ad ad

छापा खबर


५ बजेसम्म विपक्षी दलहरुले ओलीको विकल्प दिन सक्लान्? यस्तो छ सम्भावना

 ५ बजेसम्म विपक्षी दलहरुले ओलीको विकल्प दिन सक्लान्? यस्तो छ सम्भावना

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १:५२,

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ।

शुक्रबार साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गर्नेछन्। विपक्षी नेपाली कांग्रेससहितका दलहरूले शुक्रबार साँझसम्ममा नयाँ प्रधानमन्त्री दाबी गर्न नसके ओली नेतृत्व सरकारले संवैधानिक सबै प्रक्रिया पूरा गरी मंसिर दोस्रो साताका लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी निर्णायक देखिएको छ। यसअघि कांग्रेस नेतृत्वमा संयुक्त सरकार गठनका लागि जसपाले अस्वीकार गरेको थियो। जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष तयार नहुँदा ओलीको विकल्प दिन विपक्षी दल असफल भएका थिए।

संवैधानिक प्रक्रिया अनुसार संयुक्त सरकार गठन गर्न सम्भव नभएपछि संसद्को ठूलो दलको हैसियतमा केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए। जसपाको एउटा पक्षको समर्थनमा विश्वासको मत लिने तयारी ओलीले गरिरहेका बेला जसपाका अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले आफ्नो दलको नेतृत्वमा बाहेक अर्को दलको नेतृत्वमा सरकारमा सहभागी नहुने सहमति गरेका छन्।

राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्थामा भने सरकारमा सहभागी हुने जसपाले जनाएको छ। जसपाको उक्त सहमति कायमै रहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको नेतृत्वमा सरकार गठनको सम्भावना कमजोर देखिएको छ।

ओली नेतृत्व सरकारको विकल्प दिन कांग्रेस र माओवादीले महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेर जान सक्ने झिनो विकल्प रहेको नेताहरू बताउँछन्। ‘अर्को वैशाखमा निर्वाचन गर्नेगरी ओलीको विकल्प दिन जसपा नेतृत्वमा सरकार बनाएर जान पनि सकिन्छ,’ माओवादीका एक नेताले भने, ‘त्यसका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ।’

कांग्रेसभित्र ओलीको विकल्प खोज्नुपर्ने र निर्वाचनमा जाने दुवै मत समानान्तर रहेको जनाउँदै एक नेताले भने, ‘सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठनका लागि हामी पहल लिनेछौं।’

चैत २१ गतेको केन्द्रीय समिति बैठकले पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको सुनाउँदै ती नेताले भने, ‘एमाले नेता माधवकुमार नेपाल पक्षको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावना पनि छ। तर, अहिलेसम्म सरकार गठन नै हुन्छ भन्ने स्पष्ट आधारचाहिँ छैन।’

ठाकुरलाई समर्थन गरेर जाने वा एमालेको असन्तुष्ट पक्षलाई साथमा लिएर अघि बढ्ने विश्वासिलो आधार नभएको जनाउँदै ती नेताले भने, ‘जसपा र कांग्रेस आआफ्नो निर्णयमा कायमै रहेको अवस्थामा निर्वाचनबाहेक अर्को विकल्प छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .