छापा खबर


प्रधानमन्त्रीको निर्देशनमा पाँच सय सवारीसाधनको तामझामसहित बालुवाटारबाट चितवन लगिँदै राम-सीताको मूर्ति

प्रधानमन्त्रीको निर्देशनमा पाँच सय सवारीसाधनको तामझामसहित बालुवाटारबाट चितवन लगिँदै राम-सीताको मूर्ति

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार २:६,

भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेकाबढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ ।

तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा मंगलबार तामझामसहित बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति चितवन ल्याइँदै छन् । रथमा मूर्ति राखेर करिब पाँच सय सवारीसाधनसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट विवेक पोखरेलले लेखेका छन्।

प्रधानमन्त्री ओलीले गत वर्षको २९ असारमा बालुवाटारमा मनाइएको २०७औँ भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए । त्यसलगत्तै उनले माडीका स्थानीय जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिएका थिए । आगामी वर्षको चैते रामनवमीका दिन मूर्ति अनावरण गर्दै मन्दिर उद्घाटन गर्ने घोषणा उनले गरेका थिए।

प्रधानमन्त्री ओलीले सरकारीनिवास बालुवाटार राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाउन लगाएका थिए । मंगलबार ती मूर्ति उनले स्वस्तिवाचनसहित धार्मिक विधिबाट हस्तान्तरण गर्ने कार्यक्रम छ । आफ्नै खर्चमा मूर्ति निर्माण गरिएको उनले बताउँदै आएका छन्।

अयोध्यापुरी व्यवस्थापन समितिका संयोजक तीर्थराज भुसालका अनुसार प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गरेपछि रथ, बग्गीसहितको कलशयात्रा र करिब पाँच सय सवारीसाधनसहितको शोभायात्रा मूर्ति बोकेर चितवनका लागि हिँड्नेछ । शोभायात्रा साँझ चितवनको तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा पुग्नेछ । नागढुंगाबाट भने रथमा रहेका मूर्तिलाई गाडीमा राखेर ल्याइनेछ।

भुसालका अनुसार शोभायात्रालाई देवघाट क्षेत्र विकास समितिले भव्य स्वागत गर्ने कार्यक्रम छ । काठमाडौंबाट टोलीमा आउनेसहित गरेर आठ सयजनालाई खान र बस्नका लागि देवघाटमा व्यवस्था गरिएको छ । बुधबार बिहान आठ बजे देवघाटका विभिन्न पीठाधीशहरूको उपस्थितिमा मूर्तिहरूको जलाभिशेष गरेपछि माडीस्थित अयोध्यापुरी पठाइनेछ ।

अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न अस्थायी मन्दिर निर्माण गरिएको छ । अयोध्यापुरी व्यवस्थापन समितिअन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीका अनुसार देवघाटबाट पनि भव्य कार्यक्रमसहित मूर्तिहरू माडी ल्याइनेछ । बिहान ८ बजे नै बाह्मणहरूबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित मूर्तिहरू माडीतर्फ लगिनेछ।

स्थानीय रेवा नदी (रिउ खोला)मा परशुराम कुण्डको जलले मूर्तिहरू अभिषेक गरिनेछन् । स्थानीयलाई बाटो किनारमा बसेर स्वागत गर्न आह्वान गरिएको छ । बुधबार माडीमा नौ सय सवारीसाधन राख्ने र एक हजार पाँच सयजनालाई खान–बस्नका लागि व्यवस्था गरिएको उनले बताए।

चितवनका सिडिओ प्रेमलाल लामिछानेले मूर्ति अनावरण कार्यक्रममा बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र संघीय सरकारका पर्यटनमन्त्री भानुभक्त ढकाल आउने जानकारी पाएको बताए । कार्यक्रमको उनले सहजीकरण गरिरहेका छन् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .