ad ad

छापा खबर


देशैभरी झ्याप झ्याप बिजुली जाने समस्या बढ्दै, के यो अघोषित लोडसेडिङ हो?

देशैभरी झ्याप झ्याप बिजुली जाने समस्या बढ्दै, के यो अघोषित लोडसेडिङ हो?

नेपालखबर
जेठ ११, २०७८ मंगलबार २:३,

पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन्।

देशभर दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण असफलजस्तै देखिएको खबर आजको राजधानी दैनिकमा पूजा चँदराले लेखेकी छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनैबेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो भाइबर र वाट्सयापमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ कार्यकारी निर्देशन शाक्यले भने।

प्राधिकरणका अनुसार ११ केभी र ३३ केभीका १ सय ५० देखि २ सय किलोमिटर लामो ट्रान्समिसन लाइन भएका ठाउँहरूमा कुनै ठाउँमा रूखले छोयो, प्राविधिक समस्या आयो भने पत्ता लगाउन समय लाग्ने गरेको छ। यस्ता ठाउँहरूमा १ सय ३२ केभी लाइन नबनाएसम्म लाइन आउने जाने भई नै रहन्छ । शाक्यले त्यस्ता ठाउँमा क्षमता विस्तारका लागि समन्वय भइरहेको जानकारी दिए।

प्राधिकरणले बत्ती आउने जाने समस्या नरहेको बताउँदै गर्दा बालाजु वितरण केन्द्रअन्तर्गतका एक उपभोक्ताले भने तारकेश्वर नगरपालिकाको वडा नम्बर ४, ५ र ६ मा तीन हप्तादेखि दैनिक बत्ती आउने जाने गरेको गुनासो गरे । यस विषयमा प्राधिकरणलाई प्रश्न गर्दा लाइन मर्मतको काम भएका कारण समस्या आएको जानकारी गराएको छ।

यतिबेला कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समान्य अवस्थाभन्दा विद्युत् माग १५ देखि २० प्रतिशत घटेको छ । खोलामा पानी बढ्न थालेपछि अहिले उत्पादनसमेत बढ्न थालेको छ । तर, पनि प्राधिकरणले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा उपभोक्ता अघोषित लोडसेडिङको मारमा पर्दै आएका छन्।

अहिले हावाहुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो समस्या आउँदा पनि सो लाइनले ओगटेको ठूलो क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध हुने गरेको प्राधिकरणको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .