छापा खबर


सरकारले हात उठायो, कोरोना महामारी नियन्त्रण अब रामभरोसा

सरकारले हात उठायो, कोरोना महामारी नियन्त्रण अब रामभरोसा

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १:४,

नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ।

यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् । सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन्।

जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती भन्छिन् : कोरोना महामारी अहिलेको अवस्थामा पुग्छ भनेर उहिलेदेखि जनस्वास्थ्यविज्ञहरूले सजग गराउँदै आएका थिए । तर, सरकारले वास्ता गरेन । बरु, विभिन्न जात्रा प्रदर्शन गर्‍यो । सरकार र दलहरूले सभा–सम्मेलन गरेर असंवेदनशीलताको पराकाष्ठा देखाए ।

जनस्वास्थ्यविज्ञहरूले भएभरका जात्रा र सार्वजनिक कार्यक्रमलाई नगर्न, कम गर्न सुझाब दिँदा पनि सरकार र दलहरूले टेरेनन् । नेपालमा मात्रै होइन, भारतमा पनि त्यहाँका दलहरूले यस्तै असंवेदनशीलता देखाए ।

अहिले अस्पतालको मात्रै समस्या होइन, जनस्वास्थ्यको चासोको विषय पनि हो । यो अवस्था आउनुमा सरकार सबैभन्दा बढी जिम्मेवार छ । यसअघिका विभिन्न सरकारको पनि दोष छ । यस्ता विपत् आउँदा मन्त्री वा नेतालाई होइन, आमनागरिकलाई बढी क्षति हुन्छ, दुख्छ । नेता वा मन्त्रीले त समस्या प¥यो भने विभिन्न उपाय अपनाइहाल्छन् नि । गरिब, मजदुर र मध्यम वर्गीय नागरिक पो मारमा पर्छन् ।

देश महामारीको चपेटामा छ, तर सरकार करोडौँ रुपैयाँ मठ–मन्दिरमा चढाइरहेको छ । अर्बौँ रकम धरहरामा खर्च गरेको छ । यस्तो सरकारको नेतृत्व गरिरहेका नेताहरू पछि जनतासँग के भनेर भोट माग्न आउँछन् होला रु तत्कालको आवश्यकतालाई नजरअन्दाज गरेर यसरी खर्च गर्नु भनेको सरकारको मूर्खता र राजनीतिक स्वार्थीपना हो ।

जनस्वास्थ्यविज्ञहरूले पटकपटक सचेत गराउँदा पनि प्रधानमन्त्रीजस्तो व्यक्ति आफैँ अफवाह फैलाउँदै हिँड्नुभयो । ‘नेपालमा अन्तको जस्तो कोरोना महामारी हुँदैन, केही हुँदैन भनेर प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले मूर्खताको पराकाष्ठा प्रदर्शन गरे ।

अहिले अवस्था जटिल बनेपछि अस्पतालमा बेडको व्यवस्था गर्न सक्दैन भनेर सरकारले निकम्मापन देखाएको छ । सरकारको विज्ञप्ति देखेर निःशब्द हुने अवस्था आएको छ । जन्मिएको दश दिनपछि आमाले बच्चालाई ‘बाँच्न मन लाग्छ भने बाँच, मर्न मन लाग्छ भने मर’ भनेर बाटोमा छाडिदिएकोजस्तै अवस्थामा सरकारले नागरिकलाई पुर्‍याएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .