्ड’ ले सुरुवातदेखि अन्त्यसम्मको विवरणलाई प्राथमिकता दिन्छ। यस्तो शैलीमा मुख्य शासक राजा–महाराजा र तिनका सन्तान–दरसन्तानका विवरण समेटिएका हुन्छन्। 

‘होरिजेन्टल ट्रेन्ड’ ले अलिक फराकिलो शैली अपनाउँछ। यसले ‘सुरुवातदेखि अन्त्य’ र मुख्य शासकहरूको साटो इतिहास निर्माणमा भूमिका खेलेका अन्य पात्र र विषयवस्तुलाई लेखनको विषयवस्तु बनाउँछ। 

नेपाली इतिहासबारे लेखिएको तेस्रो पुस्तक (राणा शासनको अन्त्यपछि) भए पनि इतिहास लेखनको ‘होरिजेन्टल ट्रेन्ड’ समातेको पहिलो पुस्तक चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नै हो। अघिल्ला दुई पुस्तक ‘भर्टिकल ट्रेन्ड’ का थिए। 

जतिबेला चित्तरञ्जनले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ लेखे, त्यो बेला राजा महेन्द्रलाई महिमामण्डन गरेर लेख्ने प्रचलन थियो। किनकि सत्तामा उनै थिए। 

चित्तरञ्जन भने इतिहास लेखनको विषयवस्तु यस्तो पात्रलाई बनाए, जो एक साधारण परिवारमा जन्मेको थियो र माथि उठ्दै–उठ्दै मुख्तियार (प्रधानमन्त्री) बनेको थियो। 

‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ ले प्रस्तुत गरेको दृष्टिकोण अझ महत्वपूर्ण थियो। 

नेपाल–अंग्रेज युद्ध र सुगौली सन्धिबाट नेपालले ठूलो भूभाग गुमाएको थियो। सुगौली सन्धिबाट भूमि गुमेको विषयलाई आधार बनाएर भीमसेन थापालाई राष्ट्रघाती करार गर्ने प्रवृत्ति त्यो बेला हावी भइरहेको थियो। इतिहास लेखनमा यो प्रवृत्ति अहिले पनि हावी नै छ। 

विदेशी लेखकहरूले लेखेका पुस्तकमा वर्णित विषयवस्तुलाई आधार बनाएर नेपाली लेखकहरूले समेत भीमसेन थापाको उछित्तो काढ्न थालेका थिए।  

ऐतिहासिक पात्रका सबल पक्ष पनि हुन्छन्, दुर्बल पक्ष पनि। दुर्बल पक्षलाई सम्पूर्ण ठानेर उनको आलोचना मात्र गरिँदा साम्राज्यवादी शक्तिसँग झुक्नुसाटो लडाइँ गर्ने भीमसेनको राष्ट्रवादी निर्णय र युद्धमा नेपालले प्रदर्शन गरेको वीरताजस्ता महत्वपूर्ण विषय ओझेल पर्दै गएका थिए।    

त्यस्तो बेला चित्तरञ्जनले भीमसेन थापामार्फत् सामाज्यवाद विरोधी नेपाली भावना र नेपाली वीरतालाई उजिल्याउन भूमिका खेले। यस हिसाबले नेपाली राष्ट्रवादलाई पहिलो प्राथमिकता दिएर इतिहास लेखनको सुरुवात गर्ने पहिलो इतिहासकार नेपाली नै हुन्। 

माथि नै भनिसक्यौँ, राणा शासनको अन्त्यको एकाध वर्षपछि ‘नेपालको ऐतिहासिक रुपरेखा’ र ‘नेपाल की कहानी’ प्रकाशित भएका थिए। इतिहासलाई ‘रुपरेखा’ र ‘कहानी’ मा सीमित गरेको पनि चित्तरञ्जनलाई मन परिरहेको थिएन।  

त्यसैले, नेपालको गौरवशाली इतिहासलाई ‘कहानी’ र ‘रुपरेखा’ मा सीमित गरेको भन्दै उनले शर्मा र श्रीवास्तवको आलोचना गरे। त्यो आलोचना उनले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ को भूमिकामा नै गरेका छन्। 

उनले भनेका छन्, ‘६ वर्षयता निस्केका दुईटा पुस्तकहरू– नेपालको ऐतिहासिक रुपरेखा र नेपाल की कहानी– ले नेपालको इतिहासलाई दुनियाँको सामुन्ने पेस गर्ने साहस गरेको छ। तापनि (इतिहास) ‘रुपरेखा’ र ‘कहानी’ कै रुपमा मात्र सीमित हुन गै इतिहासको वास्तविक अभाव तिनीहरूबाट पनि पूर्ति हुन सकेको छैन।’ 

चित्तरञ्जनको यो आलोचनालाई इतिहासकार शर्माले त्यही पुस्तकमा स्वीकार गरेका छन्। 

‘प्रत्येक देशको आफ्नू एक विशेषता हुन्छ, केही आफ्नूपना हुन्छ, जो त्यसको व्यक्तित्व हो। त्यसलाई बुझ्न आफ्नै विचार र आफ्नै विवेक चाहिन्छ र त्यसलाई खुट्याउने आफ्नै आँखा पनि। विद्वानहरूले त्यसलाई ठहर्‍याउन सकेनन्।’ सो पुस्तकका लागि मन्तव्य लेख्नेक्रममा इतिहासकार शर्माले भनेका छन्, ‘यही उनीहरूको इतिहास लेखनमा सबभन्दा ठूलो त्रुटि रह्यो। त्यसको पूर्ति स्वदेशी आत्मा र स्वदेशी दृष्टिले नै गर्न सक्तछ। र, प्रस्तुत ग्रन्थ (जनरल भीमसेन थापा र तत्कालीन नेपाल) त्यसै अभावको एक पूर्ति हो।’  

‘भीमसेन थापा एक प्रधानमन्त्री, एक सैनिक नायक र एक शासक मात्र होइनन्, तिनमा नेपाली जनताको भावनाको प्रतिनिधित्व भएको छ,’ इतिहास लेखनका लागि भीमसेन थापाको छनोट सही ठहर्‍याउँदै शर्मा थप लेख्छन्, ‘भीमसेन थापालाई कसीमा कस्नु त्यस समयको नेपाली जनतालाई चिन्नु हो र लेखकले त्यस समयको ‘हामीलाई चिनाउने’ यही काम गरेका छन्।’  

सन् १८५७ मा अंग्रेजविरुद्ध भारतमा विद्रोह सुरु भएपछि प्रधानमन्त्री जंगबहादुर राणा विद्रोह दमन गर्न नेपाली फौजसहित लखनउ (उत्तरप्रदेश) पुगेका थिए। जंगबहादुरको सहयोगमा उत्तरी भारतमा अंग्रेजविरुद्धको विद्रोह दमन सहज भयो। 

जंगबहादुरको त्यो कर्मबाट सुगौली सन्धिमा गुमेको मध्ये नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) त नेपाललाई प्राप्त भयो। तर, यसबाट नेपालको शिरमा कलंक पनि लाग्यो। 

अंग्रेजको साम्राज्य जोगाइदिन नेपाली शासक नै फौज लिएर गएको र ‘लखनउ लुट’ मच्चाएको त्यो तथ्यले नेपाली शिर अहिलेपनि निहुरिन्छ। हामी स्वतन्त्रताप्रेमी र साम्राज्यवाद विरोधी हौँ कि स्वतन्त्रताप्रेमीको दमनकर्ता र साम्राज्यवादका पृष्ठपोषक पनि थियौँ भन्ने प्रश्न त्यो घटनाले गर्छ। 

इतिहासकार शर्माका भनाइमा नेपालीको शिरमा लागेको त्यो कलंकको जवाफ भीमसेन थापाको इतिहासबाट दिने प्रयास चित्तरञ्जन नेपालीले गरेका छन्।  

‘भारतीय स्वाधीनताको संग्राममा छेका हाल्ने जुन कलंक नेपाली मस्तकमा लगाइएको छ– त्यसको प्रक्ष्यालनमा भीमसेन थापाकै सहयोग चाहिन्छ,’ शर्मा लेख्छन्, ‘लेखक (चित्तरञ्जन नेपाली) ले यही गरेका छन् र भीमसेन थापाको व्यक्तित्वलाई नै नेतृत्व दिई नेपालीले आजको परिस्थितिमा के गर्नु उचित छ, यसको संकेत पनि दिएका छन्।’  

चित्तरञ्जन हावा जता बग्छ, त्यतै बग्ने लेखक/इतिहासकार थिएनन्। ‘एन्टी करेन्ट’ थिए र त्यसैले नै सुरुमा भीमसेन थापामाथि लेखे, जबकि त्यो बेला शासन सञ्चालनमा भीमसेन थापाको कठोरता र सुगौली सन्धिमार्फत् भूमि गुमेको घटनालाई आधार बनाएर नेपाली राष्ट्रवादको विकासमा भीमसेन थापाको भूमिकालाई नजरअन्दाज गर्ने र पृष्ठभूमिमा पार्ने प्रयास गरिँदै थियो। 

आफ्ना लेखनीमार्फत् उनी जे विषयमा तर्क गर्थे, त्यसका लागि तथ्यको सहारा लिन्थे। त्यसैले, २५ वर्षे नवयुवक चित्तरञ्जनसँग विद्वानहरू समेत नतमस्तक हुन्थे। 

‘सबभन्दा मनपर्ने कुरा त यो छ कि लेखकले भीमसेन थापाको मुद्दामा स्वयम् आफ्नो तर्फबाट कुनै बहस गरेका छैनन्,’ शर्माले यो पनि लेखेका छन्, ‘उनले (चित्तरञ्जन) विरोधी र वस्तुस्थितिलाई बंग्याउनेहरूको तर्कहरूको हाराहारी नै केवल लिखित प्रमाण पेस गरेका छन्। जो आफ्नु पक्षमा स्वयम् तर्क गर्न पूर्ण समर्थ छ। खुट्याउनेहरूले छुट्याउन्– वस्तुस्थिति के हो र भीमसेन थापा के हुन्?’ 

जागिरे जीवनका दुई चोट 
बाल्यकालमा पुस्तकमार्फत् मैले चिनेका चित्तरञ्जनसँग मेरो पहिलो प्रत्यक्ष भेट ३ जेठ २०६७ मा महाराजगञ्जस्थित उनको निवासमा भयो। दोस्रो पटक (५ असार २०६७) मा भेट गर्दा नेपाल–चीन सम्बन्धी सन्धि सम्झौताहरूको संकलन रहेको एउटा पुस्तक बोकेर उनीकहाँ गएको थिएँ। 

त्यो पुस्तक चिनियाँ परराष्ट्र मन्त्रालय अन्तर्गतको एसियाली शाखाले प्रकाशन गरेको थियो। 

पुस्तकमा नेपाली भाषामा हातैले लेखिएका दुई दस्तावेज सामेल थिए। दुवैमा प्रधानमन्त्री बीपी र चाउ एनलाइको हस्ताक्षर थियो।

आफ्नै हातले लेखेको नेपाल–चीन सीमा सम्झौताका साथ चित्तरञ्जन 

दुईमध्ये एउटा ‘नेपाल–चीन सीमाना सम्झौता’ थियो, अर्काे बीपीको चीन भ्रमणका क्रममा दुई देशले जारी गरेको संयुक्त विज्ञप्ति।     

पहिलो भेटमै चित्तरञ्जन नेपालीको सुन्दर अक्षरसँग परिचित भएको थिएँ म। त्यसैले, चीनले प्रकाशित गरेको पुस्तकमा समावेश त्यो सम्झौताका अक्षर चित्तरञ्जनका हातले लेखिएका हुन् भन्ने जान्न मलाई अप्ठेरो थिएन। 

तैपनि, टाइपराइटर प्रचलनमा आइसकेको जमानामा पनि किन सन्धि हातैले लेख्नु परेको थियो र कहीँकतै कुनै केरमेट नगरी उनले कसरी लेख्न सके– त्यो रोचक अनुभव म उनीबाट सुन्न चाहन्थेँ। 

सन्धिको प्रतिलिपी देख्नासाथ उनले पुष्टि गरे– त्यो उनकै हस्ताक्षर हो। 

तर, सम्झौता पत्र तयार पार्दाको स्मरण सुनाउन उनी उत्सुक देखिएनन्।   

खासमा सरकारी सेवाका अनुभव स्मरण गर्न पनि चाहँदा रहेनछन् उनी। १४ असोज २०७३ को अन्नपूर्ण दैनिकमा प्रकाशित उनको एक अन्तर्वार्ता पढेपछि मात्र मैले यो कुरा अनुभूत गरेँ।

पत्रकारद्वय दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले अन्तर्वार्ताका क्रममा चित्तरञ्जनलाई सोधेका छन्, ‘तपाईंले परराष्ट्र सेवा लगायत विभिन्न सरकारी पदमा बसेर काम पनि गर्नुभयो। त्यसको अनुभव कस्तो छ? इतिहास लेखनमा केही सघाउ पुग्यो कि!’ 

‘त्यो कारिन्दा भएर गरिएको काम हो,’ उत्तरमा उनी भन्छन्, ‘त्यसको संस्मरण मलाई केही भन्नुछैन।’    

मेरो अनुभवमा यस्तो विरक्तिभाव अन्तर्वार्तामा प्रकट भएभन्दा अझ बढी थियो र त्यसमा जायज कारण थिए। 

चित्तरञ्जन नेपाली परराष्ट्र सेवामै आफ्नो ‘करिअर’ बनाउन चाहन्थे। तर, इच्छाविपरीत परराष्ट्र सेवाबाट स्थानान्तरित हुनुपर्‍यो।  

यदुनाथ खनाल परराष्ट्रसचिव बनेपछि उनले परराष्ट्र सेवाका अधिकृतहरूको शैक्षिक योग्यता निर्धारण गरेका थिए। नयाँ मापदण्ड अनुसार परराष्ट्र सेवाको अधिकृत हुन स्नातकोत्तर उत्तीर्ण गरेको हुनै पर्ने भयो। नत्र उनीहरू अन्य मन्त्रालयमा सरुवा हुने भए।  

चित्तरञ्जन नेपाली भने स्नातक उत्तीर्ण मात्र थिए।  

यो प्रावधानका कारण उनले परराष्ट्र मन्त्रालय छोड्नुपर्ने भयो। पिता–पुर्खाले सेवा गर्दै आएको र आफ्नो रुचिको सेवाबाट विमुख हुनुपर्दा उनी दुखी भए। 

परराष्ट्रबाट उनको सरुवा गृह मन्त्रालयमा भयो। त्यहीँ उनी उपसचिवमा बढुवा भए। तर, गृह मन्त्रालयमा काम थालेको करिब दस वर्षपछि फेरि उनी अर्काे कोपभाजनको सिकार भए।  

राजा वीरेन्द्रको राज्याभिषेक (१२ फागुन २०३१) मा हुने भयो। राज्याभिषेकमा सहभागी हुन आएका विश्वका पाहुनाहरूसमक्ष राजाले ‘नेपाललाई शान्तिक्षेत्र स्वीकार गरियोस्’ भन्ने प्रस्ताव राखे।   

तर २०३१ को असार–साउनसम्म पनि मुस्ताङमा सशस्त्र खम्पाहरूको क्याम्प थियो। चीनविरुद्ध लड्न अमेरिकी सहयोगमा ती क्याम्प स्थापना भएका थिए। 

नेपालमा चीनविरुद्ध लड्न अमेरिकी सहयोगमा स्थापना गरिएका क्याम्प र सशस्त्र खम्पाहरूको उपस्थितिका बीच शान्तिक्षेत्रको प्रस्ताव घोषणा गर्नुको अर्थ हुँदैनथ्यो। 

त्यसैले, राज्याभिषेकअगावै खम्पा निशस्त्रीकरणको योजना दरबारले बनायो।  

यस्तो योजना बन्दै गर्दा चित्तरञ्जन उत्तरी सीमा क्षेत्रीय प्रशासन कार्यालय अन्तर्गत मुस्ताङका प्रशासक थिए। उत्तरी सीमा क्षेत्रीय कार्यालय खम्पाहरूको उपस्थिति रहेको ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ र हुम्लाका उत्तरी गाउँहरूलाई समेटेर स्थापना गरिएको थियो। 

विसं २०६० को मध्यताका म पत्रकारिताको ‘मिड करिअर’ मा थिएँ। खम्पा मामिलाको खोजीमा जोडतोडले लागिरहेको थिएँ। त्यसक्रममा मैले चित्तरञ्जन नेपाली पनि एक समय मुस्ताङको सीमा प्रशासक थिए भन्ने जानकारी पाएँ। 

‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ मार्फत् ममा इतिहासप्रतिको मोह जगाउने चित्तरञ्जन नेपालीसँग मेरो पहिलो प्रत्यक्ष भेट त्यही खम्पा मामिलाको खोजीको क्रममा भएको हो। 

नेपाल–चीन सीमा सम्झौता 

जीवनको उत्तरार्ध्दतर्फ लम्कँदै गरेका चित्तरञ्जन गुमनाम जीवन बिताइरहेका थिए। पारिवारिक सदस्य र नातागोताबाहेक कसैलाई भेट्न रुचि गर्दैनथे। 

फोन सम्पर्क गर्दा मसँग पनि भेट्न मानेनन्। भेटघाटको अवसरका लागि २–३ वर्ष कुर्नुपर्यो। 

म कार्यरत जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको चित्तरञ्जनका नाति मनिष राजभण्डारीसँग मित्रता थियो। मनिषले आग्रह गरेपछि चित्तरञ्जन मसँग भेटघाटका लागि राजी भए। 

उनीसँगको पहिलो भेटघाट ३ जेठ २०६७ मा जुर्‍यो।   

जब दरबारले खम्पा अपरेसनको योजना बनायो, चित्तरञ्जनलाई मुस्ताङबाट फिर्ता बोलाइयो। 

यत्तिसम्म त ठीकै थियो। तर, तत्कालीन गृहसचिव शेरबहादुर शाहीले सरुवा भएपछि पनि मुस्ताङ जान ढिलाइ गरेको र त्यहाँ पुगेपछि खम्पा कमाण्डर गे वाङ्दीसँग अवान्छित सम्बन्ध राखेको गम्भीर आरोप लगाए। 

चित्तरञ्जन मुस्ताङ जानेताका गृहसचिव जनरल क्षेत्रविक्रम राणा थिए। गृह मन्त्रालयमा छँदा उनलाई उत्तरी क्षेत्रीय सीमा प्रशासन शाखा हेर्ने जिम्मेवारी थियो। विभूषण शाखा पनि उनैले हेर्थे। 

उत्तरी सीमा प्रशासन शाखाको अनुभव भएकाले गृहसचिव राणाले चित्तरञ्जनलाई मुस्ताङजस्तो संवेदनशील कार्यालयको प्रशासक बनाएर पठाएका थिए। 

‘राजा महेन्द्रको जन्मदिन (३० जेठ) आउँदै थियो, राजाको जन्मोत्सवमा प्रदान गरिने तक्मा सम्बन्धी काम टुङ्गिसकेको थिएन,’ त्यो भेटमा नेपालीले भनेका थिए, ‘सचिव राणाले विभूषण शाखाले गर्नुपर्ने काम टुङ्ग्याएर गइदिनुस् न भनेपछि म केही दिन रोकिएँ। तर, राणापछि आएका गृहसचिव शाहीले मैले जानाजान मुस्ताङ जान ढिलाइ गरेको आरोप पो लगाए।’  

राज्यले सैनिक बल प्रयोगमार्फत् खम्पा लडाकुलाई निशस्त्रीकरण गर्ने योजना बनाएको थियो। खम्पाविरुद्ध सैनिक कारबाही हुने भएपछि मुस्ताङस्थित उत्तरी सीमा क्षेत्रीय कार्यालयको प्रशासक पनि सैनिक पृष्ठभूमिका व्यक्ति हुँदा सहज हुने जंगी अड्डाले ठान्यो।  

‘चित्तरञ्जनले खम्पा कमान्डर गे वाङ्दीसँग निकटता बढाएका छन्’ भन्ने आरोप यसैको उपज थियो। चित्तरञ्जन मुस्ताङबाट फिर्ता भएपछि शैलेन्द्रबहादुर महतले त्यो जिम्मेवारी सम्हाले। दोस्रो विश्वयुद्धमा समेत भाग लिएका महत नेपाली सेनाका अवकाशप्राप्त कर्णेल थिए।   

त्यो भेटमा चित्तरञ्जनले पनि स्वीकार गरेका थिए कि खम्पा कमान्डर गे वाङ्दीसँग उनको राम्रो सम्बन्ध थियो। त्यो सम्बन्ध दर्शाउन उनले केही तस्बिर पनि मलाई उपलब्ध गराए। 

तर, उनको प्रष्टिकरण थियो, ‘मैले राज्यको नीति/निर्देशन अनुरुप नै गे वाङ्दीसँग सम्बन्ध विकसित गरेको हुँ।’ 

‘खम्पाहरूलाई हातहतियार सहित हिँड्न नदिनू,’ मुस्ताङ हिँड्ने बेला उनलाई गृहसचिव राणाले भनेका थिए, ‘उनीहरूसँग राम्रो सम्बन्ध राख्नू, बिच्क्याउने काम नगर्नू।’ 

राजा महेन्द्रकै स्वीकृतिमा मुस्ताङमा क्याम्प खडा भएका थिए। दरबारकै स्वीकृतिमा क्याम्प खडा गरेर बसेका खम्पाहरूलाई कानुनविपरित हातहतियार लिएर हिँड्न रोक्नेबाहेक अरु उनले के नै गर्न सक्थे र!

गृह मन्त्रालयको उत्तरी सीमा प्रशासन शाखाको जिम्मेवारीमा छँदा चित्तरञ्जनले निर्वाह गरेको एउटा महत्वपूर्ण भूमिका उनले मुस्ताङको जिम्मेवारी पाउनुको तेस्रो र सर्वाधिक महत्वपूर्ण कारण थियो। 

विसं २०२० को मध्यताकासम्म गे हिस्सी मुस्ताङ क्याम्पको कमान्डर थिए। तर, दलाई लामाले गे हिस्सीलाई विस्थापित गरी गे वाङ्दीलाई कमान्डर बनाएर मुस्ताङ पठाए। 

यो फेरबदलपछि खम्पा लडाकु समूह दुई गुटमा विभाजित भयो। गे हिस्सी ठूलो परिणाममा हातहतियार र लडाकु लिएर मनाङतर्फ लागे। त्यहीँ अर्काे क्याम्प खडा गरे। चित्तरञ्जन नेपालीले नेपाल सरकारको तर्फबाट गे हिस्सीसँग गोप्य कुराकानी गरे।

परराष्ट्र मन्त्रालयका यी पूर्वअधिकृतसँग कूटनीतिक कौशल छँदै थियो। शान्त स्वभावका पनि थिए। 

चित्तरञ्जनसँगको कुराकानीबाट गे हिस्सी विश्वस्त भए कि, ‘हातहतियार समर्पण गर्ने हो भने नेपालमा अझ सुरक्षित रुपमा बस्न सकिन्छ, सरकारबाट सम्मान पनि प्राप्त हुन्छ।’  

चित्तरञ्जनको प्रयासकै कारण २०२० मध्यताका हिस्सी पक्षले नेपाल सरकारलाई सयौँ हातहतियार बुझायो। खम्पाहरूको हतियार बुझ्ने काम चित्तरञ्जनले नै गरेका थिए। 

पोखरामा बुझाइएका हतियार यति धेरै थिए कि चित्तरञ्जनले बताए अनुसार सात वटा रसियन जिप ती हतियारले भरिएका थिए। 

गे हिस्सी पक्षको यो समर्पणपछि खम्पा समूह निर्णायक रुपमा कमजोर बन्यो। २०३१ को अपरेसनको सम्पूर्ण जस नेपाली सेनाले लिन खोज्छ। 

तर, सैनिक अपरेसनबाट जत्तिकै महत्वपूर्ण सफलता त्यसअघिको प्रशासनिक प्रयासबाट प्राप्त भएको थियो।  

सेना प्रयोग हुँदासमेत गे वाङ्दीले आत्मसमर्पण गर्न मानेनन्। मुस्ताङबाट सुटुक्क भागेका उनी २०३१ भदौमा टिंकर (दार्चुला) को सैनिक कारबाहीमा मारिए। 

तर, गे हिस्सीले आत्मसमर्पण गरे, हातहतियार नेपाल सरकारलाई बुझाए। तिनै गे हिस्सी, जो मुस्ताङ लगायत उत्तरी सीमा क्षेत्रका विभिन्न जिल्लामा स्थापना गरिएका खम्पा क्याम्पहरूका संस्थापक कमान्डर थिए। 

मुस्ताङको केसाङस्थित खम्पा मुख्यालयमा गे वाङ्दी (बायाँतर्फ दोस्रो) का साथ चित्तरञ्जन नेपाली (दायाँ) र उनको परिवार 

यस हिसाबले खम्पा निशस्त्रीकरणमा चित्तरञ्जनको भूमिका महत्वपूर्ण थियो। उनले त्यो भूमिका गोप्य र शान्त रुपमा निर्वाह गरे। त्यही कारण सैनिक अपरेसनजस्तो उनले चर्चा पाएनन्।  

उत्तरी सीमा प्रशासकको जिम्मेवारी सम्हाल्न मुस्ताङ पुगेपछि गे वाङ्दीलाई पनि ‘कन्भिस’ गरेर हातहतियार समर्पण गराउने प्रयासमा उनी लागेका थिए। तर, उनको यो प्रयासलाई राज्यले गे वाङ्दीसँग नाजायज सम्बन्ध ठानिदियो, उनलाई फिर्ता बोलाइयो। उनलाई कृषि मन्त्रालय अन्तर्गतको खाद्य संस्थानमा सरुवा गरियो। 

२०३१ भदौ अन्तिम साता टिंकरपास (दार्चुला) मा नेपाली सेनाको गोलीबाट गे वाङ्दीको मृत्यु भयो। वाङ्दीको मृत्युसँगै खम्पा अपरेसनको पनि अन्त्य भयो। 

तर, गे वाङ्दीको मृत्यु पुष्टिका लागि सरकारले चित्तरञ्जनकै सहयोग लिनुपर्‍यो।  

मारिएका खम्पा लडाकुमध्ये एकजनाको खल्तीमा एउटा तस्बिर भेटियो। तस्बिरमा दुई व्यक्ति सँगै थिए। ती दुईमध्ये एकजना मारिएका खम्पा लडाकु थिए। 

अर्काे व्यक्ति को थिए, फिल्डमा खटिएको सैनिक टोलीले निधो गर्न सकेनन्। 

तस्बिरमा रहेको दोस्रो व्यक्तिको परिचय प्राप्त हुँदा मारिएका खम्पा लडाकु को रहेछन् भन्ने कुरा यकिन हुन सक्थ्यो। 

गे वाङ्दी मुस्ताङबाट भागेपछि उनलाई भारत प्रवेश गर्नबाट रोक्न गरिएको ‘ब्लकिङ्क अपरेसन’ को कमान्डर बिग्रेडियर जनरल आदित्य शमशेर राणा थिए। यो अपरेसनको समग्र कमान्डिङको युद्धकार्य विभाग प्रमुख महासेनानी भरतकेशर सिंहलाई थियो। 

राणा र सिंह दुवै २०१६ मा गठित नेपाल–चीन सीमा कमिटीमा सदस्य थिए, चित्तरञ्जन चाहिँ सदस्य–सचिव।

मारिएका खम्पा लडाकुको खल्तीको तस्बिर बैतडी ल्याइएपछि जनरल आदित्य शमशेरले तस्बिरमा रहेका दोस्रो व्यक्ति चित्तरञ्जन हुन् भन्ने चिनिहाले। 

अब चित्तरञ्जनलाई घटनास्थल पुर्‍याएर मारिएका व्यक्ति गे वाङ्दी हुन्–होइनन्, निधो गरिने भयो। पहिले गृह मातहतका कर्मचारी भएकाले चित्तरञ्जनसँग गृहसचिव शाहीले नै कुरा गर्ने जिम्मेवारी पाए। 

 चित्तरञ्जनसँगै गे वाङ्दी (दायाँ), मृत गे वाङ्दीको खल्तीमा यही तस्बिर भेटिएको थियो 

‘एक दिन साँझपख गृहसचिव शेरबहादुर शाही आफैँले मलाई फोन गरे। उनले ‘भोलिबिहानै एयरपोर्टमा आउनुपर्‍यो, एउटा कुरा बुझ्नका लागि तपाईंको सहयोग चाहियो’ भने, विस्तृत कुरा बताएनन्,’ चित्तरञ्जनले भनेका थिए, ‘एयरपोर्ट पुगेपछि मात्र थाहा भयो, टिंकरमा वाङ्दी मारिएछन्। उनको गोजीमा म र उनी सँगै बसेको एउटा फोटो फेला परेछ। त्यो फोटो केसाङ्ग (मुस्ताङ) स्थित खम्पा क्याम्पमा वाङ्दीसँगै बसेर खिचिएको थियो।’  

उनी भोलिपल्ट बिहान एयरपोर्ट पुगे। कर्णेल भरतकेशर पनि त्यहीँ उपस्थित थिए। उनीहरू नेपाली सेनाको स्काइ भ्यानमा धनगढी पुगे, त्यहाँबाट हेलिकोप्टरमार्फत् बैतडी। हेलिकोप्टरमा बैतडीबाट ब्रिगेडियर जनरल आदित्य शमशेर थपिए। 

चित्तरञ्जन, कर्णेल सिंह र जनरल राणासहितको टोली भिडन्तस्थल टिंकरपास पुग्यो। 

‘अनुहार एकदमै फुलेको शव थियो, तर नजिक पुग्नासाथ उनी गे वाङ्दी हुन् भन्ने मैले चिनिहालेँ,’ चित्तरञ्जनले सुनाएका थिए, ‘मैले यो शव गे वाङ्दीको हो भनेर सनाखत गरेँ। त्यससँगै उनी मारिएको आधिकारिक पुष्टि भयो।’ 

यो त गे वाङ्दी मारिएपछिको कुरा भयो। मुस्ताङमा छँदा राज्यले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहँदा ‘खम्पासँग मिलेको’ र ‘समयमै कार्यक्षेत्रमा नगएको’ आरोप लगाएर सरुवा गरिएपछि उनको मनमा निकै ठूलो चोट परेको थियो।

‘धन्न जागिर चाहिँ खाइदिएनन्,’ १३ वर्षअघिको त्यो (पहिलो) भेटमा भारी मनका साथ चित्तरञ्जनले भनेका थिए, ‘दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दा यस्तो पनि हुँदो रहेछ। यो नै मेरो जागिरे जीवनको सबैभन्दा दुखद पक्ष हो।’  

मलाई लाग्छ– जागिरे जीवनका अनुभव सेयर गर्न चित्तरञ्जन सधैँ अनिच्छुक हुनुको मुख्य कारण यही थियो। 

डाँडामाथिका जून
चित्तरञ्जनसँग मेरो अन्तिम भेट १० जेठ २०७९ मा भयो। त्यसदिन परराष्ट्र मन्त्रालयले पहिलो परराष्ट्र सेवा दिवस मनाउँदै थियो। त्रिपुरेश्वरस्थित राहदानी विभागको सभाहलमा आयोजित कार्यक्रममा उनी पनि उपस्थिति थिए।

परराष्ट्र सेवाका अग्रणीमध्येका कर्मचारीलाई अभिनन्दन गर्ने कार्यक्रम भएकाले सकीनसकी उनी त्यहाँ उपस्थित थिए।  

उनीसँग भेट नभएको ५–७ वर्ष भइसकेको थियो। तर पनि उनले मलाई सजिलै चिनिहाले।

परराष्ट्र दिवसको कार्यक्रममा चित्तरञ्जन नेपाली 

‘एकपटक मेरो घरमा आउनुस् न है!’ उनको आग्रह थियो, ‘तपाईंसँग एउटा कुरा गर्नुछ। तपाईंसँग अनुरोध गरेको त्यो काम टुङ्ग्याउनुछ।’ 

९० कटिसकेका उनलाई भेट्न सहज थिएन। निकै गलिसकेका थिए। कोभिड महामारी पनि भर्खर सकिएको थियो। 

तैपनि उनको निवासमा फोन गरेँ। उहाँकै चाहना अनुसार भेट्न खोजेको बताएँ। तर, बुढ्यौली र बिमारका कारण भेट सम्भव भएन। उनको स्वास्थ्य अवस्था मध्यनजर गर्दै मैले पनि उतिसाह्रो ताकेता गरिनँ। 

३० असोजमा बेइजिङमा स्वेत चैत्य अवलोकन गर्दै थिएँ। त्यहाँ केही बेर सुस्ताउँदै गर्दा नेपालका समाचार पढेँ। त्यहीँ पो थाहा पाएँ, म बेइजिङ प्रस्थान गरेकै दिन (२९ असोज) मा ओम अस्पतालमा उनको निधन भएछ। 

खासमा उनी  बजारमा अप्राप्य आफ्नो अर्काे महत्वपूर्ण कृति ‘नेपाल–चीन सिमाना सन्धि’ को पुनः प्रकाशन गर्न चाहन्थे। विसं २०२१ म प्रकाशित त्यो पुस्तकको कम्प्युटर टाइप पनि भइसकेको थियो, जो उनले मलाई ५–७ वर्षअघि नै देखाएका थिए। 

‘यसलाई अन्तिम रुप दिएर फेरि बजारमा ल्याउन मन छ,’ उनले भनेका थिए, ‘बुढ्यौली र आँखाको समस्याका कारण म राम्रोसँग हेर्न सक्दिनँ। त्यसैले, अन्तिम रुप दिन मलाई तपाईंको सहयोग चाहियो।’ 

परराष्ट्र मन्त्रालयको त्यो कार्यक्रममा उनले ‘टुङ्ग्याउनुछ’ भनेको कुरा यही थियो। 

उनी ‘डाँडामाथिका जून’ थिए, जो जुनकुनै बेला अस्ताउन सक्थे। त्यसैले चित्तरञ्जनको चाहना मैले पूरा गरिदिनुपथ्र्याे। उनी इतिहासको मेरो पहिलो गुरु भएकाले पनि मैले यो कर्तव्य पूरा गर्नुपथ्र्याे। 

तर म चुकेँ। 

नेपाल–चीन सीमा सन्धि पुनः प्रकाशित गर्ने उनको चाहना पूरा हुने गरी सहयोग गर्न सकिनँ। नेपालबाहिर हुनाले अन्तिम विदाईस्वरुप उनीमाथि श्रद्धाको फूल अर्पण गर्ने अवसर पनि पाइनँ। 

मेरो जीवनमा फेरि कहिल्यै नमेटिने अर्काे थकथकी थपिएको छ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .