छापा खबर


ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी हुँदै गर्दा संसद अधिवेशन अन्त्य, अब के गर्लान् कांग्रेस र माओवादी?

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी हुँदै गर्दा संसद अधिवेशन अन्त्य, अब के गर्लान् कांग्रेस र माओवादी?

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ०:२१,

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी भएको सूचनापछि प्रधानमन्त्री केपी ओलीले हठात् संसद्को अधिवेशन अन्त्य गराएका छन् ।

प्रमुख विपक्षी दल कांग्रेस र माओवादी मिलेर मंगलबार दिउँसो १ बजेअगाडि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए, तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले सोमबार दिउँसो १ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरिन्।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । उनीहरूबीच मंगलबार संसद् बैठकअघि नै अविश्वासको प्रस्ताव अगाडि बढाउने सहमति बनेको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘दुवै पार्टीले सोमबार आ–आफ्नातर्फबाट औपचारिक निर्णय गराउने र मंगलबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी थियो । त्यसैका लागि सोमबार नै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक र माओवादीले स्थायी कमिटी बैठकसमेत बोलाएका थिए,’ कांग्रेसका एक नेताले भने।

करिब डेढ महिनाको गृहकार्यपछि कांग्रेस र माओवादी सहमतिमा पुगेको थाहा पाएपछि प्रधानमन्त्रीले ओलीले मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक डाकेर संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाएका थिए।

संसद् अधिवेशन अन्त्य भएको खबर पाएपछि माओवादीले स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरेको थियो । त्यस्तै साँझ बसेको कांग्रेस बैठकमा संसद् अधिवेशन अन्त्य गर्ने ओलीको कदमबारे छलफल भए पनि अविश्वास प्रस्ताव दर्ताबारे ठोस निर्णय भएको छैन।

संसद् अधिवेशन अन्त्य भएपछि के गर्ने? कांग्रेस र माओवादीले त्यस्तो कुनै निर्णय गरेका छैनन् । पहिला अविश्वास प्रस्तावमा औपचारिक सहमति गर्ने, संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्ने र अधिवेशनका लागि राष्ट्रपतिकहाँ समावेदन लिएर जाने कांग्रेस र माओवादीको अबको रणनीति छ ।

यद्यपि, एमसिसी पारित कसरी र कहिले गर्ने भन्नेमा देउवा र प्रचण्डबीच अन्तिम सहमति भइनसकेको, तर सहमति जुटाएर सत्तासमीकरणका लागि अगाडि बढ्न तयार भएको स्रोतहरू बताउँछन्।

देउवाले सोमबार प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएर संसद् अधिवेशन अन्त्य गर्ने उनको कदममा असन्तुष्टि जनाएका छन् । संसद्मा प्रतिपक्षको भूमिकामा हुँदा पनि प्रधानमन्त्री ओलीको समर्थनमा झैँ देखिएको आरोप खेप्दै आएका देउवाले सोमबार निकै लामो समयपछि प्रधानमन्त्री ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएका हुन्।

नेपाल विद्यार्थी संघको ५२औँ स्थापना दिवस समारोहमा बोल्दै देउवाले भारतविरुद्ध नारा लगाएर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि पुगिसकेको टिप्पणी गरेका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जसरी पनि सत्तामा टिक्ने प्रधानमन्त्री ओलीको मानसिकताका कारण हठात् संसद् अन्त्य भएको बताए । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भयले प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गराएको नेता श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .