काठमाडौँबाट अपरान्ह ४:२७ मा उडेको इन्डियन एयरलाइन्सको आईसी–८१४ नं. विमान २० मिनेटपछि जब भारतीय सीमाभित्र प्रवेश गर्यो, तब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ठीक ४:४७ मा त्यो विमानलाई बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थललाई हस्तान्तरण गर्यो।
त्यस अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एरोड्रम अफिसरका रुपमा ड्युटीमा थिइन्, शान्ति प्रधान। भर्खर बनारस विमानस्थललाई हस्तान्तरण गरिएको जहाजबारे फोनमार्फत् अपरान्ह ५:०५ मा प्रधानले एउटा अनौठो सूचना पाइन्। फोन गर्ने स्वर महिलाको थियो, जसले आफूलाई काठमाडौँस्थित भारतीय दूतावासको सुरक्षा अधिकारी ‘श्रीमती राजु’ का रुपमा चिनाएकी थिइन्।
‘भर्खर काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको आईसी–८१४ जहाज अपहरणमा परेको छ,’ श्रीमती राजुले प्रधानलाई भनिन्।
विमान साँच्चिकै अपहरणमा परेको त्यतिबेला पुष्टि भयो, जब नयाँदिल्लीका लागि उडेको विमानलाई साँझपख पञ्जाब प्रान्तको दोस्रो ठूलो सहर अमृतसरस्थित श्री गुरु रामदासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइयो। इन्धन भर्ने ट्याङकरबाहेक विमानको वरिपरि कसैलाई जान दिइएन।
हुन त अमृतसरमा अवतरण हुनुअघि नै जहाजलाई भारतीय वायुसेनाका विमानहरुले आकासमै घेरा हालेका थिए। तर, चालकदलका सदस्यहरुले सञ्चार सेटमार्फत् जानकारी गराए, ‘यस्तो घेराबन्दी जहाजको सुरक्षाका लागि खतराजनक छ। सुरक्षा घेरा जारी रहे अपहरणकारीले जहाज ध्वस्त पारिदिन सक्छन्।’
अमृतसर विमानस्थलमा ‘अलर्ट’ मा बसेको भारतीय सुरक्षाफौजलाई अपहृत जहाजको चालक दलका सदस्यले ‘अपहरणकारीहरु एके–४७ राइफल, डाइनामाइट, पिस्तोल र हाते ग्रिनेडहरुले सुसज्जित भएको’ सूचना दिएको थियो। साथै, अपहरणयता चारजनाको हत्या गरिसकेको अत्यासलाग्दो सूचना पनि दिएका थिए।
‘इन्धन भर्न मात्र विमानलाई अमृतसर विमानस्थल अवतरण गरिएको हो,’ चालकदलले अपहरणकारीहरुको तर्फबाट भनेको थियो, ‘इन्धन भरिसकेपछि विमान यहाँबाट लाहोर (पाकिस्तान) स्थित विमानस्थलमा गएर अवतरण गर्नेछ।’
यस्तो चेतावनीपछि भारतीय पक्ष चुपचाप विमानमा तेल भर्न बाध्य भयो। आकाशमा उडिरहेका लडाकु जहाज र विमानस्थल वरिपरि ‘तयारी अवस्था’ रहेको भारतीय फौज ‘एक्सनलेस’ अवस्थामा रह्यो। अपहरणकारीहरुको धम्की डरलाग्दो थियो। जहाज र यात्रुहरुको सुरक्षा मध्यनजर गर्दै उनीहरु चुप रहे।
अमृतसरमा थोरै औषधि–पानी र इन्धनको जोहो गरेर ४० मिनेटपछि अपहृत जहाज नजिकैको सीमावर्ती पाकिस्तानी सहर लाहोरतर्फ उड्यो। अर्थात्, भारतीय दूतावासबाट त्रिवि विमानस्थलले प्राप्त गरेको सूचना सही साबित भयो।
नेपाली ‘मिलेनियम पुस्ता’ (सन् २००० पछि जन्मेको) लागि यो ‘पुरानो घटना’ हो, जो उनीहरु जन्मनुअघि घटेको थियो। प्रौढपुस्ताका लागि भने यो ‘अस्तिभर्खर जस्तै लाग्ने’ घटना हो।
समय हो, बादलजसरी फिस्स उडेर जान्छ। जस्तो कि प्रौढ पुस्तालाई ‘अस्तिभर्खर जस्तो’ लाग्ने अपहरणको घटना भएको पनि आइतबार (२४ डिसेम्बर) २४ वर्ष पूरा भइसकेको छ।
खाना खाने बेला अपहरण
काठमाडौँबाट नयाँदिल्लीका लागि प्रस्थान गरेको सो विमानमा चालक दलका ११ जना सदस्य, ४ जना नाबालक र १ सय ७८ यात्रु सवार थिए। तीमध्ये भारतीयको संख्या १ सय ५० थियो। बाँकीमध्ये ८ जना नेपाली, ४ स्विस, ४ स्पेनिस, २ फ्रेन्च, अनि एकएक जना जापानी, बेल्जियन, अमेरिकन, इटालियन र अस्ट्रेलियन थिए।
जहाजले नेपाली सीमा पार गर्नैलाग्दा यात्रुहरुले विमान परिचारिका (एयरहोस्टेस)हरुबाट ‘लज्च प्याकेट’ प्राप्त गरे।
अधिकांश यात्रुहरु ‘लञ्च प्याकेट’ के खोल्दै थिए, अकस्मात उनीहरुले चर्को आदेश सुने, ‘हेड डाउन!’
अप्रत्याशित र अविश्वसनीय आदेश दिनेहरुतर्फ उनीहरुका आँखा सोझिए। दुई पुरुषले यस्तो आदेश दिइरहेका थिए। दुईमध्ये एउटाको हातमा पिस्तोल र अर्काेको हातमा छुरी थियो।
परिचारिकाहरुले सुरुमा यात्रुहरुलाई चकलेट बाँडेका थिए, त्यसपछि लञ्च प्याकेट। परिचारिकाहरु खानेकुरा बाँड्न व्यस्त भएको मौकाको फाइदा उठाएर उनीहरुले चालक दल र यात्रुहरुलाई नियन्त्रणमा लिएका थिए।
अपहरणकारीको कुल संख्या पाँच थियो। दुईजना ककपिटमा प्रवेश गरेर चालक दललाई नियन्त्रणमा लिएका थिए। बाँकी तीनजनाले परिचारिका र यात्रुहरुलाई नियन्त्रणमा लिए।
उनीहरुको साथमा हतियार रहेकाले चालक दल र यात्रुहरुबाट कुनै प्रतिकार भएन।
जहाज सहजै नियन्त्रणमा आएपछि अपहरणकारीहरुले पाइलटलाई आफूले भने बमोजिमको विमानस्थलमा लैजान निर्देशन दिनसक्थे। तर, विमानमा पर्याप्त इन्धन थिएन। अपहरणकारीहरुलाई यहीँनिर समस्या पर्यो।
काठमाडौँबाट उडान गर्दा जहाजमा जम्मा २ घण्टा ३३ मिनेटका लागि इन्धन थियो। अपहरणपछि र अमृतसरतर्फ सोझिनुअघि जहाज २ घण्टा १६ मिनेट उडिसकेको थियो।
अर्थात् जहाजमा अब १७ मिनेटका लागि मात्र इन्धन बाँकी थियो। अमृतसरमा अवतरणको अनुमति दिनुबाहेक अपहरणकारीहरुसँग अर्काे विकल्प थिएन।
तर, लामो समय अमृतसरमा विमान अड्याइराख्नु अपहरणकारीहरुका लागि खतरनाक हुनसक्थ्यो। किनभने अपहरणको उदेश्य भारतीय जेलमा रहेका कस्मिरका पृथकतावादीहरुको रिहाई थियो।
भारत सरकारसँगको मोलमोलाइलाई सकारात्मक स्थितिमा पुर्याउन कुनै अनुकूल मुस्लिम मुलुकमा जहाजलाई पुर्याउनु पर्थ्यो।
अमृतसरमा भरिएको इन्धन पर्याप्त नभएको बताउँदै चालक दलले चाहिँ लाहोर (पाकिस्तान) विमानस्थलमा लगेर इन्धन भर्ने प्रस्ताव गरे। भारतविरोधी मुलुक भएकाले अपहरणकारीहरुले पनि पाकिस्तानमा इन्धन भर्ने कुरामा सहमति जनाए।
चालक दलले अमृतसर विमानस्थललाई जहाज लाहोरतर्फ जाने जानकारी गरायो। सोही अनुसार भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीले तत्काल पाकिस्तानी राष्ट्रपति जनरल परवेज मुसर्रफलाई फोन गरे र अपहृत जहाजलाई लाहोरमा अवतरणको अनुमति दिन अनुरोध गरे। संयोगवश राष्ट्रपति मुसर्रफ त्यसदिन लाहोरमै थिए।
तर, मुसर्रफले विमानस्थल प्रशासनलाई प्रतिकूल निर्देशन दिए।
‘अपहृत भारतीय जहाजलाई कुनै पनि हालतमा लाहोर विमानस्थलमा अवतरण गर्न नदिनू,’ राष्ट्रपति मुसर्रफको निर्देशन थियो, ‘लाहोर मात्र होइन, पाकिस्तानका कुनै पनि विमानस्थलमा अपहृत भारतीय जहाजलाई अवतरण गर्न पाउने छैन।’
पाकिस्तानी सेनाका प्रमुख मुसर्रफ अपहरणभन्दा साढे दुई महिनाअघि मात्र पाकिस्तानका निर्वाचित प्रधानमन्त्री नवाज सरिफलाई अपदस्थ (कू) गरी राष्ट्रपति बनेका थिए। पीडित सरिफ भए पनि त्यो ‘कू’ को सम्बन्ध भारतसँग पनि थियो।
विवादास्पद कस्मिरको कारगिलमा ३ मे १९९९ (२० वैशाख २०५६) देखि २६ जुलाई १९९९ (१० साउन २०५६) मा भारत–पाकिस्तानबीच भीषण लडाइँ भएको थियो। पाकिस्तानी सेनाको सहयोगमा पृथकतावादीहरुले कब्जा गरेको कारगिल तीन महिना लामो लडाइँपछि भारतीय सेनाले फिर्ता गर्यो।
कारगिल युद्धमा भएको यो पराजयपछि पाकिस्तानी सेनाभित्र राजनीतिक नेतृत्वप्रति असन्तोष फैलियो। राजनीतिक नेतृत्वको कमजोरीका कारण युद्धमा पराजय भएको हो भन्ने सेनाको आरोप थियो। त्यही असन्तुष्टिलाई आधार बनाएर सेना प्रमुख मुसर्रफले सत्ता कब्जा गरे।
सरिफ भारतसँग सम्बन्ध सुधारको प्रयासमा थिए। तर, सेनाको हर्कतका कारण भारत–पाकिस्तान सम्बन्ध पूर्ववत् नाजुक स्थितिमा पुग्यो।
एकातिर दुई मुलुकबीच यस्तो तिक्तता थियो। अर्काेतिर अपहृत विमानलाई अवतरण गर्न दिँदा पाकिस्तानले नै अपहरण गरेर आफ्नो भूमिमा लगेको हो भन्ने आरोप भारतीय पक्षले लगाइदिन सक्थ्यो। बाजपेयीको अनुरोधपछि मात्र मुसर्रफले अवतरणको अनुमति दिएका हुन् भन्ने कुरा त्यो बेला कसले पो पत्याउँथ्यो र?
‘अपहृत जहाजको विषय भारतको आन्तरिक मामिला हो’ भन्ने सन्देश जाओस् भनेर मुसर्रफले सो जहाजलाई लाहोरमा अवतरण गर्न नदिन कडा निर्देशन जारी गरे।
अमृतसर विमानस्थलमा जहाजमा इन्धन त भरियो। तर, निकै कममात्र। किनकि अमृतसरपछि जहाजलाई त्यहाँबाट ५० किमि परको सीमावर्ती पाकिस्तानी सहर लाहोर लैजाने चालक दलको प्रस्तावमा अपहरणकारीहरुले स्वीकृति जनाएका थिए।
अमृतसरबाट उडेको अपहृत जहाज राति सवा आठ बजे लाहोर विमानस्थलमाथि पुग्यो। अपहरणपछिको सर्वाधिक संगीन क्षण अब सुरु भयो।
‘क्र्यास ल्यान्डिङ’ को सहारा
जसै जहाज पाकिस्तानी आकासमाथि पुग्यो र लाहोर विमानस्थलसँग अवतरणको अनुमति माग्यो, चालक दललाई पाकिस्तानी अधिकारीहरुले रुखो र स्पष्ट जवाफ दिए, ‘अपहृत जहाजलाई लाहोर विमानस्थलमा अवतरणको अनुमति छैन।’
अवतरण अनुमतिको प्रतीक्षामा जहाज केही समय लाहोरको आकासमा घुमिरह्यो। पाकिस्तानी अधिकारीहरुले भने चालक दल र अपहरणकारीलाई छिटोभन्दा छिटो जहाजलाई पाकिस्तानबाहिर लैजान निर्देशन दिइरहे।
चालक दलले जहाजलाई लाहोर विमानस्थलमा जबर्जस्ती अवतरण गर्न किन सक्दैनथे भने अवतरण गर्न नसकून् भनेर एयर ट्राफिक कन्ट्रोलरहरुले विमानस्थल र धावनमार्गका सम्पूर्ण बत्ती निभाइदिएका थिए, विमानस्थल अन्धकार थियो।
एकातिर जहाजमा सीमित इन्धन, अर्काेतिर लाहोर विमानस्थलमा जहाजलाई अवतरण गर्न नदिने कठोर अडान! अपहृत जहाजका पाइलट क्याप्टेन देवी शरण, को–पाइलट रवीन्दर कुमार र फ्लाइट इन्जिनियर ए.के. जगिया अप्ठेरोमा परे।
चालकदलले अवतरणका लागि उज्यालो ठाउँको खोजी गर्यो। आकासबाट विमानस्थलसँगै एउटा लामो उज्यालो ठाउँ देखियो, उज्यालो र फराकिलो ठाउँ विमानस्थलको अर्काे भाग हुन सक्थ्यो। अवतरणका लागि जहाज त्यतै झर्न थाल्यो।
अकस्मात आफ्नो खुट्टाले सर्प टेकेको देखियो भने मानिस जसरी अत्तालिएर उफ्रिन्छ, फराकिलो–उज्यालो भूभागमा अवतरणका लागि ओलिएको जहाजले पनि सर्प टेकेको मानिसझैँ आकासतिर उफ्रिएर उचाइ लियो।
‘तर, जब हाम्रो जहाज उज्यालो भागतर्फ ओर्लंदै थियो, त्यसपछि पो हामीले थाहा पायौँ– त्यो त सडकमार्ग रहेछ,’ फ्लाइट इन्जिनियर जागिया (हाल स्वर्गीय) ले त्यो घटनाको रहस्य केही वर्षपछि खोल्दै भनेका थिए, ‘विमानस्थल ठानिएको ठाउँ सडकमार्ग हो भन्ने थाहा पाएपछि पाइलटले विलम्ब नगरी जहाजलाई उचाइमा लैजाने काम गरेर ठूलो दुर्घटनाबाट अपहृत जहाज जोगाएका थिए।’
यदि सडकमा ल्यान्डिङ हुँदो हो त जहाजमा रहेका सबैजनाको मृत्यु हुनसक्थ्यो। सडकमा यात्रा गरिरहेका सयौँ मानिसहरुले पनि ज्यान गुमाउँथे। दर्जनौँ गाडीहरु पनि ध्वस्त हुने थिए।
यसले पाकिस्तानलाई अन्तर्राष्ट्रिय रुपमा अप्ठेरोमा पर्थ्यो। राष्ट्रपति मुसर्रफको पनि अन्तर्राष्ट्रिय बदनामी हुने थियो।
तर, अवतरण अनुमतिको अभावमा आफ्नै आँखाअगाडि जहाजको ‘क्र्यास ल्यान्डिङ’ हुन लागेको जब विमानस्थल अधिकारीहरुले देखे, उनीहरुले पनि तत्काल आफ्नो अडान परिवर्तन गरे। उनीहरुले इन्धन भर्ने सर्तमा मात्र लाहोर विमानस्थलमा सीमित समयका लागि अवतरणको अनुमति दिए।
अनुमतिसँगै विमानस्थल र धावनमार्गका बत्ती बले। जहाज लाहोर विमानस्थलमा ओर्लियो।
‘विमानका चालकले इन्धन लगभग सकिएको जानकारी हामीलाई गराएका थिए,’ अपहृत भारतीय जहाजलाई आफ्नो भूमिमा दिइएको अवतरण–अनुमतिको कारण प्रष्ट पार्दै पाकिस्तानी विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता तारिक एत्लाफले भनेका थिए, ‘त्यसैले, हामीले विमान अवतरणको अनुमति दियौँ।’
‘हामी कुनै पनि किसिमको अन्तर्राष्ट्रिय आतंकवादको विरोध गर्छाैं,’ उनको थप भनाइ थियो, ‘अन्तर्राष्ट्रिय कानुन अनुसार विमानका यात्रुहरुको जीवनरक्षाका लागि विमानलाई लाहोरमा अवतरण गर्न नदिनु असम्भव भएकाले बाध्यतावश हामीले विमान अवतरणको अनुमति दिएका हौँ।’
सो अपहरणकाण्डको २३ वर्ष बित्दासम्म ‘इन्धन सकिन लागेपछि चालक दलले लाहोरमा अपहृत विमान अवतरण गर्न खोजेको हो’ भन्ने कथन प्रभावशाली रह्यो। चालक दलका भारतीय इन्जिनियर र पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताको दाबी पनि आखिर यस्तै थियो।
तर, घटनाको २४ वर्षपछि, गत अगस्टमा चालक दलका मुख्य पाइलट देवी शरणले रहस्य खोले– खासमा लाहोरमै अवतरण गर्नुपर्ने बाध्यात्मक अवस्था भने थिएन। ‘खास योजना’ अन्तर्गत त्यसरी ‘क्र्यास ल्यान्डिङ’ को प्रयास गरिएको रहस्य उनले खोले।
अपहरणको सुरुदेखि अन्त्यसम्म दुईजना अपहरणकारी ककपिटमा रहे। उनीहरुको उपस्थिति र नियन्त्रणमा पाइलट देवी शरणले विमानस्थल अधिकारीहरुसँग कुरा गर्थे। इन्धनको समस्या देखाएर लाहोरमा अवतरण गर्ने योजना उनले नै बनाएका थिए।
सायद भारतीय पक्षको चाहना र (निर्देशन पनि) भारतीय सीमा नजिकैको लाहोरमा अवतरण भइदिए मुक्तिको पहल गर्न सजिलो हुन्छ भन्ने हुँदो हो। त्यसैले, खराब सम्बन्धका बाबजुद उनले मुसर्रफलाई नै फोन गरेर लाहोरमा अवतरणको अनुमति प्रदान गर्न अनुरोध गरेका थिए।
त्यसैले, पाइलट देवी शरणले जसरी हुन्छ लाहोरमै अवतरण गर्ने योजना बनाए ताकि भारतलाई थप कदम चाल्न सजिलो होस्।
‘लाहोरमा विमान अवतरणको योजना नियोजित रुपमा बनाइएको थियो, को–पाइलटलाई समेत यो योजनाबारे जानकारी थिएन,’ पाइलट शरणले १५–२० साउन २०८० (३१ जुलाई–५ अगस्ट २०२३) मा नागरिक उड्डयन सुरक्षासम्बन्धी कार्यक्रमपछि भारतीय पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘चालक दलका अन्य सदस्यलाई यो कुरा बताउँदै सँगै रहेका दुई अपहरणकारीहरुले यो कुरा जानकारी पाउँथे। त्यसैले, मैले योजनालाई गोप्य राख्न उनीहरुलाई सबै कुरा बताइनँ।’
त्यसैले, उनी चालक दललाई इन्धन सकिन लागेकाले कुनै हालतमा लाहोरमा अवतरण गर्नैपर्ने बताउन थाले। तर पाकिस्तानले अनुमति दिएन। त्यसपछि उज्यालो देखिएको भाग विमानस्थलको अंग होइन भन्ने जानकारी हुँदाहुँदै उनले सडकको ठीक माथि जहाज लगे।
‘जब लाहोर विमानस्थलले विमान अवतरणको अनुमति दिन अस्वीकार गर्यो, मैले ‘क्र्यास ल्यान्ड (दुर्घटना हुने भए पनि गरिने अवतरण) को बहाना बनाएँ,’ उनले भनेका छन्, ‘मेरो योजना (अर्थात् ‘क्र्यास ल्यान्ड’ को बहाना) ले तत्काल काम गर्यो, उनीहरुले धावनमार्गको बत्ती बालिदिए र त्यहाँ अवतरणको अनुमति दिए।’
पाकिस्तानी पक्षले इन्धन मात्र भर्ने सर्तमा लाहोरमा अवतरणको अनुमति दिएको थियो। जहाज अवतरण हुनासाथ त्यहाँ पनि पाकिस्तानी सेनाले जहाजलाई घेरा हाल्यो।
भारतीय चालक दलभन्दा पाकिस्तानी पक्ष बढी चतुर देखियो। पाकिस्तानी पक्षले लाहोर विमानस्थलमा जहाजमा पर्याप्त मात्रामा इन्धन भरिदियो, ताकि लामो उडानका लागि जहाजलाई इन्धनको समस्या नहोस्।
यात्रुहरुका लागि खाना र औषधिको व्यवस्था पनि गरियो। अब पाकिस्तानी पक्षले जहाजलाई छिटो उड्न दबाब दिन थाल्यो। विमान उड्यो।
पाकिस्तानबाट उडेको जहाजलाई अपहरणकारीहरुले काबुल विमानस्थलतर्फ लैजान निर्देशन दिए।
अफगानिस्तानमा तालिबान सत्तामा थियो। पाकिस्तानमा जस्तै तालिबानले पनि काबुलमा अवतरणको अनुमति दिएन। काबुल विमानस्थलमा रात्रिकालीन अवतरणका लागि बत्तीको व्यवस्था नभएकाले जोरजबर्जस्ती गर्नसक्ने अवस्था थिएन।
तालिबानको अस्वीकृतिपछि जहाज मस्कट (ओमान) विमानस्थलतर्फ सोझियो। सम्भवतः त्यहाँ पनि अवतरणको अनुमति प्राप्त भएन। त्यसपछि विमान दुबईतर्फ लाग्यो।
हनिमुन मनाउन काठमाडौँ, विमानभित्र हत्या
विमान अमृतसर र लाहोरमा अवतरण हुँदासम्म अपहरणकारीहरु को हुन् र उनीहरुको उदेश्य के हो भन्ने जानकारी कसैलाई थिएन। विमान दुबई पुगेपछि मात्र अपहरणकारीहरुले आफ्नो उदेश्य जानकारी गराए।
उनीहरु भारत नियन्त्रित कस्मिर स्वतन्त्रताका लागि लडेका पृथकतावादीहरु थिए। दुबई पुगेपछि उनीहरुले विमान अपहरणको उदेश्य भारतीय जेलमा रहेका आफ्ना नेताहरुको रिहा गराउनु रहेको बताए।
उनीहरुको प्राथमिकतामा ६ वर्षदेखि भारतीय जेलमा रहेका कस्मिरका पृथकतावादी नेता मौलाना मजुद अजहर थिए।
त्यतिञ्जेलसम्म अपहरणकारीहरुले एक भारतीय यात्रुको हत्या पनि गरिसकेका थिए। हत्या गरिएका यात्रु थिए, २५ वर्षीय रुपिन कात्याल, जो १५ दिनअघि भएको विवाहपछि हनिमुन मनाउन पत्नी रचनासँगै काठमाडौँ आएका थिए।
विमान लाहोरबाट प्रस्थान गरेपछि अपहरणकारीले व्यापारिक पृष्ठभूमिका चार यात्रीलाई सिटबाट उठाएका थिए। उनीहरु क्याबिनतर्फको सिटमा लगिए। जहाजको सिटको कपडा प्रयोग गरी उनीहरुको आँखामा पट्टी बाँधिएको थियो।
यसरी लगिनेमा रुपिन पनि परे। उनकी नवविवाहित श्रीमती आफ्नै सिटमा यथावत रहिन्।
नवविवाहित जोडी, त्यो पनि हनिमुन मनाउन हिँडेको! तर, अपहरणमा परे। त्यसमाथि अपहरणकारीले नवविवाहित पत्नीसँग छुट्याएर परको सिटमा राखिदिए।
एकातिर पत्नीसँग छुट्टिनुपर्दाको पीडा! अर्काेतिर पत्नीको सुरक्षाको चिन्ता! त्यहीकारण रुपिनले आँखाको पट्टी खोल्ने प्रयास पटक–पटक गरे। एकाधपटक यो क्रम दोहोरिएपछि एकजना अपहरणकारीले उनको घाँटीमा दुई पटक चक्कु रोपिदियो।
इन्धन भर्न दुबईमा जहाज रोकिँदा २७ जनालाई यात्रुलाई अपहरणकारीहरुले रिहा गरेका थिए। ‘रिहा’ गरिनेमा रुपिन पनि थिए।
तर, दुर्भाग्य! अधिक रक्तश्राव र उपचार अभावमा उनको विमानभित्रै निधन भइसकेको थियो।
रुपिनको शरीर ब्ल्याङ्केटले बेरिएको थियो। त्यो शव उनीहरुहरुले जहाजको झ्यालबाट विमानस्थलमा फालिदिएका थिए। तर, पत्नी रचनालाई भने रुपिन बिरामी भएकाले अन्य २६ जनासँगै दुबईमा रिहा गरिएको बताइयो।
आफ्ना पति आफूबाट छुट्टिएलगत्तै विमानभित्रै मारिएका रहेछन् भन्ने कुरा रचनाले ३१ डिसेम्बर (१६ पुस २०५६) मा रिहा भएर नयाँदिल्ली पुगेपछि मात्र जानकारी पाइन्।
दुबईपछि विमानलाई अफगानिस्तानको कान्दाहार पुर्याइयो। यसपटक भने तालिबान सरकारले विमानलाई अवतरणको अनुमति प्रदान गर्यो।
विमान अपहरणको यो घटनाले संसारको ध्यान आकर्षित गरिसकेको थियो। जहाजलाई कान्दाहारमा अवतरण गरिएको भोलिपल्ट (११ पुस) मा संयुक्त राष्ट्रसंघले पाकिस्तानस्थित कार्यालयका वरिष्ठ अधिकृत एरिक डे मल नेतृत्वमा तीन सदस्यीय टोली कान्दाहार पठायो। यो टोलीलाई अपहृतहरुलाई मुक्त गर्ने जिम्मेवारी दिएको थियो।
तर कस्मिर मामिलामा तेस्रो पक्षको मध्यस्थताको विरोध गर्दै आएको भारतले राष्ट्रसंघीय प्रयासलाई रुचाएन। त्यो टोली निष्क्रिय भयो। अनिल खुराना नामका एक भारतीय यात्रीलाई अपहरणकारीले राष्ट्रसंघको जिम्मा लगाउन खोजे। उनी मधुमेहका बिरामी थिए।
तर, आफ्ना भाइ विमानमा बन्धक रहेको भन्दै उनी जान मानेनन्। कान्दाहारमै बसे।
बिमार अर्का भारतीय यात्रु सिमन बेररलाई पनि उपचारको अनुमति दिइयो। उपचारका लागि उनी कान्दाहारबाट ४० किमि परको सैनिक अस्पतालमा पुर्याइए।
तर, उनको स्वास्थ्य अवस्था सोचेजस्तो प्रतिकूल थिएन। उनी विमानमै फिर्ता ल्याइए।
जहाज कान्दाहार पुगेलगत्तै भारतले पनि वार्ता टोली कान्दाहार पठायो। वार्ता टोलीका प्रमुख सदस्य भारतीय इन्टिलिजेन्स ब्युरो (आईबी) का अतिरिक्त निर्देशक अजित डोभाल थिए। तिनै डोभाल, जो यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार छन्।
डोभालसहितको भारतीय टोलीसँगको वार्तामा अपहरणकारीहरुले तीन माग राखे। तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंहले १३ पुस (२०५६) को पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार अपहरणकारीका माग निम्न बमोजिम थिए ः
एक– मौलाना मसुद अजहरसहित ३६ कस्मिरी बन्दीको रिहाइ। दुई– कास्मिरको जेलमा रहँदा भाग्ने प्रयास गर्दा मारिएका (सन् १९९८) दाबी गरिएका पृथकतावादी नेता सज्जाज अफगानीको शव उत्खनन् र हस्तान्तरण। तीन– २० करोड डलर क्षतिपूर्ति।
भारतीय पक्षले यी माग पूरा गर्न अस्वीकार गर्यो। उपरोक्त मागमा तालिबानको समेत सहमति रहेन।
त्यसो त भारतीय पक्षको अलचिलोपनप्रति पनि तालिबान सरकार असन्तुष्ट रह्यो।
‘मृतक व्यक्तिको शव उत्खनन् र मानिसहरुलाई बन्दी बनाएर रकम फिरौतीको माग राम्रो काम होइन,’ दुई पक्षबीचको वार्तामा गतिरोध आएपछि अफगान विदेशमन्त्री वकिल अहमत मुत्तावकिलले १४ पुसमा भने, ‘अपहरणकारीहरुका दुई माग इस्लाम विरोधी छन्।’
उनले थपे, ‘भारत सरकार र अपहरणकारी दुवै पक्षले यो समस्याको समाधान चाँडै खोजून्। होइन भने हामी विमानलाई अफगानिस्तान बाहिर पठाउन बल प्रयोग गर्नेछौँ।’
१४ पुसमा झण्डै वार्ता टुटिसकेको थियो। तीन दिनको वार्ताले समाधान दिन नसकेपछि १४ पुसका दिन तालिबान लडाकूहरुले अपहृत जहाजलाई घेरा हाले।
अफगानी (तालिबान) विदेशमन्त्रीको बल प्रयोग गरेर जहाजलाई अफगानिस्तान बाहिर पठाउने घोषणा र तालिबान सैनिकको घेराबन्दीपछि अपहरणकारी र भारतीय दुवै पक्ष दबाबमा परे।
तालिबानको असन्तुष्टिपछि अपहरणकारी पक्ष २० करोड फिरौती र सज्जाज अफगानीको शवको मागबाट पछि हटिसकेको थियो।
तालिबान सरकार कठोर रुपमा प्रस्तुत भएपछि भारत पनि आफूसँग रहेका कुनै बन्दी नछाड्ने अडानबाट पछि हट्यो, उसले पनि लचकता अपनायो।
पुस १५ मा भारत र अपहरणकारीबीच सहमति जुट्यो। सहमति अनुसार अपहरणकारीहरुले विमानमा रहेका सम्पूर्णलाई मुक्त गर्ने भए। बदलामा भारतले जेलमा रहेका तीन कस्मिरी पृथकतावादीहरुलाई रिहा गर्ने भयो। तिनमा मौलाना मसुद अजहरका अलावा अहमद ओमर सइद शेख (जसले पछि पाकिस्तानमा पत्रकार डेनियल पर्लको हत्या गरे) र मुस्ताक अहमद जरगर थिए।
सहमतिको एउटा रोचक पक्ष भारतीय जेलमा रहेका यी तीन पृथकतावादीलाई भारत आफैँले कान्दाहार पुर्याएर हस्तान्तरण गर्ने थियो।
तत्कालीन विदेशमन्त्री जसवन्त सिंह अज्ञात उडानमार्फत् यी तीन व्यक्तिलाई लिएर कान्दाहार पुगेका थिए।
सम्झौताको अर्काे पक्ष अफगानिस्तानको तालिबान सरकार पनि थियो, जसले बन्दी र अपहृत साटासाटपछि अपहरणकारीहरुले चाहेको स्थानमा सुरक्षित रुपमा जाने बन्दोबस्त गरिदिनु पर्थ्यो।
जब भारत सरकारले कन्दाहार पुर्याइएका तीन बन्दी हस्तान्तरण गर्यो, अपहरणकारीहरुले तत्काल विमानमा रहेका यात्रुहरु मुक्त भएको घोषणा गरे।
अपहृत जहाज र यात्रुहरु मुक्त भएलगत्तै अपहरणकारीहरु एकजना तालिबान सैनिकका साथ अज्ञात स्थलतर्फ लागे।
खासमा ती तालिबानी सैनिकलाई अपहरणकारीहरुले ‘मानव ढाल’ बनाएका थिए, ताकि अपहृत विमान र यात्रु रिहा हुनासाथ तालिबानले आफू (अपहरणकारी) हरुमाथि कारबाही गर्न नसकोस्।
सुरक्षित गन्तव्यमा पुगेलगत्तै अपहरणकारीबाट ती तालिबान सैनिक पनि मुक्त गरिए।
नसल्टिएको हतियारको रहस्य
अपहरणलगत्तै भारतीय सञ्चारमाध्यमहरुले अपहरणको सम्पूर्ण दोष नेपालमाथि लगाउन थाले। अपहरणकर्तामध्ये एक जना नेपाली रहेको उनीहरुको आरोप थियो। सञ्चारमाध्यमहरुले मात्र होइन, भारत सरकारले समेत विमानमा रहेका नेपाली पस्मिना व्यापारी गजेन्द्रमान ताम्राकारलाई उनीहरुले अपहरणकर्ताको रुपमा चित्रित गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रबन्ध पनि अपहरणसँगै सतहमा आयो। कमजोर सुरक्षा प्रबन्धकै कारण अपहरणकारीहरु सफल भएको भारत सरकारको आरोप थियो।
अमृतसरमा पहिलो अवतरण भएपछि चालक दलले अपहरणकारीसँग एके–४७ राइफल र पिस्तोल, डाइनामाइट र हाते ग्रिनेडहरु रहेको जानकरी गराएका थिए। त्रिभुवन विमानस्थलको कमजोर सुरक्षा प्रबन्धका कारण यस्ता हतियारहरुसहित अपहरणकारीहरु विमानसम्म पुग्न सफल भएको भारतको दाबी थियो।
तर, भारतीय पक्षले दाबी गरेजस्तो अपहरणकारीहरुसँग एके–४७ राइफल र पिस्तोल, डाइनामाइट र हाते ग्रिनेडहरु रहेको पुष्टि कहिल्यै भएन।
अपहरणकारीहरुले भारतीय यात्री रुपिन कत्यालको हत्यामा चक्कु प्रयोग गरेबाट पनि उनीहरुसँग गोली हान्ने हतियार थिएनन् भन्ने नेपाली पक्षको दाबी थियो।
अपहृत विमानमा यात्रा गर्नेमा नारायणगढकी हितकुमारी श्रेष्ठ पनि थिइन्। रिहा भएर काठमाडौँ फर्केपछि श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताए अनुसार आँखामा पट्टी बाँध्ने क्रममा उनले अपहरणकारीहरुको हातमा दुई मात्र हतियार देखिन्– एउटा सानो हाते चक्कु, अर्काे खेलौनाजस्तो लाग्ने पिस्तोल।
तर, भारतीय पक्षको आरोप यस्तो थियो– ‘अपहरणकारीहरुसँग साँच्चिकै एके– ४७ राइफल र भारी मात्रामा विस्फोटक पदार्थ छन्। र नेपालकै कमजोरीका कारण अपहरणकारीहरु यस्ता सामग्रीसहित विमानमा प्रवेश गर्न सक्षम भएका हुन्।’
अति भएपछि सरकारले ११ पुसमा पत्रकार सम्मेलनमार्फत भारतीय आरोपको खण्डन गर्यो।
‘संसारमा अन्यत्र पनि विमान अपहरण भएका छन्। त्यसमध्ये कैयौँ अपहरण नक्कली हतियारका आधारमा भएको छ,’ पत्रकार सम्मेलनमा नागरिक उड्डयन तथा पर्यटनमन्त्री विजयकुमार गच्छेदारले भनेका थिए, ‘रुपिन कात्यालको हत्या कस्तो हतियारबाट भएको हो, अहिलेसम्म कतैबाट खुलेको छैन। त्यसैले अपहरणकारीहरुले एके–४७ बोकेका थिए भन्न मिल्दैन।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘सुरक्षा कमजोरी’ बारे अध्ययन गर्न सरकारले विमान अपहरणको भोलिपल्ट उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमबहादुर सिंहको अध्यक्षतामा गठित समितिमा तेजेन्द्रजंग थापा, खेमराज रेग्मी विष्णुप्रसाद पन्त सदस्य थिए। सिंह नेतृत्वको उच्चस्तरीय समितिले एक महिना लगाएर ९ माघमा प्रतिवेदन बुझायो।
