कूटनीति सबैको सरोकारको विषय होइन र सबैले कूटनीति जान्नैपर्छ भन्ने पनि छैन। यो निश्चित समूहले जान्दा हुन्छ। तर आम नागरिकले कूटनीति बुझ्न सकेको खण्डमा राम्रो हुन्छ।
पछिल्लो समय कूटनीतिलाई अन्तर्राष्ट्रिय राजनीतिक दाउपेचको रुपमा समेत हेरिन थालेको छ। मुलुकले गर्ने व्यवहार, राजनीतिक चलाखी, आफूलाई अब्बल देखाउने पाटोको रुपमा पनि यो विकास भइरहेको छ। कूटनीतिमा धेरै शाखा हुने भए पनि काम गर्ने भनेको एक पाटोले हो- कूटनीतिक निकायमा रहेको अब्बल व्यक्ति।
हरेक मुलुकको कूटनीतिक माध्यम विभिन्न भए पनि देखिने माध्यम त्यो मुलुकको परराष्ट्र मन्त्रालय नै हो। त्यही मन्त्रालय अन्तर्गत विदेशमा राजदूतावास हुन्छन्। त्यसलाई पूर्ति गर्न व्यक्ति विशेष, संस्था, गुप्तचर निकाय, सेना प्रहरी, निजी क्षेत्रका व्यक्ति सबै उपयोग भएका हुन्छन्। तर, नेपालमा त्यसको पूर्ण उपयोग भएको देखिँदैन।
जसरी नेपालको अर्थतन्त्रको मियो कृषि, पर्यटन, रेमिट्यान्स, जलविद्युतमध्ये के हो भन्ने स्पष्ट छैन, कूटनीतिको अवस्था पनि त्यस्तै छ। कूटनीतिमा एकद्वार छैन।
वैदेशिक सहायता अर्थ मन्त्रालयले हेर्छ, परराष्ट्रसँग सम्बन्धित कैयन् विषयहरु अन्य मन्त्रालयले। कूटनीतिक पत्रचार पनि विभिन्न निकायहरुले आफूखुसी गरेको त केही समयअघि सार्वजनिक सेनाको पत्रले स्पष्ट पार्छ। यसरी कूटनीति अन्यौलमा छ हाम्रो देश। हामीले यस्ता विषयमा ध्यान दिएका छैनौँ।
परराष्ट्र मन्त्रालयमार्फत मात्र औपचारिक भेटघाट, छलफल र पत्राचार हुन आवश्यक छ। यस्तो नहुँदासम्म जति ठूला कुरा गरे पनि हामी जहाँको त्यहीँ हुन्छौँ। यो विषयमा सबै जानकार हुनुपर्छ। सबैले कूटनीति बुझ्नै पर्छ भन्ने छैन। तर, कूटनीतिको जिम्मेवारी लिने निकाय बलियो र त्यसमा राज्यको लगानी हुन आवश्यक छ।
विश्वमा नै नेपाल जस्तो जटिल भूराजनीति भएको मुलुकहरु संकटमा पर्ने गरेको देखिरहेका छौँ। अमेरिकासँग हातेमालो गरेको युक्रेनमाथि रुसको आक्रमण पछिल्लो उदाहरण हो भने भरपर्दो बन्दरगाहका कारण दक्षिण एसियाको मोती मानिने श्रीलंका पनि शक्तिसंघर्षको बीचमा परेको छ। हामी अहिलेसम्म जोगिँदै आएका छौँ तर अहिले लक्षण राम्रो देखिएको छैन। हाम्रा कूटनीतिक सौदाबाजीहरु अब्बल ठहरिन छाडेको अवस्था छ। यसको कारण हो लोभमा पर्ने र क्षणिक फाइदा हेर्ने हाम्रो सोच।
हुन पनि विश्वव्यापीकरणले विश्वकै राजनीतिलाई सानो घेरामा राखेको छ। यो अवस्थामा नेपालजस्तो मुलुकले निकै सोचेर काम गर्न आवश्यक छ। एक देशको राजनीतिलाई अर्को देशको प्रभाव परिरहेको हुन्छ। अहिले यहाँ त्यही भइरहेको छ। नेपालको राजनीतिमा बाह्य छाया परिरहेको छ। नेपालमा बलियो र आशलाग्दो संस्था नहुँदा बाहिरियालाई खेल्न पनि सहज भएको छ।
एक ध्रुवीय विश्व यतिबेला बहुध्रुवमा जाने संकेत देखिएको छ। यस्तो अवस्थामा नेपालजस्तो मुलुक झनै सतर्क हुन आवश्यक छ। हाम्रो नीति स्पष्ट छैन। हामी एकै प्रकृतिको घटनामा कहिले एस भोट त कहिले नो भोट गरिरहेका हुन्छौँ। राष्ट्रसंघमा नेपालले दिएको भोटिङ प्याटर्न हेर्दा त्यो स्पष्ट हुन्छ।
हामी दुई पक्षीय रुपमा कुनै मुलुकको बढाइचढाइ गरिररहेका हुन्छौँ तर त्यही मुलुकलाई बहुपक्षीय फोरममा आलोचना गरिरहेका हुन्छौँ। यो विषय आफैँमा दोधारे देखिन्छ। नेपाल यसरी अलमलिने अनि शक्ति मुलुकले खेलिरहने गर्दा यहाँको भविष्य आफैँ ओझेलमा परेको देखिन्छ। नेपालजस्तो मुलुकको कूटनीति नियमित हुनुपर्छ। कुनै पनि विषयमा तत्काल अडान परिवर्तन गर्नु हुँदैन।
अनि नेपालको कूटनीतिको व्याख्या छिमेकबाट आरम्भ हुने भन्ने तर छिमेकलाई उपेक्षा पनि गर्ने कार्य हुनु दुखद हो। बेलाबेलामा यस्तो हुने गरेको देखिन्छ। परम्परागत शक्ति मुलुकको चासो नेपालजस्तालाई अलमल्याउने हुन्छ भने उदाउँदा शक्तिको चासो अन्तर्राष्ट्रिय फोरममा बोल्न उकास्ने र आफ्नो स्वार्थ पुरा गरेर महाशक्तिको दौडमा अगाडि बढ्ने हुन्छ।
नेपाल जस्तो मुलुक शक्तिको होडबाजीको कूटनीतिबाट असंलग्न रहनुपर्छ। सबै राष्ट्रहरूबीच समदुरी कायम गरी सन्तुलित हुन आवश्यक छ। तर, त्यो सन्तुलन केही समययता धर्मराएको छ। छिमेकका राजनीतिक दलले नेपालमा प्रशिक्षण दिने र नेपालको राजनीतिक दल छिमेकलाई अलमल्याएर परम्परागत शक्तिको पछि लाग्ने काम पनि राम्रो होइन। यसको बीचबाट निस्कने उपाय अवलम्बन गर्न आवश्यक छ। किनकि विकासोन्मुख मुलुकको लागि विश्व राजनीतिमा आफ्नो हिस्सा सुरक्षित गर्ने विषय चुनौतीपूर्ण छ।
कूटनीतिमा आर्थिक पक्ष पनि जोडिएको छ। जापान, कोरियाजस्ता राष्ट्रहरू राजनीतिक कूटनीतिभन्दा पनि आर्थिक कूटनीतिको माध्यमबाट नेपाल जस्तो मुलुकसँग हातेमालो गरिरहेका छन्। भुटानसँग हारेको हाम्रो कूटनीति भारतसँग झनै असहजतामा छ। कतिपय विषय समाधानको लागि नेपालले कुरा समेत राख्न नसकेको अवस्था छ। राखेको खण्डमा नै समाधान हुने विषय पनि छन्। त्यसैले अरू स्वतन्त्र राष्ट्रसँग हुनुपर्ने जस्तो कूटनीतिक सम्बन्ध भारतसँग हुन सकेको छैन।
यसले भारतलाई पनि असर गर्छ। भारतले पनि आफ्नो छिमेकलाई सधैँ खुसी राख्न नसकेको सन्देश जान्छ भन्ने बुझेर अघि बढ्न आवश्यक छ। हामी विश्व समुदायमा भारत, चीन र अमेरिकाजस्तै एक स्वतन्त्र मुलुक हौँ। नेपाल पुरानोमध्येको एक मुलुक हो। त्यसले नेपालले जोसँग पनि सम्बन्ध राख्दा निकै ध्यान दिन आवश्यक छ। छिमेकी परिवर्तन गर्न सकिने अवस्था छैन। त्यसैले पनि हामीले कूटनीतिक कौशल देखाउने र अस्पष्टतालाई प्रष्ट्याउने काम गर्न आवश्यक छ।
सरकारले कूटनीतिक कौशलको प्रयोग गर्ने र खट्न सक्ने व्यक्तिलाई भारतजस्तो मुलुकमा राजदूत बनाउन आवश्यक हुन्छ। तर हामीले त्यो मुलुकमा विगतमा कस्ता राजदूत पठायौँ भन्ने पनि ध्यान दिन आवश्यक छ। अहिले अर्थतन्त्र बुझेको व्यक्ति पठाएको त छ तर राजनीतिक सम्पर्क कस्तो छ? हामीले भेटघाट समेत नपाउने अवस्था आएको छ। किन त्यस्तो अवस्था आयो भन्ने विषयमा सरकार सचेत रहेर कूटनीति सञ्चालन गर्न आवश्यक छ।
नेपाललाई हाम्रो पुर्खाले यहाँसम्म ल्याएको पनि कूटनीतिको बलमा हो। त्यो बल झन् अब्बल बनाउन पर्नेमा खिइँदै गएको आभास हामी संयन्त्रबाहिर बसेर हेर्नेहरुलाई भइरहेको छ। सत्तामा रहने र कर्मचारीतन्त्रमा बसेर हेर्दा बलियो लाग्ला। राजसंस्थाका मानिसलाई पनि त त्यो संस्था बलियो लाग्थ्यो नि। अनि पर्खाल अग्लै थिए। सुरक्षा दिएकै थियो। तर किन ढल्यो राजतन्त्र? यस्ता विषयमा ध्यान दिएर यति भए चलिहाल्छ होइन, यो हुनैपर्छ भन्ने कूटनीतिमा हामी लाग्न आवश्यक छ।
हामीले नागरिकलाई खुसी पारेर राजनीतिक भविष्य तयार गर्न पर्नेमा अन्यलाई खुसी पार्न लागेका छौँ। यो सिलसिला बढेमा मुलुकको हैसियत पनि दरबारकै जस्तो हुनसक्छ। किनकि यतिबेला कूटनीति असन्तुलित बनाएर नेपाल सबै स्थानमा असफल हुँदै आएको देखिन्छ। यसमा सुधार हुन आवश्यक छ।
(चेल्सी इन्टरनेसनल एकेडेमी र विद्यासंस्कार स्कुलका प्रिन्सिपल झा अन्तर्राष्ट्रिय कूटनीतिमा चासो राख्छन्। उनले काठमाडौँ विश्वविद्यालयबाट टिम लिडरसिप विषयमा विद्यावारिधि गरेका छन्)
Shares
प्रतिक्रिया