दोस्रोपटक सगरमाथा शिखर चुम्ने उद्देश्य बोकेर पूर्णिमा श्रेष्ठ ७ अप्रिलमा आधारशिविरतर्फ लागेकी थिइन्। पहिलोपटक सन् २०१८ मा सगरमाथा शिखर चुमेकी उनी आठ हजार मिटरका अरु थुप्रै हिमाल चढिसकेपछि पुनः सगरमाथा फर्केकी थिइन्।
तर, सोमबार काठमाडौँ ओर्लिंदा उनको नाममा दोस्रो होइन, चौथो पटक सगरमाथाको सफल आरोहण गरेको अभिलेख बनिसकेको थियो। त्यति मात्र कहाँ हो र! एकै सिजनमा तीन पटक सगरमाथा आरोहणको कीर्तिमान समेत उनले बनाइसकेकी थिइन्।
मे १२, मे १९ र मे २५ मा गरी १३ दिनमा तीन पटक विश्वको सर्वोच्च शिखर पुगेर उनले एकै सिजनमा तीन पटक सगरमाथाको आरोहण कीर्तिमान बनाएकी हुन्।
‘जाने बेलामा त दोस्रो पटककै लागि गएकी हुँ, तर फर्किंदा चौथो पटक भन्न पाएँ,’ उनले नेपालखबरसँग भनिन्।
यो सिजन पहिलो पटक चुचुरोमा पुग्दा उनलाई निकै गाह्रो भएको थियो। उनलाई लाग्यो, दोहोर्याएर चढ्न सकिन्न होला। तर, उनले प्रयास भने छोडिनन्।
‘स्वास्थ्य र मौसमले साथ दियो अनि एकै सिजनमा तीन पटक सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएँ,’ पूर्णिमाले सुनाइन्।
भिडिओ
मनास्लुबाट सुरु भएको आरोहण शृंखला
गोरखा आरुघाट १० की पूर्णिमाले २६ सेप्टेम्बर, सन् २०१७ मा पहिलोपटक आफ्नै गृहजिल्ला गोरखाको मनास्लु हिमाल चढिन्। त्यहीँबाट सुरु भयो उनको हिमालको यात्रा। त्यसपछि सन् २०१८ को मे १९ मा उनले पहिलोपटक सगरमाथा चढिन्। त्यही वर्षको नोेभेम्बरमा उनले आमादब्लमको यात्रा तय गरिन्।
सन् २०२० मा आरोहणमा कोरोना महामारी बाधक बनिदियो। पूर्णिमाले आफ्ना योजनाहरू केही पछि सारिन्। सन् २०२१ को अप्रिल १६ मा अन्नपूर्ण प्रथमको यात्रा तय भयो। पूर्णिमा भन्छिन्, ‘अन्नपूर्णमा पनि हामी ६ जना नेपाली महिला पहिलोपटक चुचुरोमा पुगेका थियौँ।’
त्यसपछि पूर्णिमाको यात्रा धौलागिरीतिर सोझियो। पहिलोपटक सफल हुन नसकेपछि उनले दोस्रो प्रयासमा, सन् २०२१ को अक्टोबर १ मा धौलागिरी हिमाल चढिन्। सन् २०२२ को मे ५ मा पूर्णिमाले कञ्चनजंघा हिमाल चढिन्। त्यही महिना (मे १६ मा) ल्होत्से र मे २६ मा मकालु हिमाल चढिन्। सन् २०२२ को मे मा उनी एकै महिनामा तीनवटा हिमाल चढ्न सफल भइन्।
विश्वका आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी श्रेष्ठले गत वर्षको साउन (२६ जुलाई, २०२३) मा पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट के–टु’ को सफल आरोहण गरिन्। २०२३ को सेप्टेम्बरमा पूर्णिमाले बिनाअक्सिजन मनास्लु हिमाल चढिन्।
आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल आरोहण गरिसकेकी पूर्णिमालाई हामीले सोध्यौँ, ‘पटकपटक हिमाल चढिरहन के कुराले प्रोत्साहित गर्छ?’
लामो श्वास फेरेर पूर्णिमाले जवाफ दिइन्– सफलता!
६ वर्षअघि सगरमाथा चुचुरोमा पुगिरहँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘पहिलोपटक सन् २०१८ मा जाँदा म एकदमै फ्रेस थिएँ। मैले त्यतिधेरै हिमाल चिनेको थिइनँ। मैले सगरमाथालाई नै चिनेको थिइनँ। के थियो भने, एउटा सपना हो जसरी पनि म त्यहाँ पुग्नुपर्छ भन्ने थियो। त्यतिबेला एकदमै धेरै गाह्रो भएको थियो। धेरै दुःख महसुस गरेको थिएँ। त्यसको तुलनामा यो पटक केही सहज जस्तो भयो, किनकि अहिले जाँदा म आठ हजार मिटरभन्दा अग्लो आठवटा हिमाल चढिसकेर गएको थिएँ।’
पक्कै पनि हिमाल चढ्नु निकै कठिन काम हो। तैपनि उनी किन हिमाल चढिरहन्छिन् त?
‘सजिलो भएर चढेको होइन। हिमाल चढ्न साँच्चै नै गाह्रो छ। चढ्नेलाई थाहा हुन्छ,’ उनी भन्छिन्, ‘गाह्रो काम भएकाले नै झन् आफूलाई चुनौती दिन मनपर्ने भएकोले चढेको हुँ। तर चढिरहँदा म किन आएँ हुँला भन्ने चाहिँ लाग्छ।’
हरेकपटक हिमाल चढिरहँदा र चुचुरोमा पुगेपछि पूर्णिमाको मनमा यस्तो दुःखको काम किन गरेको होला भन्ने भावना आउँछ। तर, जब हिमालको चुचुरोमा पाइला राखेर सकुशल फर्किन्छिन्, तब उनमा फेरि अर्को हिमाल चढ्ने साहस थपिन्छ।
पूर्णिमा भन्छिन्, ‘सफलताले मान्छेको आत्मविश्वास बढाउने रहेछ। हरेक पटक जब सफलतापूर्वक हिमाल चढेर फर्किन्छु अनि ए मैले सक्ने रहेछु भन्ने लाग्छ र फेरि अर्को हिमाल चढ्ने उत्साह आउँछ।’
हिमाली जिल्ला गोरखामा हुर्केकी पूर्णिमाले हिमाल चढ्ने सपना सानैदेखि देखेकी भने होइनन्। २०१७ मा पहिलोपटक हिमाल चढेकी पूर्णिमा भन्छिन्, ‘त्यसको एक वर्षअघि २०१६ सम्म पनि हिमाल चढ्छु भन्ने कल्पना गरेको थिइनँ।’
पूर्णिमालाई सानैदेखि आफू निडर र साहसी छु भन्ने चाहिँ लाग्थ्यो। उनी भन्छिन्, ‘तर त्यो उर्जा हिमालमा खर्च गर्छु भन्ने लागेको थिएन।’
पूर्णिमा पेसाले फोटो पत्रकार हुन्। पत्रकारिता गरेको पाँच वर्षजति भएको थियो। यसैक्रममा उनले एकदिन थाहा पाइन्, नेपालमा हिमाल बुझ्न, पढ्न, हिमाल छुन र हिमाल चढ्न थुप्रै विदेशीहरू आउने रहेछन्। उनी पहिलोपटक एभरेस्ट म्याराथनमा सहभागी भएकी थिइन्। उनको त्यो पहिलो ट्रेक थियो।
पूर्णिमा भन्छिन्, ‘त्यतिबेलासम्म मैले सगरमाथा पनि चिनेको थिइनँ। हिमालहरूलाई कहिल्यै नजिकबाट देखेको थिइनँ। त्यहाँ गइसकेपछि हिमाल के हो, सगरमाथा के हो भन्ने कुराहरू नजिकबाट बुझ्न पाएँ।’
‘कत्ति धेरै विदेशीहरू हाम्रो देशको हिमालहरू चिन्न, हेर्नलाई, हिमालको बारेमा बुझ्न, हिमाल छुन, चढ्न आएका छन्। म चाहिँ यहीँको मान्छे भएर पनि हिमालको बारेमा केही थाहा छैन, म पछि परेँ कि क्या हो भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘त्यसपछि मैले हिमालको महत्व बुझेँ। म पनि हिमाल चढ्न सक्छुहोला भन्ने भयो। हिमाल चढ्न पनि सक्छु अनि हिमालको फोटो खिच्छु पनि भन्ने लागेपछि यसमा रुचि बढ्दै गयो।’
उनी हिमाललाई एउटा सपनाको रुपमा लिन्छिन्। जसले मान्छेलाई मेहनत गर्न सिकाउँछ।
‘हरेक पटक जब म हिमालको कल्पना गर्छु, जहिले पनि मलाई उर्जा थपिन्छ। मैले गर्न सक्छु भन्ने महसुस हुन्छ। त्यसकारण म हिमाल मेरो सपना हो। सपना छ र सधैँ रहिरहोस् र मैले यो सपना पूरा गर्न सकिरहूँ।’
हिमालको वास्तविक सुन्दरता एउटा आरोहीले महसुस गर्नसक्ने उनको ठम्याइ छ।
‘हिमाल एकदमै सुन्दर! अत्ति नै राम्रो दृश्य! रमणीय! प्रकृतिको त्यो सुन्दरता फिल गर्न, मस्तिष्कमा आउन वा कल्पना गर्नलाई पनि हेर्नुपर्यो नि, देख्नुपर्यो नि। त्यो कुराचाहिँ एउटा आरोहीले देख्छ,’ पूर्णिमा भन्छिन्, ‘त्यसले एकदमै उर्जा दिन्छ। म यसकै लागि, यही हेर्नकै लागि आएको हुँ भन्ने हुन्छ। यही नै स्वर्ग हो जस्तो लाग्छ। म यसकै लागि यति तड्पेर आएको हुँ जस्तो हुन्छ।’
सँगै मनमा अर्को कुरा पनि लाग्छ, ‘त्यो भनेको मृत्यु हो। म मरेँ भनेँ भन्ने लाग्छ। त्यो कुराले डर लाग्छ।’
हिमालमा हिउँ पग्लिँदैछ। सेता हिमालहरू हिउँ पग्लेर बिस्तारै कालो पहाडजस्तै बन्दैछन्। जलवायु परिवर्तनले सबैभन्दा धेरै हिमाली भेगमै असर गरेको छ जस्तो लाग्छ पूर्णिमालाई। यो कुराले उनलाई एकदमै चिन्तित बनाउँछ।
‘हिमाल भनेको हाम्रो चिनारी हो। सम्पत्ति हो। प्रकृतिले दिएको यो उपहार, यो सौन्दर्य हामीले जोगाउन सक्नुपर्छ। तर यो मुद्दा एउटा व्यक्तिले मात्रै उठाएर पुग्दैन। राष्ट्रको एजेन्डा बन्नुपर्छ। आवश्यक नीति बनाउनु पर्छ। सिङ्गो विश्वको मुद्दा बन्नुपर्छ यो विषय। हाम्रा हिमालहरू पग्लिँदैछन्, यसमा हामीले संसारलाई नै झक्झक्याउनुपर्छ,’ उनी भन्छिन्।
हिमाल चढ्न जाँदा आराम, खर्च र सुरक्षाको जोखिम मोलेर जानुपर्ने उनको भनाइ छ।
‘तर यसको जति आनन्द अरू केही कुरामा छैन जस्तो लाग्छ मलाई। हरेक पाइलामा म मर्छु कि भन्दै गर्नुपर्ने काम अरू के हुन्छ र? सफलताको आशासँगै हरेक पाइलामा मृत्युको भय बोकेर आरोहीहरू हिँडिरहेका हुन्छन्,’ उनी भन्छिन्।
उसोभए हिमाल र पूर्णिमाको सम्बन्ध के हो? उनको जवाफ छ, ‘मलाई हिमालले स्वीकार गरेको जस्तो लाग्छ। मलाई हिमालले नबोलाएको भए, म सफल नभएको भए, यी यात्राहरू तय हुने थिएनन्। हिमालले हरकोहीलाई सायदै यसरी स्वीकार गर्छ। यो मानेमा म आफूलाई भाग्यमानी ठान्छु। मलाई हिमालले स्वीकार गरेको छ।’
छोरीले विश्व कीर्तिमान कायम गर्दा निकै खुसी लागेको छ : बुवा चन्द्रबहादुर
छोरीले एकै सिजनमा तीन पटक सगरमाथाको सफल आरोहण गरेर फर्केपछि बुवा चन्द्रबहादुर र आमा गंगा श्रेष्ठ पूर्णिमालाई भेट्न काठमाडौँ आइपुगे। यसपटक आमा बुवाले विमानस्थलमै स्वागत गर्न भ्याएनन्। सामान्यतया हरेक पटक पूर्णिमा हिमालको यात्रामा निस्कँदा र फर्कंदा भ्याएसम्म बुवाआमा विदाइ र स्वागतका लागि विमानस्थलसम्म पुग्छन्।
बुवा चन्द्रबहादुर भन्छन्, ‘खासमा हिमाल चढेर के हुन्छ भनेर मलाई त्यति धेरै जानकारी त छैन। तर छोरीले हिमाल चढेर नाम कमाएकी छिन् भन्ने कुराले खुसी लाग्छ।’
गाउँ छिमेकमा मानिसहरू चन्द्रबहादुरलाई सुनाउँछन्, ‘छोरीले धेरै राम्रो गरेकी छन्। निकै साहसी काम गरेकी छन्। राम्रो नाम कमाएकी छन्। हामी सबै खुसी छौँ।’ यो सुनेपछि चन्द्रबहादुरलाई झनै खुसी लाग्छ।
हरेक पटक छोरी हिमालको यात्रामा निस्केपछि चन्द्रबहादुर चिन्तामा डुब्छन्। उनी भन्छन्, ‘त्यस्तो कठिक यात्रा कसरी पूरा गर्लिन्, के गर्लिन्, के होला, छोरी एउटा मात्रै छिन्, भन्ने पीर मनमा पर्छ।’
चन्द्रबहादुरले घर छेउबाटै हिमाल देख्छन्। त्यस्तै हिमालमा छोरी गइरहेकी छन् भन्ने कुराले थोरै खुसी र धेरै चिन्ता बढाउँछ। झरी बादल अनि चर्को घाममा कहाँ बसे होलान्, के खाए होलान्, हावाहुरी चल्दा कसरी छेके होलान्, जाडो भयो होला, सुर्ताले सताउँछ उनलाई। यी अनेक चिन्ता र सुर्ताका बाबजुद चन्द्रबहादुरले छोरीलाई हिमाल नचढ कहिल्यै भनेनन्।
उनी भन्छन्, ‘छोरीको सपना छ, हामीले नजाऊ भनेर कसरी भन्नु!’
छोरी सकुशल नफर्केसम्म निद्रा लाग्दैन : आमा गंगा श्रेष्ठ
जब छोरी पूर्णिमा हिमालको यात्रामा निस्किन्छिन्, आमा गंगा श्रेष्ठको निद्रा हराउँछ। आँसु रोक्न खोज्छिन्, थामिँदैन।
गंगा भन्छिन्, ‘हिमालको चुचुरोमा पुग्दा मात्रै पनि त्यति हर्ष लाग्दैन। जबसम्म बेसक्याम्प आएर सकुशल फर्किन्नन्।’
उनी अगाडि थप्छिन्, ‘माथि पुग्यो भनेर फोटो देखाउँदाखेरी अँधेरो मुख लगाको हुन्छ, उसको त्यो फोटो हेर्नै सक्दैनौँ हामी। पुगेको त्यस्तो फोटो देखेपछि बररर आँसु खस्छ। कोहीसँग बोल्न मन लाग्दैन। केही गर्न मन लाग्दैन। एक्लै बसिरहौँ जस्तो हुन्छ। त्यस्तो चिसोमा पुग्न त पुगेछ, कसरी फर्किने होला भन्ने लाग्छ।’
चिन्तित आमाबुवालाई पूर्णिमा सम्झाउँछिन्, ‘मेहनत गरेर पैसा कमाउने त धेरै छन्। तर यसरी नाम कमाउने थोरै हुन्छन्। त्यही काम गर्दैछु।’
हरेक पटक हिमाल चढेर फर्केपछि पूर्णिमालाई साथीभाइ र आफन्तको एउटै प्रश्न हुन्छ, अब पुगेन? अझै कति जाने हिमाल चढ्न?
जवाफमा पूर्णिमा मुस्कुराउँछिन् मात्रै।
आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गर्ने अभियानमा रहेकी पूर्णिमाले त्यस्ता आठवटा हिमाल चढिसकिन्। अब बाँकी हिमालको यात्रा विस्तारै तय गर्दैछिन्। उनले भनिन्, ‘तत्कालै त योजना छैन। तर, विस्तारै बाँकी हिमालहरू पनि चढ्ने योजना छ।’
Shares
प्रतिक्रिया