‘अपहरणकारीहरुले अपहरण कार्यको लागि सुरुमा प्रयोग गरेको हतियार हेर्दा नक्कली वा सक्कली छुट्ट्याउन नसकिने पिस्तोल र बम भनिएको डल्लो भुइँकटहर जस्तो देखिने पदार्थहरु थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘तर पछि कन्दाहार पुगिसकेपछि भने सक्कली पिस्तोल र हाते बमहरु अपहरणकारीहरुको हातमा देखिएको थियो, जुन सुरुमा प्रयोग गरेको भन्दा बेग्लै किसिमका थिए।’
‘अपहृत विमानको एकजना यात्री रुपेन कात्याललाई घाँटीमा छुरा प्रहार गरिएको हुँदा हतियारमध्ये छुरा पनि रहेको देखिन्छ,’ प्रतिवेदनमा थप भनिएको छ, ‘तर पिस्तोल र हाते बम भने सुरु अपहरण हुँदा सक्कली नै थियो वा नक्कली थियो भनी स्पष्ट भन्न सकिने अवस्था छैन।’
नक्कली हुन् वा सक्कली– ती हतियार कसरी अपहरणकारीहरुले विमानसम्म पुर्याए भन्ने विषय पनि प्रतिवेदनले ६ वटा अनुमान गरेको थियो।
एक, विमानस्थलको सुरक्षा–व्यवस्थाको कमजोरीको फाइदा उठाउँदै ‘स्क्रिनिङ पोइन्ट’ वा ‘वाक थ्रु’ बाट ती सामग्री लगिएको हुनसक्थ्यो।
दुई, अपहरणकारीहरुले बिनाहातहतियार जहाजको प्रस्थानबिन्दु वा जहाजमै पुगेपछि पूर्वयोजना अनुसार तयार गरिएको दोस्रो पक्षबाट हतियार लिएका हुनसक्थे।
तीन, अपहृत विमान काठमाडौँ आउनु अगावै भारतमा नै अपहरणकारीका मतियारले उक्त विमानको निश्चित स्थानमा हतियार लुकाएर सो सूचना अपहरणकारीहरुलाई दिएका हुनसक्थे।
चार, काठमाडौँमा क्याटरिङ सेवा उपलब्ध गराउने व्यक्तिका माध्यमबाट पनि हतियारजस्ता लाग्ने सामान विमानमा पुर्याएका हुन सक्थे।
पाँच, ‘ब्यागेज होल्ड’ पछाडिबाट करिडोरसम्म जाने बाटोको प्रयोग गरी लोडर वा सरसफाइकर्मीहरुको माध्यमबाट पनि लगिएको हुनसक्थ्यो।
छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विभिन्न क्षेत्रमा आवतजावत गर्न पाउने पासवाला व्यक्तिहरुलाई पनि वाहकका रुपमा प्रयोग गरिएको हुन सक्थ्यो।
त्रासदीपूर्ण अपहरण, रोचक रिहाइ
आठ दिन लामो अनिश्चय र तनावपछि ३१ डिसेम्बर (१६ पुस) मा सम्पूर्ण यात्री र चालक दलका सदस्य मुक्त भए। मुक्त भएकामध्ये चार नेपाली यात्रीहरु सुरुमा नयाँदिल्ली आइपुगे, नयाँदिल्लीबाट काठमाडौँ।
जहाजमा रहेका आठ नेपालीहरुमा जनकलाल श्रेष्ठ र उनकी श्रीमती, सन्जय धिताल र उनकी श्रीमती सिर्जना पाठक, गजेन्द्रमान ताम्राकार, रोशनविक्रम दाहाल, नीलप्रसाद चापागाईं र हितकुमारी श्रेष्ठ थिए।
काठमाडौँ आइपुगेपछि सञ्चारकर्मीहरुमार्फत् उनीहरुले ‘सेयर’ गरेको अपहरण–कथा निकै रोचक र सनसनीपूर्ण थियो।
सिंह आयोगको प्रतिवेदनका अनुसार टिकट लिँदा अपहरणकारीहरुले ए.ए. शेख, एस.ए. काजी, जहुर इब्राहिम मिस्त्री, सइद शाहीद अख्तर र राजेश गोपाल बर्माको नाम प्रयोग गरेका थिए।
तर, अपहरणबाट मुक्त भएका नेपालीहरुका अनुसार, विमानभित्र उनीहरुले छुट्टै उपनाम राखेका थिए– डाक्टर, भरगर, शंकर, भोला र मजिद।
त्यसमध्ये शंकर र भोला उपनामका अपहरणकारीहरु क्रुर खालका थिए। उनीहरु अक्सर जहाजभित्र यात्रुहरुलाई आतंकित पारिरहन्थे। यी दुई अघि पर्नासाथ यात्रीहरु थर्कमान बन्थे।
‘भरगर’ भने दयालु प्रकृतिको थियो। ऊ अंग्रेजी पनि बोल्थ्यो। उसले ‘काठमाडौँ, नेपाल’ लेखिएको र पृष्ठभूमिमा पहाडबाट उदाउँदै गरेको सूर्य अंकित टिसर्ट लगाएको थियो।
अपहरणकारी र भारतीय प्रतिनिधिबीच कान्दाहारमा वार्ता सुरु नहुन्जेल जहाजभित्रको अवस्था निकै तनावपूर्ण थियो। बेला–बेला शंकर र भोला सबै यात्रुहरुको हत्या गरिदिने धम्की दिइरहन्थे।
तर, कान्दाहार पुगेको केही घण्टापछि जब वार्ता सुरु भयो, जहाजभित्रको वातावरण केही सहज बन्न थाल्यो। कान्दाहारको तापक्रम माइनस डिग्रीमा थियो। त्यसैले, इन्जिन चालु अवस्थामै राखेर जहाजभित्रको वातावरण तातो बनाइएको थियो।
कान्दाहार पुगेपछि जहाजको सरसफाइ पनि गरिएको थियो। लामो समय इन्जिन चालु रहेकाले तेस्रो दिन जहाजको इन्जिन एकाएक बन्द भयो। भारतीय वार्ता टोली लिएर गएको जहाजका इन्जिनियरहरुले इन्जिन परीक्षणका लागि जहाजभित्र जाने अनुमति प्राप्त गरे।
केही समय जहाजभित्र प्रवेश अनुमति पाएका भारतीय इन्जिनियर र अफगानी सरसफाइकर्मीहरुले लगत्तै जहाजभित्रको अनौठो दृश्य सार्वजनिक गरेका थिए।
उनीहरुका भनाइमा जहाजभित्रको अवस्था तनावमुक्त थियो। कतिपय यात्रुहरु अन्ताक्षरीमा व्यस्त थिए। तनावमुक्त होऊन् भनेर अपहरणकारीले अन्ताक्षरीको अनुमति दिएका थिए।
जहाजभित्र हाँसोठट्टा पनि चलिरहेको थियो। पेट मिच्ने गरी हँसाउनेमा नेपाली पस्मिना व्यापारी गजेन्द्रमान ताम्राकार थिए। ९ पुस बिहान शानेवानिको जहाज छुटेपछि उनले दुर्भाग्यवश त्यो अभागी जहाजको टिकट लिन पुगेका थिए। तर उनैलाई भारतले अपहरणकारीको बिल्ला भिराइदियो।
ताम्राकार व्यापारी मात्र थिएनन्, नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा हाँस्य टेलिसिरियलको कलाकार पनि थिए।
एक सय ३० किलोग्राम तौल भएकाले जहाजभित्र सबैका आकर्षणका पात्र थिए ताम्राकार। उनी हाँस्य कलाकार समेत रहेको थाहा पाएपछि ‘भरगर’ ले उनलाई ठट्टामार्फत् यात्रुहरुलाई मनोरञ्जन दिने जिम्मेवारी दियो।
तर, ‘बढी हल्ला गरेको’ भन्दै शंकर आएर पटक–पटक ताम्राकारलाई रोक्ने गर्थ्यो। एकपटक उनले ताम्राकारको टाउकोमा पिस्तोलले समेत हिर्काएको थियो।
तर जब ‘भरगर’ आउँथ्यो, ‘तिमीहरु किन चुप, अन्ताक्षरी खेल, रमाइलो गर’ भन्दै मनोरञ्जनका लागि उत्प्रेरित गर्थ्यो।
काठमाडौँ फर्केपछि अर्का अपहृत नेपाली रोशनविक्रम दाहालले बताएका थिए, ‘भरगर’ यति दयालु थियो कि, पूजा नाम गरेकी एक भारतीय युवतीलाई ‘तिम्रो जन्मदिन भोलि (२७ डिसेम्बर, १२ पुस) रहेछ’ भन्दै त्यसदिन उनको जन्मदिन मनाउने घोषणा गरेको थियो।
‘साँच्चिकै जहाजभित्र उनको जन्मदिन मनाइयो, अपहृत जहाजभित्र केक उपलब्ध हुने कुरा थिएन,’ दाहालले भनेका थिए, ‘यात्रीहरुले साथमा रहेका अत्तर (उपहार) सहित पूजालाई जन्मदिनको शुभकामना दिएका थियौँ।’
तनावका बीच पनि खुसी मनाइरहेका यात्रीहरुले ३१ डिसेम्बर (१६ पुस) का दिन एकछिन जीवनको आशा मारे। किनकि, वार्ता टुटेको बताउँदै अब जहाजभित्र सबैको हत्या हुने र विस्फोटमार्फत् जहाजलाई पनि ध्वस्त पार्ने चेतावनी दिए।
तर, केही समयपछि ‘भरगर’ आइपुग्यो। उसले भारतसँगको वार्ता सफल भएको सूचना दियो। ऊ ताम्राकार सामु पुग्यो।
‘यहाँ तालिबानले हामीलाई खान र बस्न दिए,’ ताम्राकारसँग उसले भन्यो, ‘उनीहरुलाई धन्यवाद दिन कस्तो शब्द प्रयोग गर्दा राम्रो होला, बताइदिनुस् न!’
वार्ता मिलिसकेको र जहाजका सबै यात्रुहरु रिहाइको क्रममा रहेको यसअघि नै उसले बताइसकेको थियो।
‘तालिबानका सबैभन्दा ठूला नेतालाई ‘सर’ भनेर चिठी लेखौँ,’ ताम्राकारले सुझाव दिए, ‘त्यसमा तपाईंहरु र हामी सबै यात्रुहरुको हस्ताक्षर होस्। यो भन्दा राम्रो धन्यवाद त अरु के होला र?’
‘भरगर’ ले राम्रो सुझाव भन्दै स्वीकृति दियो। तर, अर्काे अपहरणकारीले अर्कै उपाय सुझायो।
‘ठूलो आकारको खेलौना जहाज किन्ने रकम जम्मा गरौँ। त्यो जहाजमा अपहरण मिति र मुक्त भएको मिति दुवै होस्,’ त्यसले भन्यो, ‘त्यही खेलौना जहाज उपहारको रुपमा पठाउने व्यवस्था गरौँ।’
यात्रुहरुका लागि ज्यानभन्दा ठूलो कुरा केही थिएन। उनीहरु मुक्तिका लागि साथमा रहेका सबै चिज त्याग्न तयार थिए।
खेलौना जहाज किन्न तुरुन्त पैसा संकलन सुरु भयो। गणना गर्दा ७० हजार भारतीय रुपियाँ पुग्यो।
उता, भारतीय पक्षले तीन कस्मिरी पृथकतावादीहरुलाई अपहरणकारीको जिम्मा लगाइसकेको थियो। यता यात्रुहरुलाई विदाई गर्न तालिबानका स्थानीय नेता आए।
कडा स्वभावको त्यो अपहरणकारीले ७० हजार रकम तिनै स्थानीय नेतालाई सुम्पियो। त्यो रकमले खेलौना जहाज किनेर तालिबानका सर्वाेच्च नेतालाई दिन आदेश दियो।
‘यो रकमबाट सर्वाेच्च नेताले जहाज उपहार पाउँछन् कि पाउन्नन्, हामी जहाँ गए पनि निगरानी गरिरहेका हुनेछौँ,’ उसले चेतावनीको भाषा प्रयोग गर्यो, ‘यदि दिइएको रहेनछ भने त्यसको परिणाम ठीक हुनेछैन।’
यति भन्दै अपहरणकारीहरु ‘मानव ढाल’ बनाइएका तालिबानी सैनिकका साथ अलप भए। उनीहरु जहाजबाट निस्केसँगै विमानका सम्पूर्ण यात्रुहरुले मुक्ति पाए।
त्यो अपहरणको घटना बीसौँ शताब्दीको अन्तिम क्रिसमसको पूर्वसन्ध्यामा भएको थियो। त्यसको अन्त्य २१ औँ शताब्दीको पूर्वसन्ध्या अर्थात् ३१ डिसेम्बर १९९९ का दिन तालिबान नियन्त्रित कान्दाहारमा भयो।
Shares
प्रतिक्रिया