छापा खबर


जनस्वास्थ्यविद् भन्छन् : खोप लगाएको छु भनेर ढुक्क नहुनुस्

जनस्वास्थ्यविद् भन्छन् : खोप लगाएको छु भनेर ढुक्क नहुनुस्

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ०:४६,

कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

अनिवार्य रूपमा खोपका दुवै मात्रा लगाएको हुनुपर्ने, खोप लगाएको छ महिना मात्रै काम गर्ने र खोप तथा स्वास्थ्य मापदण्ड पालना दुवै एकसाथ भए मात्र कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा बच्न सकिने स्वास्थ्यविद्हरु बताउँछन्।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको उनीहरुको भनाई छ। ‘खोपले सङ्क्रमित व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, सङ्क्रमण हुनै रोक्न सक्दैन,’ उनीहरु भन्छन्।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा.झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने बताए। खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने भन्दै उनले भने, ‘कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ।’

खोपले बढाएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ, खोप लगाएको कति समयपछि यसले काम गर्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको उनले बताए। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी बन्ने विभिन्न अध्ययनले देखाएको जानकारी दिए।

ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘खोपको मात्रा पूरा गर्नुपर्छ र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ । तब मात्र कोभिड–१९ विरुद्धको यो खोपले सुरक्षा दिन सक्छ।’

कोभिसिल्डले बढीमा छ महिनासम्म सुरक्षा दिन सक्ने उनले बताए। ‘भाइरसको परिवर्तित स्वरूपका कारण कोभिडविरुद्धको यो खोपले काम गर्ने÷नगर्नेमा विश्वस्त हुने अवस्था छैन । त्यसैले खोप लगाएपछि ढुक्क भएर बस्नु हुँदैन,’ उनले भने।

अहिले कोरोना (कोभिड–१९) का नयाँ–नयाँ ‘भेरिएन्ट’ विकास भइरहेको अवस्थामा अहिले प्रयोग भइरहेका खोपको प्रभावकारिता पुष्टि हुन बाँकी नै रहेको पुनले बताए। ‘खोप लगाएको ठ्याक्कै कति समयपछि शरीरमा यसले काम गर्न थाल्छ भन्ने यकिन जानकारी आउन पनि बाँकी छ,’ उनले भन

सङ्क्रमणपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने कुरा पनि पुष्टि भइनसकेकाले सबैले खोप लगाउनुपर्ने विज्ञहरूको धारणा छ । प्रतिरक्षा क्षमता बढाउन सहयोगी खोपले कुनै ब्याक्टेरिया वा भाइरस जस्ता जीवाणुबाट भविष्यमा रोग लाग्ने सम्भावना कम वा निर्मूल गर्छ । सामान्यतः एउटा जीवाणुका लागि बनाइएको खोपले त्यही जीवाणुको विरुद्धमा मात्र काम गर्छ ।

त्यही भएर रोगैपिच्छेका भ्याक्सिन बनाउनु परेको डा. गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .