फोटोफिचर


आहार खोज्दै ‘जटायु रेस्टुरेन्ट’ आइपुगेका तराई र हिमालका गिद्ध (फोटोफिचर)


ध्रुव भट्टराई
पुस २४, २०७९ आइतबार १२:१०, सुनसरी (रामधुनी)

करिब डेढ दशक अघिसम्म तपाईं-हाम्रा गाउँ-टोलमा पनि सयौँको संख्यामा गिद्ध सिनोमा लुछाचुँडी गरिरहेका देखिन्थे। तर आज ती दृश्य दुर्लभ भएका छन् र यत्रतत्र सर्वत्र पाइने गिद्ध यतिबेला अस्तित्व अन्त्यको अवस्थामा छन्। 

सन् १९९० को दशकमा दक्षिण एसियामा करोडौं र नेपालमा लाखौको संख्यामा पाइने गिद्ध ९५ प्रतिशत घटेर आज केही हजारमा सीमित हुन पुगेका छन्। भारतमा सन् १९९२ देखि २००७ सम्म डंगर गिद्ध ९९ दशमलव ७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको कुरा अध्ययनले देखाएको छ। 

नेपाल पक्षी संरक्षण संघका जीवविज्ञ कृष्ण भुसाल नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशत घटेको पाइएको छ। यसप्रकारको अकल्पनीय र अप्राकृतिक विनासले सानो खैरो, डगंर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन्।

अति सङ्ककटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ। सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध रहेको अनुमान गरिन्छ। तर, त्यति धेरै गिद्ध एकाएक ९० प्रतिशतले घटेर २० हजार भन्दा कम संख्यामा आइपुग्यो। 

नेपाल पक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको छ।

समुदाय स्तरबाटै सञ्चालन र व्यवस्थापन हुने यो आहार केन्द्र ‘जटायु रेस्टुरेन्ट नामले चिनिन्छ। सुनसरीको बराहक्षेत्र नगरपालिकाअन्तर्गत रामधुनी वन क्षेत्रमा गिद्ध संरक्षणका लागि जटायु रेस्टुराँ सञ्चालनमा छ।

यसबाहेक गिद्ध संरक्षण गर्ने उद्देश्यले नवलपरासीको पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा डेढ दशकदेखि जटायु रेस्टुराँ सञ्चालनमा छ। जटायु रेस्टुरेन्ट रुपन्देही, दाङ, कैलाली, कास्कीमा पनि छन्। 

स्थानीय एवं गिद्ध संरक्षणका अभियन्ता योगेश खतिवडाका अनुसार रामधुनी वन क्षेत्रमा रहेको जटायु रेस्टुराँमा दुई प्रजातिका गिद्ध आउने गरेका छन्। 

आहारका लागि डंगार गिद्ध, जुन तराईमा पाइने गिद्धको एक प्रजाति हो, र हिमाली गिद्ध यस क्षेत्रमा आउने गरेका छन्। हिमाली गिद्ध पाहुनाका रुपमा यस क्षेत्रमा आहार खोजीका क्रममा आउने गर्छन्। विषेशगरी जाडो माैसम सुरु भएपछि मंसिरदेखि फागुनसम्म यो गिद्ध यस क्षेत्रमा पहाडबाट झर्ने गर्छन्।

खतिवडाका अनुसार हिमाली गिद्ध विषेशगरी ताप्लेजुङ र धनकुटा आसपास बसोबास गर्ने गर्छन्। ८ देखि १२ केजीसम्म तौल हुने यो गिद्ध १ सय १० वटासम्मको हुल बाँधेर आहारका लागि तराई झर्ने गर्छन्। यिनीहरु ८० कोससम्म देख्न सक्छन्।

त्यसैगरी तराईमा पाइने डंगर गिद्ध भने प्राय: सबै याम यस क्षेत्रमा आहारका लागि आउने गर्छन्। यो गिद्ध ६० देखि ६५ को संख्यामा मात्र यस क्षेत्रमा रहेको अभियन्ता खतिवडाले बताए। 

प्रकृतिको कुचीकारका रूपमा चिनिने गिद्धको सङ्ख्या वृद्धिलाई संरक्षणमा निकै ठूलो उपलब्धि मानिएको छ।

गिद्ध सिकारी चरा समूहअन्तर्गत ठूला मांसहारी पक्षी  हो। यिनले आफैँ सिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खाने गर्छन्। सिनो र फालिएका मासुजन्य पदार्थ खाई हाम्रा वरपरका वातावरण प्रदूषित, दुर्गन्धित हुनबाट बचाउँदै रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिन्छ। गिद्धहरूले विभिन्न हानिकारक किटाणु भएका सडेगलेका मासु खान्छन् र पचाउँछन्।

नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइन्छन्। 

ती गिद्धमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन्। 

हेर्नुहोस् आहार खोज्दै तराई र हिमालबाट सुनसरीस्थित ‘जटायु रेस्टुरेन्ट’मा आएका गिद्ध :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .