छापा खबर


निषेधाज्ञा सुरु हुनुअघि राजधानी छाड्न खोज्नेको कन्तबिजोग

निषेधाज्ञा सुरु हुनुअघि राजधानी छाड्न खोज्नेको कन्तबिजोग

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ०:५७,

 बुधबार राति घडीमा ११: ५१ बजिसकेको छ । काठमाडौं उपत्यका छाडेर नागढुंगा नाका हुँदै गाउँ फर्किनेको कंलकीमा मेला लागेको छ ।

ठेलमठेल भिडमा उदयपुरकी कविता आलेमगर २१ महिने नानी काखमा च्यापेर सडकछेउमा बसिरहेकी थिइन्, छेउमा ग्यास सिलिन्डरदेखि खाटसम्मका सामान पनि थिए । उनले बेलुका ८ बजेको गाडीको टिकट काटेकी थिइन् । तर, गोंगबुस्थित बसपार्कबाट हिँडेको गाडी मध्यरातसम्म कलंकी आइपुगेको छैन।

‘टिकट त लिइसकेको छु, तर अहिलेसम्म गाडी आएको छैन । कतिवेला आउँछ भन्ने पनि टुंगो छैन, साह्रै दुःख पाइयो,’ कविताले भनिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै उनलाई काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले सताउन थाल्यो । त्यसैले कोठाका सबै सामानसहित घर फर्किन लागेको उनले बताइन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै गरिसकेको छ ।

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो ।

बिहार घर भई काठमाडौंमा बिजुलीको काम गर्ने आठजना भारतीय मजदुरको समूह विराटनगरका लागि गाडी कुरिरहेको थियो । उनीहरू ७ बजेदेखि नै कंलकीमा विराटनगर जाने गाडी कुरिरहेका थिए । तर, १२ बज्नै लाग्दासम्म गाडी नभेटिएपछि कलिम अहमदसहितको समूह सडकमै अलपत्र छ । ‘यहाँका मान्छेहरूले भोलिदेखि गाडी जाँदैन भन्छन्, अहिले जानलाई गाडी नै भेटिँदैन,’ कलिमले भने।

राति विराटनगरको गाडी भेटिए जोगबनी नाका हुँदै भारत पस्ने योजना मजदुरहरूको छ । ‘जसलाई सोधे पनि अलि तल जाऊ गाडी पाइन्छ भन्छन्, पाँच घन्टा भइसक्यो, गाडी भेटिएको छैन,’ कलिमले भने । मध्यरातसम्म पनि उनीहरू गाडी पाइने आशामा सडकमै थिए।

दुईवटा नानी काखमा बोकेर गाडी कुरिरहेका पोखरा लामाटारका नारायण माझीको हालत पनि उस्तै थियो । असनमा ज्याला–मजदुरी गर्दै आएका माझीदम्पती लालाबालासहित घर फर्किन लागेका थिए । नारायण भन्छन्, ‘ भोलिदेखि नै सबै काम बन्द हुन्छ रे । अनि, यहाँ बसेर के गर्नु? घर गए भने कमसेकम खाना त पाइन्छ।’

निषेधाज्ञामा रोजगारी गुम्ने र काठमाडौं बसाइँ कष्टपूर्ण हुने त्रासले गाउँ फर्किन लागेका सयौं नागरिक गाडी नपाएर मध्यरातसम्म कलंकी चोकमा अलपत्र छन् । बिहीबार बिहान ६ बजेदेखि काठमाडौंमा निषेधाज्ञा लागू हुँदै छ । तर, त्यसअघि नै काठमाडौंबाट बाहिरिन चाहेकाहरू गाडी अभावले बिचल्लीमा परेका छन् । सोमबार र मंगलबारको तुलनामा बुधबार यात्रुको चाप अत्यधिक भएपछि उपलब्ध गाडीले धान्न सकेका छैनन् ।

बुधबार अग्रिम टिकट लिएका र बाटोमै गाडी पाउने आशामा बाफलचोकदेखि कंलकीसम्म मानिसहरूको अत्यधिक भिड थियो । गाडी भेटिएला र घर जाउँला भन्ने आस लिएर बसेकाहरू सडकमै छन् । वृद्धवृद्धा, बिरामी, बालबच्चा बोकेर हिँडेकालाई संक्रमणले भन्दा भोकको बढी चिन्ता देखिन्थ्यो।

राति १२ बजेसम्म गाडी नपाउनेमध्ये कोही गत वर्षको लकडाउनमा जस्तै हिँडेरै घर फर्किने अठोट गर्दै थिए भने वृद्धवृद्धा र काखमा बालबच्चा भएकाहरू के गर्ने भनेर हतास मुद्रामा देखिन्थे । साँझ सात बजेको टिकट लिएकाहरू मध्यरातसम्म गाडी नआएपछि आत्तिरहेका थिए । कति बाटोमा सुतिरहेका थिए भने अधिकांशले भिडभाडमा मास्कसमेत प्रयोग गरेका थिएनन्।

गाडी नपाउने मात्रै होइन, बल्लतल्ल गाडी पाएर यात्रा तय गरेकाले घन्टौं जाम खेप्नुपर्‍यो । गोंगबु बसपार्कबाट यात्रु बोकेर छुटेका गाडीको लस्करलाई कलंकी पास हुन चार–पाँच घन्टा लाग्यो । जामको असर नागढुंगा, धादिङसम्म थियो।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि पछिल्ला तीन दिन (७२ घन्टा) मा पाँच लाख मानिस बाहिरिएका छन् । बुधबारदेखि उपत्यकामा निषेधाज्ञा लागू हुँदै छ।

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने त्रासले ठूलो संख्यामा सहरी मजदुर गाउँ फर्किएका छन् । उच्च शिक्षा पढ्न काठमाडौं आएका विद्यार्थी पनि धमाधम फर्किएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .