अप्रिलको एक आइतबार। चर्को गर्मी छ। किसानहरूको एउटा समूह भारतको महाराष्ट्र राज्यस्थित यवतमाल जिल्लाको रावेरी गाउँमा चोकनजिकै बेन्चमा बसेको छ।
उनीहरूमध्ये ३१ वर्षीय भुषण उंडे फोन निकालेर इन्स्टाग्राममा मिम खोजिरहेका छन्। भेट्टाएपछि उनी वरिपरिका साथीहरूलाई देखाउँछन्। उनी स्थानीय सरकारी अस्पतालमा कम्प्युटर अपरेटरका रुपमा काम गर्छन्।
मिममा एक जना मान्छे छन्, उनीहरूकै उमेरको। जो उंडेजस्तै विवाहका लागि बेहुली नपाएर दिक्दार छन्। त्यसैले ती व्यक्ति बेहुलाको पहिरन लगाउँछन् र आफ्नै गलामा वरमाला पहिर्याउँछन्। अन्तिममा उनी भन्छन्, ‘बेहुली नभेटे आफैँसँग बिहे गर।’
समूहमा हाँसो चल्छ। तर, हाँसो धेरैबेर टिक्दैन। यो मजाक उनीहरूलाई मुटुमै बिझाउँछ।
‘सत्य यही हो,’ उंडे भन्छन्, ‘अब त हामीले पनि यसै गर्ने होला।’
भर्खरै भारतमा सम्पन्न विश्वको सबैभन्दा ठूलो चुनावमा करोडौँ भारतीयहरूले मतदान गरिरहँदा महँगी र बेरोजगारी मुख्य मुद्दा देखिएको थियो। तर, वार्षिक हजारौँ किसानले आत्महत्या गर्ने महाराष्ट्रको विदर्भ क्षेत्रमा नयाँ संकट देखा पर्दैछः विवाहको संकट। जसका कारण जलवायु परिवर्तन र सरकारी नीतिका कारण आर्थिक संकटमा परेका किसान अझ पीडित भएका छन्।
तीन चौथाइ श्रम शक्ति पुरुषले ओगट्ने परम्परागत समाजमा परिवारका लागि रोजीरोटी जुटाउने जिम्मा लोग्नेमान्छेलाई छ। त्यस्तो समाजमा यस्तो आर्थिक संकट आइपरेपछि थुप्रै युवकहरू आफूसँग विवाह गर्न कुनै पनि महिलालाई नपाउने अवस्थामा पुगेका छन्।
उनीहरू आर्थिक रुपले स्थिर भविष्य बनाउन सकिरहेका छैनन्। त्यसको कारण सरकारले तोक्ने अन्नको न्यूनतम समर्थन मूल्य भएको उनीहरू बताउँछन्। त्यसका अलावा रोजगारीको विकल्प नहुनु र जलवायु परिवर्तनका कारण बाली बिग्रिँदा ऋण बढ्नु रहेको उनीहरूको भनाइ छ।
तर, यो संकट सत्तारुढ भाजपा र प्रमुख विपक्षी कंग्रेस दुवैको राजनीतिक नाराबाट गायब छ।
‘म भाग्य अजमाइरहेको छु’
यो समस्यासँग जुध्ने तरिका उनीहरूको अलगअलग छ।
महिलाहरूबाट अस्वीकृत भएपछि पुरुष किसानहरू आफूले तत्काल बिहे गर्न नचाहेको भन्दै अनेक बहाना सुनाउने गर्छन्। कोही राम्रो घर बनाउन समय चाहिएको बताउँछन्, कोही राम्रो जागिर खोजिरहेको सुनाउँछन्। कोही त उमेर पनि ढाँट्छन्।
अरु चाहिँ विवाहको सम्भावना बलियो बनाउन सम्पत्ति कमाउने कोसिसमा हुन्छन्। तर, उनीहरूको कोसिस प्रायः असफल हुन्छ।
३१ वर्षीय प्रवीण पवारले अर्थशास्त्रमा स्नातकोत्तर गरे। महाराष्ट्रको दभडी गाउँका उनले गतिलो काम नभेट्टाएपछि कम तलबमा जिन्स प्यान्ट सिलाउने काम थाले।
सरकारी जागिरका लागि उनी प्रतिस्पर्धा गर्न थाले। वर्षौं कोसिस गर्दा पनि सफल भएनन्। त्यसपछि जाँच दिन छाडेर उनी अर्को जागिरको खोजीमा लागे। र पनि राम्रो तलब आउने काम फेला पार्न सकेनन्।
पाँच वर्षपछि अहिले पवार हतास छन्। जागिर र बेहुलीको खोजी कहिल्यै टुंगिएलाजस्तो लाग्दैन उनलाई।
‘म अहिले खेतीमै फर्केको छु। तर, देखेको हरेक विज्ञापनमा म भाग्य अजमाउँछु,’ पवार भन्छन्, ‘भएन भने खेतीकिसानी नै गरिरहन्छु। अरु त के नै गर्नु र!’
एक मात्र उपाय
विदर्भ क्षेत्रका गाउँहरूमा ३० नाघेका अविवाहित किसानहरू धेरै छन्। जबकि भारतमा पुरुषहरूले विवाह गर्ने मध्यम उमेर २६ हो।
रावेरी गाउँमा उंडेसँगै बसिरहेका आशिष जाधव ३६ वर्ष पुगे। उनले बेहुली खोज्न थालेको पाँच वर्ष पुग्यो। आफ्ना साथीहरूको हाल पनि उस्तै रहेको उनी बताउँछन्।
‘कलेजमा मेरो ब्याचका ३० प्रतिशत केटाले मात्र बिहेका लागि बेहुली भेट्टाए,’ उनी हाँस्दै भन्छन्, ‘बाँकी हामी यसै बरालिइरहेका छौँ। बेहुलीको परिवारले जागिर भएको केटो खोज्छ, वा किसान नै भए पनि सिँचाइ हुने ३० बिघा जमिन भएको खोज्छन्। मसँग दुवै छैन।’
केटी हेर्न तिनको घर जाँदा जाधव आफ्नो उमेर ३६ होइन, ३० वर्ष बताउँछन्।
‘यसबाहेक कुनै उपाय छैन,’ उंडे भन्छन्, ‘महाराष्ट्रको यो गाउँमा ३६ वर्षको कुनै पनि मान्छेले केटी भेट्टाउँदैन।’
उंडे र जाधवजस्ता किसानको भनाइसँग नागरिक समाजका अभियन्ताहरू सहमत छन्। तर, बेहुलीको परिवारले राख्ने यस्ता ‘माग’ को पछाडि उचित तर्क रहेको उनीहरूको भनाइ छ।
खासगरी दुइटा कारणले यस्ता माग राखिएको अभियन्ता आरती बैस बताउँछिन्ः सुरक्षित र सुनिश्चित भविष्यको आवश्यकता र बढ्दो आकांक्षा।
कृषि संकटका कारण दुई दशकयता यस क्षेत्रका दसौँ हजार किसानले आत्महत्या गरिसकेका छन्। कृषिमा निर्भर परिवारमा आउने संकटबारे छोरी भएका परिवार सचेत छन् र ज्वाइँ रोज्न उनीहरू होसियारी अपनाउँछन्।
‘आजभोलि बेहुलीको परिवारको ध्यान धेरैजसो धनसम्पत्तिमा देखिन थालेको छ। उनीहरू सरकारी जागिरे खोज्छन्,’ बैस भन्छिन्, ‘निजी क्षेत्रको जागिर छ भने त्यस्तो केटाको जमिन पनि हेरिन्छ। ताकि जागिर जाँदा अलपत्र नपरुन्।’
‘नतिजा, महिला र पुरुष दुवै विवाह गर्न सक्दैनन्, प्रायः ३५ नाघिसक्दा पनि,’ उनी भन्छिन्।
छिमेकी जिल्ला वर्धकी २८ वर्षीया रेखा गायकवाड ती महिलाहरूमा पर्छिन्, जो बेहुला भेट्टाउन सकिरहेका छैनन्। ‘केटीहरूमा शैक्षिक योग्यता बढिरहेको छ। त्यसैले उनीहरू गुणस्तरीय जीवन चाहन्छन्,’ उनी भन्छिन्।
‘ग्रामीण क्षेत्रका धेरैजसो केटीहरूले आफ्नै परिवारले खेतीबाट जीविका चलाउन कठिन भएको देखेका छन्। त्यसैले उनीहरूसँग किसानसँग बिहे गर्न चाहँदैनन्। जुन परिवारले राम्रो जीवनयापन गर्न सक्छ, त्यस्तो परिवारमा विवाह गर्न चाहन्छन् उनीहरू,’ उनी थप्छिन्।
मरेको छैन आशा
तैपनि उनीहरूले विवाहको आशा मारेका छैनन्। बायोलोजीमा स्नातक गरेका उंडेले जागिर खोजे। तर, आफ्नो गाउँ रावेरीमा जागिर पाएनन्। उनी ३ किलोमिटर नजिकै रहेको रालेगाउँ गए। त्यहाँ उनले सरकारी अस्पतालमा ‘अफिस अप्रेसन एक्जिकेटिव’ को जागिर पाए। जहाँ उनी मासिक ९ हजार भारु तलब थाप्छन्।
त्यसपछि नातेदार र छिमेकीहरूले उनलाई नयाँ घर बनाउन भने। ताकि बेहुली भेट्टाउन सजिलो होस्। परिवारको खर्च मुस्किलले धानिने तलबले घर बनाउनका लागि उनकी आमाले खेतमा काम गर्नुपर्यो। त्यतिले पनि नपुगेपछि उंडेले जमिन बेचे।
घर त तयार भयो। तर, आफूसँग भएको सबैथोक खर्च भइसकेकाले उनको परिवारसँग बिहेका लागि पैसा बचेन।
हरेक वर्ष उंडे आशा गर्छन्, यसपालि त फसल राम्रो होला। समस्या समाधान होला। र, हरेक वर्ष फसल बेचेपछि उनी निराश हुँदै घर फर्किन्छन्।
‘केही वर्षयता सालैपिच्छे या त जोडले पानी पर्छ या असिना। त्यही भएर बाली बिग्रिरहेको छ,’ उनी भन्छन्।
बाली सप्रेको साल भाउ घट्न पुग्छ। गत साल उंडेले कपास प्रतिक्विन्टल ६ हजार ५ सय भारुमा बेच्नुपर्यो। जबकि अघिल्लो साल १० हजारमा बेचेका थिए।
अहिलेलाई बिहेको आशा थाती राखेर खेती सपार्न लागेका छन् उनी। ‘एक वर्षलाई बाली सप्रियोस् र भाउ पनि राम्रो पाइयोस्, मलाई चाहिएको यत्ति हो,’ उंडे भन्छन्।
श्रीमती कसरी पाल्ने?
तर, दभडी गाउँका ३१ वर्षीय ज्ञानेश्वर राठौर भने खेतीमा फर्किन चाहँदैनन्।
उनका बुवा प्रकाश राठौरले त्यही गल्ती गरेका थिए। वर्षौंसम्म बाली बिग्रेपछि उनको ऋण बढ्दै गयो। सहन नसकेपछि २०१३ को एक दिन उनी खेतबाट घर फर्किए, विष पिए र ज्यान दिए। उनी ४५ वर्षका थिए।
त्यसपछि ज्ञानेश्वरले आफूलाई खेतीबाट पर राख्ने कसम खाए।
‘म आफूलाई शिक्षित तुल्याउन चाहन्थेँ, ताकि खेतीमा भर पर्नु नपरोस्,’ उनले सुनाए। आफ्नो कसम पूरा गर्दै उनले स्नातकोत्तर गरे। शिक्षा विषयमा स्नातक पनि गरे।
जागिर खोज्दा ४ हजार तलब भएको कम्प्युटर अपरेटर, १५ हजार तलब भएको खुद्रा बिक्रेताबाट अर्डर संकलन गर्नेबाहेक राम्रो काम पाएनन्। त्यसपछि सरकारी जागिर खोज्न थाले।
शिक्षक, चिकित्सा सहयोगी, कर सहयोगी, क्लर्क, कर, निरीक्षकजस्ता हरेक पदमा आवेदन दिए।
‘रिक्त रहेका हरेक पदमा मैले आवेदन दिएँ। यस्तो गर्न थालेको ६ वर्ष भयो। अहिलेसम्म एउटा पनि जागिर पाएको छैन। अनेक विभागमा म सर्टलिस्टमा परेको छु। तर, नियुक्तिको प्रक्रियामा पुग्न वर्षौं लाग्छ,’ उनी भन्छन्।
जसका कारण बन्जारा समुदायका ज्ञानेश्वर आफ्नो बिहेका लागि धेरै ढिला भइसकेको बताउँछन्।
‘म ३१ पुगेँ र अझै अविवाहित छु। हाम्रो समुदायमा यो त कसैले नसुनेको कुरा हो,’ उनी भन्छन्।
ज्ञानेश्वर अझै विवाह गर्न चाहन्छन्। तर, जागिर फेला नपरुञ्जेल त्यसको सम्भावना देख्दैनन्।
भन्छन्, ‘म एक रुपियाँ पनि कमाउँदिनँ भने मैले श्रीमती कसरी पाल्ने?’
(अल जजिराबाट)
Shares
प्रतिक्रिया