ad ad

छापा खबर


कोरोना संक्रमण चक्र : उपत्यकामा स्थिर, बाहिर बढ्दो

कोरोना संक्रमण चक्र : उपत्यकामा स्थिर, बाहिर बढ्दो

नेपालखबर
जेठ ९, २०७८ आइतबार १:३०,

एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए। उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ। त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।

‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने। गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ।

गाउँमा निषेधाज्ञा राम्रोसित पालना नभएकाले त्यहाँको संक्रमण दर बढ्दो क्रममा रहेको मन्त्रालयको दाबी छ। प्रवक्ता गौतमका अनुसार हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत मानिस निषेधाज्ञाको बेवास्ता गर्दै अहिले पनि हिँडडुल गरिरहेको पाइएको छ। कोरोना संक्रमण हिँडडुल र भेटघाटकै क्रममा सर्ने भएकाले अन्य प्रदेशमा पनि क्रमशः बढ्दै गएको हो।

गाडी रिजर्भ गरेर या अन्य तरिकाले गाउँ पुगेकाहरूलाई यसपटक १० दिन अनिवार्य क्वारेन्टिन राख्ने कार्यमा कमी आएकाले जोखिम त्यतातिर बढेको प्रवक्ता अधिकारीको दाबी छ। ‘विभिन्न तरिकाले गाउँ पुगेकालाई यसपालि स्थानीय निकायले अनिवार्य क्वारेन्टिनमा राखेन, त्यसकारण संक्रमण गाउँतिर फैलिएको हो,’ उनले भने। काठमाडौं उपत्यकामा निषेधाज्ञापछि परिवारभित्रै सावधानी अपनाउन नसक्दा एकबाट अर्को हुँदै सबै परिवारमा फैलिँदै गएको डा.भनाइ छ।

संक्रमणदर ४४ प्रतिशत
गत २४ घन्टाभित्रको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमण दर ४४ प्रतिशत छ। अघिल्लो दिनको तुलनामा यो ७ प्रतिशतले वृद्धि भएको हो। उक्त अवधिमा परीक्षण भएका २० हजार १ सय ५ नमुनामध्ये ८ हजार ९ सय ८० जना संक्रमित भएका छन्। थपिएको सहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५६ हजार ६ सय ४३ पुगेको छ। तीमध्ये दोस्रो लहर सुरु भएयता २ लाख ५२ हजार ३ सय ६६ जना संक्रमित भएका छन्।

संक्रमितमध्येमा देशभरि १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित छन्। तीमध्येमा १ लाख ८ हजार १ सय ३ जना होम आइसोलेसनमा छन्। संक्रमितमध्ये ७ हजार ७ सय ३ जनाको संस्थागत आइसोलेसन र १ हजार ७ सय ३२ जनाको आइसियुमा उपचार भइरहेको छ। बाँकी ५ सय २३ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .