छापा खबर


विमानस्थलको अध्यागमनले चिनेन नक्कली पासपोर्ट, नयाँ प्रविधिमाथि प्रश्न

विमानस्थलको अध्यागमनले चिनेन नक्कली पासपोर्ट, नयाँ प्रविधिमाथि प्रश्न

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ३:२०,

अध्यागमनमा भइरहेका त्रुटि सच्याउन भन्दै सरकारले गत वर्ष मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा बायोमेट्रिकसहितको अत्याधुनिक प्रविधि जडान गर्‍यो ।

करिब १३ करोड लगानी गरेर सुरु गरिएको ‘नेपाल पोर्ट’ नामक नयाँ प्रणालीपछि पनि अध्यागमनमा हुने बेथिति रोकिएको छैन।

हालै दुई बंगलादेशी नागरिकले नक्कली पासपोर्ट प्रयोग गरेर यात्रा गर्दा पनि ‘नेपाल पोर्ट’ले पहिचान गर्न नसकेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

नक्कली पासपोर्टमा नेपाल हुँदै क्यानडा जान खोज्ने दुई बंगलादेशीलाई कतारको अध्यागमनले फर्काइदिएपछि मात्र नेपालको अध्यागमनले थाहा पायो । बंगलादेशी नागरिक मोहम्मद बम्लु मिहा र राहुल करिम क्यानडाको पासपोर्ट लिएर नेपाल आई केही दिन बसेर कतार हुँदै क्यानडा जान लागेका थिए । आगमन र प्रस्थानमा दुवैपटक अध्यागमनमा जाँच हुँदा पनि उनीहरूको पासपोर्ट नक्कली भएको पहिचान हुन सकेन।

गत ७ चैतमा कतारको अध्यागमनले पासपोर्ट जफत गरी उनीहरूलाई नेपाल नै फर्काइदिएको थियो । केही दिन हिरासतमा राखे पनि उनीहरूलाई मुद्दा नै नचलाई अध्यागमन विभागले बंगलादेश निष्कासन गरेको छ । उनीहरूलाई १२ चैतमै बंगलादेश पठाइएको थियो । जबकि निष्कासनको निर्णय भने २० चैतमा भएको छ । संदिग्ध आचरण भन्दै उनीहरूलाई तीन वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ।

‘नेपाल पोर्ट’मा यात्रुको आइरिस (आँखाको रेटिना) तथा औँठाछापसमेत रहने भएकाले एउटाको पासपोर्ट अर्को व्यक्तिले प्रयोग गर्न नसक्ने बताइएको थियो । दुई बंगलादेशी केही महिनाअघि बंगलादेशकै पासपोर्टमा नेपाल आएका थिए । पहिला एउटा पासपोर्ट र पछि अर्को पासपोर्ट प्रयोग गर्दा पनि अध्यागमनको सिस्टमले पत्ता लगाउन नसकेपछि अध्यागमनको नयाँ प्रविधिमाथि समेत प्रश्न उठेको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्य बंगलादेशीहरूको पासपोर्ट मेसिनले रिड गरेको, तर नक्कली भनेर पत्ता लगाउन नसकेको बताउँछन् । ‘उनीहरूको क्यानडाको भिसासमेत थियो,’ उनी भन्छन्, ‘त्यही भएर हामीले शंका गरेनौँ, पछि पासपोर्ट नक्कली प्रयोग गरेको भनेर आएपछि निष्कासन गरेका छौँ ।’ दुवैलाई आफूहरूले पक्राउ गरेर विभागमा पठाएपछि मुद्दाको विषयमा जानकारी नभएको उनी बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .