छापा खबर


झन् ठूलो भिडमा नेपाली

झन् ठूलो भिडमा नेपाली

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार २३:४०,

सरकारले निषेधाज्ञा लागू गर्ने घोषणा गरेपछि काठमाडौँबाट घर बाहिरिनेको संख्या अत्यधिक बढेको छ । बिहीबारबाट निषेधाज्ञा लागू गर्ने घोषणा भएसँगै यात्रुबाहक सवारीसाधनमा सिट संख्याभन्दा बढी यात्रु घर फर्किरहेका छन् ।

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने डरले ठूलो संख्यामा मजदुरहरू गाउँ फर्किएका छन् । गत वर्ष पनि लकडाउन अघि गाडी र पछि पैदल गरी १२ लाख यात्रु जिल्ला फर्किएका थिए । यसपालि पनि पछिल्लो दुई दिनमा मात्रै ७७ हजार यात्रु घर फर्किएका छन् । फर्कनेमा मजदुरमात्र होइन, उच्च शिक्षा पढ्न काठमाडौं आएकाहरू पनि छन् ।

खोप लगाउन अस्पतालमा भिड, गाउँ फर्कन बसपार्कमा भिड, विदेश जान पिसिआर गर्नेको भिड, खोप लगाउन अस्पतालमा भिड शीर्षक दिएर यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी र जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अधिक भिड देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । नाकाहरूमा ट्राफिक प्रहरीले सवारी जाँच बढाएको छ । सिट क्षमताभन्दा धेरै यात्रु राख्ने, मास्क नलगाउनेलाई कारबाही भइरहेको ट्राफिक प्रहरीको भनाइ छ । तर, गाडी अभावमा यात्रुहरू कोचाकोच गरेर फर्किएका छन् ।

सामान्यतया औसतमा दैनिक काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधनको संख्या ७–७ हजारको हाराहारीमा हुन्छ । त्यस्तै, दैनिक औसतमा ४० हजार मानिस आउने र त्यति नै संख्या बाहिरिने गरेका छन् । तर, सोमबार बिहान ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म २४ घन्टामा ५० हजारभन्दा धेरै मानिस बाहिरिएका छन् ।

भित्रिने नियमित संख्यामा भने परिवर्तन आएको छैन । त्यसैगरी, मंगलबार बिहानदेखि साँझसम्म १२ घन्टामा २७ हजार ७८० यात्रु फर्किएको छ र २४ घन्टामा यो संख्या ६० हजार यात्रु बाहिरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका भनाइ छ ।

‘लामो दूरीका सवारीसाधन रातमा धेरै चल्ने भएकाले बुधबार बिहानसम्ममा बाहिरिनेको संख्या निकै बढ्ने अनुमान छ,’ महाशाखाका प्रहरी हवल्दार नवराज अधिकारी भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .