गैरचिनियाँ हङकङवासीलाई मुख्यभूमिमा बहुप्रवेश यात्रा अनुमति : यस्ता छन् प्रक्रियाका ७ बुँदा

५ वर्षे अनुमतिको आवेदन भोलिदेखि खुला
गैरचिनियाँ हङकङवासीलाई मुख्यभूमिमा बहुप्रवेश यात्रा अनुमति : यस्ता छन् प्रक्रियाका ७ बुँदा

चाइना ट्राभल सर्भिस (हङकङ लि.)को मङककस्थित प्रवेश अनुमति सेवा केन्द्रमा यात्रु (एससीएमपी)


नेपालखबर
असार २५, २०८१ मंगलबार १५:४९, हङकङ

विदेशी राहदानी भएका हङकङका स्थायी बासिन्दाले मुख्यभूमि प्रवेशको ५ वर्षे बहुप्रवेश यात्रा अनुमतिका लागि भोलि (बुधबार, १० जुलाई)देखि आवेदन दिन सक्नेछन्।

राष्ट्रिय अध्यागमन प्रशासनको १ जुलाईको घोषणाअनुसार एक पटकको भ्रमणमा ९० दिनभन्दा बढी बस्न नपाउने गरी ५ वर्षसम्मको बहुप्रवेश यात्रा अनुमति पाइने भएको हो।

हाल विद्यमान कानुनअनुसार स्थायी बसोबास भएका अधिकांश गैरचिनियाँ नागरिकले मुख्यभूमि भ्रमणका लागि छुट्टै भिसाको निवेदन दिनु पर्दछ।

नयाँ नीतिअनुसारको अनुमति प्राप्त गर्ने व्यक्तिलाई अब भिसा प्रक्रिया झन्झट हुने छैन।

भोलिदेखि खुला हुने आवेदनको प्रक्रिया कस्तो छ त? हेरौँ साउथ चाइना मर्निङ पोस्टबाट अनूदित यी ७ बुँदा-

१. आवेदन दिनुअघि के थाहा पाउनु पर्छ?
अनलाइन आवेदन भर्नुअघि तथा चाइना ट्राभल सर्भिस (सीटीएस) हङकङबाट अपोइन्टमेन्ट लिनुअघि सरकारी वेबसाइटबाट ‘नोटिस अफ एप्लिकेसन फर एक्सेस टु इन्फरमेसन’ प्राप्त गर्नु पर्दछ।

आवेदकको स्थायी बसोबासको स्थिति र राष्ट्रियता जानकारी सम्बन्धी कागजात निवेदन दिनुभन्दा ६ महिनाअघि प्रमाणित भएको हुनु पर्दछ।

स्थायी परिचय त्रको लागि आवेदन नदिएका ११ वर्षभन्दा कम उमेरका गैरचिनियाँ नागरिकले पनि सूचना प्रप्त गर्न आवश्यक छ, जुन अनुरोध प्राप्त भएको १० कार्य दिनभित्र उपलब्ध गराइनेछ।
यस मामिलासँग परिचित स्रोतका अनुसार आवेदकहरूले सीटीएस सेवा केन्द्रहरूबाट व्यक्तिगत रूपमा आफ्नो आवेदन प्रक्रिया अघि बढाउँदा अध्यागमनले विभागले जारी गरेको कागजात प्रस्तुत गर्नु पर्दछ।

२. कहाँ गर्ने आवेदन पेस?
सेन्ट्रल, काउलुन बे, क्वाइ चुङ, सातिन, चुनमुन र मङककका सेवा केन्द्रहरूबाट व्यक्तिगत रूपमा आवेदन पेस गर्न सक्नेछन्। सोमबारदेखि शनिबारसम्म ९ बजेदेखि ५ बजेसम्म आवेदन दिन सकिनेछ।

आवेदकहरूले सीटीएस वेबसाइटमा अग्रिम अपोइन्टमेन्ट बुक गरी आफ्नो व्यक्तिगत जानकारी अनलाइनमार्फत पेस गर्नु पर्छ। यी अनलाइन बुकिङ १ जुलाईको घोषणापछि उपलब्ध छन्।

यदि अपोइन्टमेन्टको मितिमा सूचना प्राप्त नभएमा आवेदकले आफ्नो बुकिङलाई पुनः तालिकाबछ गर्नु पर्छ।

३. आवश्यक कागजात के-के हुन्?
योग्य बासिन्दाले सीटीएस वेबसाइटमार्फत ६ महिनाभित्र खिचिएको फोटोसहित आवेदन फारम भर्नु पर्छ।

यो सँगै हङकङको स्थायी परिचयपत्र, कम्तीमा ६ महिनाको म्याद भएको पासपोर्ट र राष्ट्रियता प्रमाणपत्र पनि पेस गर्नु पर्दछ।

१८ वर्षमुनिका आवेदकले आफ्नो अभिभावकको परिचयपत्र र अभिभावकसँग आफ्नो नातासम्बन्ध प्रमाणित हुने कागजात पेस गर्नु पर्दछ।

यसरी आवेदन दिएपछि इमेलबाट प्रारम्भिक प्रमाणीकरण सूचना प्राप्त हुनेछ। जसमा एउटा सीटीएस सेवा केन्द्र र अपोइन्टमेन्टको समय चयन गर्न भनिनेछ।

४. यात्रा अनुमति स्वीकृत हुन कति समय लाग्छ?
सीटीएस हङकङका अध्यक्ष पेरी यिउले आवेदन स्वीकार गरेको २० कार्यदिनभित्र अनुमति पत्र जारी गरिने बताए।

५. आवेदन शुल्क कति छ?
आवेदन शुल्क हङकङ डलर २६० लाग्नेछ।

६. तस्बिर कस्तो हुनु पर्छ?
पूर्ण अनुहार देखिने रंगीन तस्बिर हुनु पर्दछ। तस्बिर सेतो पृष्ठभूमिमा हुनु पर्दछ भने टोपी र चस्मा लगाइएको हुनु हुँदैन।

साथै, तस्बिर पछिल्लो ६ महिनाभित्र खिचिएिको प्रयोग गर्नु पर्दछ। अथवा, सीटीएस सेवा केन्द्रको लबीमा उपलब्ध सेवाबाट पनि तस्बिर खिचाउन सकिनेछ।

यसरी खिचिएका तस्बिरलाई अनुमोदनका लागि तुरुन्तै निरीक्षण प्रणालीमा पठाइनेछ। सिधै प्रशोधन इकाइमा अपलोड गरिएका यस्ता तस्बिर भौतिक रूपमा प्रिन्ट हुनेछन्।

प्रिन्ट भएका यी तस्बिरलाई प्रमाणित बार कोड राखेर आवेदन प्रक्रिया अघि बढाउन सकिन्छ।

अन्य ठाउँमा खिचिएका तस्बिरलाई आवेदन अगाडि बढाउनुअघि निरीक्षण प्रणालीद्वारा पास गराउनु पर्नेछ।

७. अन्य आवश्यक जानकारी
निवेदनका साथ आवेदकले आफ्नो पूरा नाम, जन्म मिति, जन्म स्थान, राष्ट्रियता, पेसा, हङकङ वा मकाउको टेलिफोन नम्बर र अधिकारीहरूले जारी गरेको आवासीय कागजात पेस गर्नु पर्दछ।

यसको साथमा राहदानीको विवरण र मुख्यभूमि अधिकारीले जारी गरेको कुनै पनि भिसाको विवरण पनि उपलब्ध गराउनु पर्दछ।

सीटीएस वेबसाइटमा आवेदन फारम बुझाएपछि हङकङ, मकाउ वा मुख्यभूमिबाट आपत्‌कालीन सम्पर्क गरी थप प्रश्न सोध्न सकिनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .