छापा खबर


सरकारको नेतृत्व गर्न कांग्रेसले फेरि देखाउन थाल्यो अरुचि

सरकारको नेतृत्व गर्न कांग्रेसले फेरि देखाउन थाल्यो अरुचि

नेपालखबर
बैशाख ८, २०७८ बुधबार २:४०,

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ।

कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या सुनिश्चित नभएको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गर्न अरुचि देखाएको खबर आजको राजधानी दैनिकले छापेको छ।

सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवाले २० चैतको बैठकबाट रुचि नहुँदा नहुँदै पनि सो निर्णय गराएका थिए।

त्यसपछि कांग्रेसले गठबन्धन बनाउने विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि छलफल गरेको थियो । छलफलमा सहभागी जसपाका नेता महन्थ ठाकुरले समेत कांग्रेसलाई सत्ताको नेतृत्व गर्न रुचि नभएको बताउँदै आएका छन्।

सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार गठनको विषय प्रवेश नै नभएपछि कांग्रेसको सत्ता अरुचि झनै प्रस्ट देखिएको हो । कांग्रेसकै नेताले समेत हाल कांग्रेसले निर्णय गर्दैमा सरकार बन्ने अवस्था नरहेको तर प्रतिपक्ष सधैं सरकारको नेतृत्वका लागि प्रयासरत रहने बताउँदै आइरहेका छन्।

कांग्रेस सभापति देउवा स्वयंले समेत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सरकार गठनको विषय ओझेलमा परेको बताउँदै आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .