छापा खबर


प्रचण्ड–देउवा सहमतिः ओली यस्तो दाउमा छन्, असफल पार्नुपर्छ

प्रचण्ड–देउवा सहमतिः ओली यस्तो दाउमा छन्, असफल पार्नुपर्छ

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १:२९,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ।

उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधि सभामा बहुमत जुटाउन आआफ्ना तर्फबाट प्रयास गर्ने भएका हुन्।

ओलीका पक्षमा पनि बहुमत नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जान सक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दाबी छ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवालाई भेट्न शुक्रबार उनकै निवास पुगेका थिए।

ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दाबी छ।

त्यहीअनुसार लुम्बिनी प्रदेशमा ट्रायल गरेको विश्लेषण भइरहेका बेला जनता समाजवादी पार्टीको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर दुई वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको कांग्रेस नेताहरूको बुझाइ छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

प्रचण्ड र देउवाले ओलीका पक्षमा बहुमत जुट्न नदिने समझदारी गरेका छन्। दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेकाले त्यसलाई कसरी असफल बनाउने भन्नेबारे दुई नेताबीच छलफल भएको जानकारी दिए।

यसअघि देउवा भेट्न बुधबार प्रधानमन्त्री ओली र बिहीबार एमाले नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका थिए। जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई तथा एमाले नेता नेपाल पक्षसँग निरन्तर छलफलमा रहेका दाहाल सोही क्रममा देउवालाई भेट्न पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .