ad ad

विचार


नदी मात्र चौडा पारेर पुग्दैन, चोभार डाँडा काटेर निष्कासन बिन्दु पनि बढाउनुपर्छ

नदी मात्र चौडा पारेर पुग्दैन, चोभार डाँडा काटेर निष्कासन बिन्दु पनि बढाउनुपर्छ

चोभारमा नदीको निस्कासन बिन्दुको चौडाइ करिब २४ मिटर मात्र छ। जबकि नदीको चौडाइ १०२ मिटर छ।


उमेश चौधरी
असोज १६, २०८१ बुधबार ८:४७, काठमाडौँ

बागमती नदीको पानी व्यवस्थापनको विषयमा कुरा गर्दा आजभन्दा ५४ वर्षअघिको एउटा कोरोना स्याटलाइट तस्बिर छ। जतिबेला उपत्यकामा यहाँका रैथानेहरू मात्रै थिए। त्यतिखेर यहाँ आधुनिक विकास थिएन। आधुनिक सडक सञ्जालहरू थिएनन्। नदीहरू जता मन लाग्छ उतै बग्न पाउँथे। नितान्त प्राकृतिक बहाव थियो। त्यतिबेला काठमाडौँ उपत्यका स्वाभाविक ढाँचामा थियो।

सन् २००३ सम्मको तथ्यांकमा हेर्दा पनि बागमतीको चोभारदेखि विशेषगरी मनोहरा र हनुमन्ते जहाँ जोडिन्छ, त्यहाँसम्म खासै केही फरक छैन। सीमा उही देखिन्छ। घरलगायत कुनै संरचनाहरू बनेको देखिँदैन। माथिबाट बगाएर ल्याएर बालुवाहरूको ढिस्कोहरू चाहिँ बनेको थियो। 

सन् २००३ सम्म बागमती करिडोर वा रिभरसाइड करिडोरहरू कुनै पनि बनेको थिएन। ढिस्कोहरू बनेको भए पनि नदीलाई बग्न कुनै रोकावट थिएन त्यतिबेलासम्म। विस्तारै संरचनाहरू बन्दै गयो। नदीका किनाराहरूमा सामाजिक र सार्वजनिक संरचनाहरू बन्न थाले। विद्यालय, मन्दिरहरू, खेल मैदानहरू, पार्क र अन्य भौतिक संरचना। उदाहरणको लागि, च्यासलको खेल मैदानलाई लिन सकिन्छ। अहिले खेल मैदान भएको ठाउँमा कुनै समयमा बागमती नदी थियो। त्यहाँ नदी बग्थ्यो। अहिले नेकपा एमालेको पार्टी कार्यालय भएको ठाउँ पनि पहिला खोला नै हो। कतिपय ठाउँमा आधुनिकीकरणको नाममा पार्कहरू बन्यो। 

यसरी बनेका संरचनाका बारेमा बोल्दा हामीले विरोध गरेजस्तो सुनिएला। तर, खोला मिचिएको कुरा त सत्य हो नि। त्यो हामी नबोल्दैमा लुक्दैन। लुकाउन सकिँदैन। हामीले संरचनाहरू विकास गर्दा वातावरणीय परिवर्तनका विषयलाई थोरै पनि सोचेको देखिँदैन। 

मनोहरा–हनुमन्तेको दोभानदेखि चोभारको निस्कासन बिन्दुसम्म हेर्दा बागमती नदीको बहाव क्षेत्र ५० प्रतिशत मिचिसकियो। अहिले ५० प्रतिशत मात्रै छ पानीको बहाव। 

बागमती नदी, मनहरा हनुमन्ते दोभानदेखि चोभारसम्म। निलो रङले सन् २००३ को स्थिति देखाउँछ भने रातो रङले अक्टोबर २०२३ को। तस्बिर : गुगल अर्थ प्रो

अहिले हामीले हेरेको मनोहरा र हनुमन्तेको ५० प्रतिशतका साथै अन्य खोलाहरू पनि मिचिएका छन्। जस्तैः गोदावरी खोला, धोबी खोला। यस्ता धेरै खोलाहरू छन्, जुन अतिक्रमणको चपेटामा परेका छन्। अर्को कुरा, हामीले अहिले खोलाहरूलाई नहरजस्तो आकार दिएका छौँ। त्यसको कारण के हुनसक्छ भने त्यही चिज पहिला खेती गर्ने जमिन मात्रै हुँदा त्यसको त्यतिधेरै महत्त्व थिएन। बिस्तारै जब सहरी विकासका लागि जग्गाहरू आवश्यक पर्दै गयो, अनि खोलाहरू साँघुरा हुँदै गए। तर हुनुपर्ने यसको ठ्याक्कै उल्टो थियो। अर्थात् पहिलेभन्दा पनि खोलालाई झन् बढी क्षेत्र चाहिन्छ। किनकि पहिलेजस्तो जमिनले पानी सोस्ने अवस्था छैन अहिले। थोरै पानी पनि छिटै नदीमा पुगिहाल्छ र नदीको बहाव बढ्छ। 

खोलाहरू अतिक्रमण हुनुको अर्को कारण भनेको सहर विकासको उपयुक्त योजना नहुनु पनि हो। योजनाबिनै जथाभावी संरचनाहरू बनिरहेका छन्। यसलाई नीतिगत त्रुटि भन्न सकिन्छ। 

भर्खरैको बाढी आउनुभन्दा अगाडि पनि धेरै बहसहरू भए। खोलाको चौडाइ कम भयो, यसलाई बढाउनुपर्छ भन्ने कुराहरू पनि आए। यसमा मेरो मान्यता के हो भने खोलाको चौडाइ मात्रै बढाएर सम्पूर्ण रूपमा यसको समाधान निस्किँदैन। चौडाइ त बढाउनु पर्छ नै। खोला मिचेर पार्कहरू बनेका छन् भने त्यसलाई हटाउनैपर्छ। त्यसको असरले मानव जीवन र अरबौँको सम्पत्ति क्षति गरिरहेको छ भने त्यो संरचना त जसरी पनि हटाउन पर्‍यो नि। उदाहरणका लागि, यूएन पार्कलाई लिन सकिन्छ। नितान्त खोला हो त्यो। कुपण्डोलको बागमती पुल हेर्नुहोस, त्यसको तल दुवैतिर संरचना बने। एकतिर पार्क बनाइएको छ, जहाँ पहिला धर्मशाला थियो। त्यसको अर्कोतिर ललितपुरतिर हेर्ने हो भने त्यहाँ अहिले पार्क बनाईएको छ, वडा कार्यालय बनाइएको छ, बालबालिकाका लागि खेल्ने मैदान बनाइएको छ। यस्तो काम गर्न मिल्ने थिएन।

टीयूको गेट अगाडि हेर्नुस्, त्यहाँ एउटा सत्संग गर्ने भवन बनाइएको छ। कुलेश्वरमा अहिले एउटा नयाँ पुल बनेको छ। पुलसँगै एउटा स्कुल बनेको छ, जुन पहिला थिएन। त्यो खोला हो। यस्ता उदाहरण धेरै छन्। यो विषयमा सरकार गम्भीर बन्नुपर्ने थियो। खोला मिचेर संरचनाहरू बनाउन दिन हुँदैन थियो। तर, हाम्रोमा यस्ता विषय सरकारको प्राथमिकतामा परेको देखिँदैन। 

कतिपय मानिस भन्छन्, ठूलो वर्षा पहिला पनि त हुन्थ्यो। तर त्यो समयमा खोलामा जतिसुकै ठूलो बहाव भए पनि उसलाई बग्न समस्या थिएन। डुबान गरे पनि जमिन वा कृषि बालीमा मात्रै असर गथ्र्यो। मानव जीवन र भौतिक संरचनामा असर नपर्ने कारणले त्यतिबेला बाढीको असरलाई त्यति धेरै गम्भीरताका साथ लिइँदैन थियो। त्यो असरले चिन्तित बनाउँदैन थियो। त्यतिबेला अहिलेको जस्तो कंक्रिटहरू थिएन। जमिनले पानी सोस्न पाउँथ्यो। बुट्यानहरू हुन्थे। अहिले जताजतै संरचना बनेका छन्। सिमेन्ट लगाइएको छ। थोरै पानी पर्दा पनि त्यो तुरुन्तै खोलामा पुग्छ। जमिनले सोस्न पाउँदैन। 

नदीको चौडाइ बढाउनु मात्रै दिगो समाधान होइन, यसको साथै निकासबिन्दु पनि चौडा हुनुपर्छ। यसले दिगो रूपमा बाढी नियन्त्रणका लागि सजिलो हुन्छ। विशेषगरी चोभार भनेको काठमाडौँ उपत्यकाकै एकमात्र निकास बिन्दु हो। यो समग्र बाढी जाने निस्कासन बिन्दु त एउटा मात्रै छ, चोभारको अन्तिम बिन्दु। यसको अध्ययनमा रुचि राख्ने जो कोहीले पनि हेर्न सक्नुहुन्छ, त्यहाँ खोलाको चौडाइ १०२ मिटर छ, जबकि निस्कासन बिन्दु जम्मा २४ मिटर देखिएको छ। यो त करिब एक चौथाइ मात्रै भयो। 

मानौँ सय लिटर पानी आयो, यसले एकपटकमा करिब २५ लिटर मात्रै पास गर्न सक्ने भयो। बाँकी पानी त त्यहीँ जम्नेजस्तो स्थिति देखियो। अर्थात् यसले समय लिएर मात्रै पानी पास गर्न सक्ने भयो। मेरो मुख्य चासो भनेको, खोलाको चौडाइ मात्रै बढाएर हुँदैन, निस्कासन बिन्दुलाई नै हामीले चौडा बनाउनुपर्छ भन्ने हो। जति पानी आउँछ, त्यसले त्यही मात्रामा निस्कासन पनि त गर्न सक्नुपर्‍यो नि। ठूलो पानी आएको समयमा हेर्दा चोभारको यो निस्कासन बिन्दुमा ड्यामबाट पानी छोडेको जस्तै देखिन्छ। 

चोभारको निस्कासनबिन्दु नजिकैको बासिन्दा म, हरेक बर्खामा यसलाई एकदमै मिहिन ढंगले हेरिरहेको हुन्छु। गत शनिबार पनि बाढी आयो। शुक्रबार ११ बजेसम्म खासै पानी थिएन। एकदमै सामान्य बहाव थियो। ढलको कालो रङ नै बगिरहेको थियो। शुक्रबार राति साढे १२ बजेतिर ठूलो आवाज आयो। पहिरो खसेजस्तो सुनियो। त्यसपछि बाढीबाट जमेको पानीको जलस्तर विस्तारै बढ्न थाल्यो। र पछि क्रमिक रूपमा घट्यो पनि। अहिले पनि हामीले हेर्दा त्यहाँ ठूलाठूला ढुंगाहरू झरेर आएकोजस्तो देखिन्छ। 

पहिला जहाँ १०० मिटर हुन्थ्यो, तीन बजेतिरसम्ममा त्यसले थप २५ मिटर ढाक्यो। ४ देखि ६ बजेको बीचमा हरेक १० मिनेटमा आधा मिटरजति बढिरहेको थियो। त्यो भनेको एकदमै जोखिमपूर्ण अवस्था हो। बिहान ६ बजेतिरको आसपासमा थुनिएजस्तो लाग्यो हामीलाई। एक्कासि सबै डुब्न थाल्यो। त्यसरी डुब्नुको अर्को मुख्य कारण भनेको नख्खुबाट पानी आयो। नख्खुको संगमस्थल पनि चोभारको निस्कासन बिन्दु नजिकै छ। धेरै भए त्यहाँबाट करिब २/३ सय मिटर मात्रै माथि हो। 

एक त, बागमतीमा आफैँ ठूलो बहाव थियो। त्यसमाथि नख्खुमा पनि थपियो त्यो बहाव। अहिलेसम्म नख्खुमा त्यस्तो बहाव मैले देखेको थिइनँ। पहिला नख्खुमा त्यसरी पानी आउँदैन थियो। एक महिना अगाडिको बाढीमा पनि नख्खुमा त्यसरी बाढी आएको थिएन। त्यतिबेला ब्याक फ्लो भएर त्यही नख्खु भएको खोलातिर जान्थ्यो। जता होचो भयो पानी त्यतै जाने हो। यसपटक बागमतीमा आफैँ ठूलो पानी थियो, त्यसमाथि नख्खु आएर मिसियो। बागमतीको पानी नै पास हुन सकिरहेको थिएन, त्यसमाथि नख्खु आएर मिसिँदा त्यसले भयावह रूप लियो। यहाँहरूले अहिले स्थलगत अवलोकन गर्नुभयो भने खोला किनाराका, अझ खोलाको दक्षिणी क्षेत्रमा रहेका मान्छेहरूले कहिल्यै कल्पना पनि नगरेको बाढी देखे। उनीहरू फ्लड लाइनमा पनि थिएनन्। ती घरहरू पनि डुबानमा परेका छन्। यसको एउटै कारण हो निस्कासन बिन्दु सानो हुनु।

निस्कासन बिन्दु बढाउन के गर्न सकिन्छ?
यसका दुईवटा उपाय छन्। दाहिनेपट्टिको डिल चोभार हो, जहाँ मञ्जुश्री पार्कहरू छन्। देब्रतिर ललितपुर क्षेत्र पर्छ। त्यहाँ आवश्यकताअनुसार डाँडा नै काट्नुपर्‍यो। होइन, डाँडा काट्न सकिँदैन भने एउटा ठूलो सुरुङ बनाउनुपर्छ। तर यसमा ख्याल गर्नुपर्ने कुरा के हो भने, खुल्ला बाटो भयो भने त्यसले आवश्यक उचाइ पनि लिँदै जान्छ र पास हुँदै जान्छ। तर सुरुङ भयो भने त्यो भन्दा बढी पानी आउँदा सुरुङबाट पास हुन सक्दैन। सुरुङ बनाउन प्राविधिक हिसाबले पनि केही कठिनाइ हुन सक्ला। जनशक्ति पनि त्यही अनुसारको आवश्यक पर्छ। 

त्यसकारण, सजिलो हेर्ने हो भने मेरो विचारमा एउटा त च्यानललाई नै ठूलो बनाउनुपर्‍यो। दोस्रो कुरा छेउमा जुन भिरहरू छन्, दीर्घकालीन रूपमा पहिरो नआउने कम्तीमा पनि ९५ प्रतिशत ग्यारेन्टी हुनुपर्छ। किनभने त्यहाँ पहिरो गएर १० मिनेट मात्रै ब्लक भयो भने त्यति ठूलो पानीले कति असर गर्नसक्छ? त्यो हामीले कल्पना पनि गर्न सक्दैनौँ।  

निष्कर्षमा भन्दा दुईवटा काम गर्नुपर्छ। एउटा, पानी निस्कान हुने खुला बाटो बनाउनैपर्छ। दाहिनेतिर काठमाडौँ जिल्लापट्टि अलिकति गाह्रो हुनसक्छ, किनभने भिर अग्लो छ। ठाडो पनि छ। ललितपुर जिल्लातिर हेर्दा त्यहाँ भिर पनि अलि कम भिरालो छ, त्यसलाई काट्न पनि सकिन्छ। तर यसमा निस्कासन बिन्दु चौडा बनाएर मात्र भएन, नभत्किने, पहिरो नजाने हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ। 

काठमाडौँ उपत्यकाको दिगो बाढी व्यवस्थापनका लागि सरकारले नदी करिडोरको पूर्वाधार विकासमा भूउपयोग नीति पुनरवलोकन गर्नुपर्छ। 

(जलस्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चौधरी यसै क्षेत्रको अनुसन्धानमा सक्रिय छन्। अन्तर्राष्ट्रिय जर्नलहरूमा उनको लेख प्रकाशित छ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .