प्रदेश १ को प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आइतवार बसेको छ।
प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गरेका छन्।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको कार्यसूची शनिवार सार्वजनिक गरेका थिए।
कार्यसूचीअनुसार प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिएको छ। त्यस्तै यो बैठकमा प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत गरिएको छ।
प्रदेश १ सभाको पहिलो बैठकले संशोधन गर्यो प्रदेशसभा नियमावली
प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०७९ सभामा सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची थियो।
बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए।
त्यहीअनुसार प्रदेश १ प्रदेशसभाको पहिलो बैठकले प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन पारित गरेको छ।
कांग्रेसका प्रदेश सांसद भीम पराजुली प्रस्तावक र एमालेका प्रदेश सांसद लीलावल्लव अधिकारी समर्थक रहेको उक्त प्रस्ताव पास भएको हो। प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ।
Shares
प्रतिक्रिया