ad ad

छापा खबर


सोल्टी मर्‍यो, एक्लिइन् मितिनी

सोल्टी मर्‍यो, एक्लिइन् मितिनी

नेपालखबर
माघ २, २०७६ बिहिबार २:१६,

नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा सांघाई पार्कमा मरेको छ ।

पेटको समस्याले गैंडा मरेको जानकारी चीनले नेपाललाई गराएको छ।

त्यसको उमेर करिब चार वर्ष थियो । यो उमेर अर्धवयस्क (टीन एज) हो । एकसिंगे गैंडामा विद्यावारिधि शान्तराज ज्ञवालीका अनुसार गैंडा सामान्यतया २० वर्षसम्म बाँच्छ । एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले केही दिनअघि ‘सोल्टी’ मरेको पुष्टि गरे । ‘के कारणले मरेको हो, विस्तृत विवरण चीनबाट आइसकेको छैन,’ भट्टराईले भने, ‘प्राविधिकहरूले अध्ययन गरेपछि कारण थाहा हुनेछ ।’

सरकारले २०७५ भदौ पहिलो साता करिब साढे दुई वर्षको ‘सोल्टी’ सहित ‘मितिनी’ नामको पोथी गैंडा चीनलाई हस्तान्तरण गरेको थियो । भाले मरेपछि सांघाई पार्कमा पोथी मितिनी एक्लिएको छ । ‘सोल्टी’ र ‘मितिनी’ लाई सांघाई पार्कमा राखिएको थियो।

हस्तान्तरण गर्नुअघि उक्त गैंडाको स्वास्थ्यलगायत गतिविधि जाँचमा संलग्न चितवन निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमलप्रसाद गैरेका अनुसार ‘सोल्टी’ स्वस्थ थियो ।

‘सबै जाँच गर्दा कुनै रोग थिएन,’ गैरेले भने, ‘त्यही आधारमा स्वास्थ्य प्रतिवेदन पनि बनाएका थियौं ।’ सरकारले गैंडासँगै त्यसको स्वास्थ्य अवस्थाको प्रतिवेदन, साइटिस निर्यात प्रमाणपत्र र प्रजाति उत्पत्ति प्रमाणपत्र पनि चीनलाई दिएको थियो ।

‘सोल्टी’ लाई निकुञ्जले नेपाल–भारत सीमा त्रिवेणीबाट उद्धार गरेर संरक्षण गर्दै आएको थियो । गैंडा मर्नुको कारण अध्ययन गर्न चीनले नेपाली प्राविधिक टोली माग गरेको छ ।

वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्न र दुई देशबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले सरकारले चीनलाई गैंडा दिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .