छापा खबर


राजनीतिक नैतिकतालाई धरापमा पारेर आइसियूमा भेटिएका सांसद शाहीलाई अब जनमोर्चाले के गर्ला?

राजनीतिक नैतिकतालाई धरापमा पारेर आइसियूमा भेटिएका सांसद शाहीलाई अब जनमोर्चाले के गर्ला?

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १:१५,

सत्ताका लागि ५० को दशकमा मौलाएको असंसदीय राजनीतिको पुनरावृत्ति हुँदैछ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक निर्णायक सांसद नाटकीय रूपमा ‘आइसियुमा’ भेटिएका छन् ।

उनको दल राष्ट्रिय जनमोर्चाले यसका लागि सत्तारुढ दललाई आरोपित गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बुधबार दिउँसो राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभाको सम्पूर्ण काम प्रभावित भयो । तर, जब प्रदेश सभा स्थगित भयो, कोरोना पजिटिभ भएको भन्दै शाही अस्पतालको ‘आइसियू’मा भेटिए । जबकि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो ।

गण्डकीको सत्तासमीकरणमा सांसद शाही कति महत्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्बिरले देखाउँछ, जुन तस्बिर बुझेपछि उनी ‘बेपत्ता’ भए वा बनाइए भन्ने प्रश्नलाई थप पेचिलो बनाइदिन्छ।

अविश्वास प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदै थियो, गण्डकी प्रदेश सरकारको भविष्यमाथि जनप्रतिनिधिले फैसला गर्दै थिए । प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने योजना प्रतिपक्ष दलहरूको थियो । मंगलबार रातिसम्म उनीहरू यसमा विश्वस्त पनि थिए।

तर, जब बुधबार ‘जनमोर्चा’का सांसद शाही ‘बेपत्ता’ भए, प्रतिपक्ष दलहरू तनावमा देखिए भने सत्तापक्ष सांसद उत्साही । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने प्रदेश सभा बैठकमा उपस्थित थिए।

जब कि अविश्वासको प्रस्ताव पारित गर्न ३१ सांसद आवश्यक पर्नेमा शाहीको अनुपस्थितिले ३० जना मात्र हुने भएपछि प्रस्ताव फेल हुने खतरा थियो । मतदानमा शाहीको अनुपस्थिति सत्तासमीकरणको दृष्टिकोणले निर्णायक थियो । यही कारण बुधबार दिनभर उनको ‘अज्ञात अवस्था’ शंकाको घेरामा परेको हो । संसद्मा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । मतदानपूर्वसम्म मुख्यमन्त्री स्पष्ट अल्पमतमा थिए।

जनमोर्चाले मुख्यमन्त्रीको पद जोगाउन आइसियुमा राखिएको दाबी गरेको छ । पार्टीका नेताहरूको भनाइ छ, ‘उनी बिरामी हुन् भने हामीले भेट्न किन नपाउने? सांसद खरिदबिक्रीका लागि भएका भेटघाट र अस्पताल बसाइका वेला उनी साच्चै संक्रमित भए भने उनको स्वास्थ्य र जीवनको जिम्मेवारी कसले लिन्छ?’

जनमोर्चाकी सचेतक थापाले सांसद शाहीलाई कोरोना पजिटिभ भएर अस्पताल भर्ना भएको थाहा नपाएकै कारण आफूले खोजीका लागि निवेदन दिएको बताइन् । ‘उहाँ सम्पर्कमा आउनुभएन । अवस्था अज्ञात थियो । त्यस्तो अवस्थामा जीवनरक्षा गर्नुपर्छ भनेर हामीले निवेदन दिनु स्वाभाविक नै हो । उहाँ (सांसद शाही)ले संक्रमित भएको कुरा जानकारी दिनुपर्दथ्यो । त्यो दिनुभएन । एक मतले संसद्मा ठूलो महत्व राख्दथ्यो । त्यस्तो अवस्थामा हामीलाई शंका भयो । अब उहाँको नियत के हो भनेर हेर्नुपर्छ । कहिलेकाहीँ गल्ती हुन्छ । अवस्था बिग्रेको छैन । उहाँ निको भएपछि अनुसन्धान गरेर पार्टीले उपयुक्त निर्णय लिन्छ,’ उनले भनिन्।

यता संसद् बैठक स्थगित भयो, अज्ञात भनिएका सांसद शाही पोखराकै चरक मेमोरियल अस्पतालमा पजिटिभ रोपोर्टसहित साँझ उपचाररत अवस्थामा भेटिए । अस्पतालले उनलाई भेट्न नदिए पनि उनी उपचाररत रहेको फोटो सार्वजनिक गर्र्दै अवस्था सामान्य रहेको बताएको छ । अस्पताल छाउनी बनेको छ । शाही भर्ना भएदेखि नै अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । जनमोर्चाका नेता–कार्यकर्तालाई शाहीलाई भेट्न दिइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .