सूर्यविनायक-रत्नपार्क ‘द्रूत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।
सडक डिभिजन कार्यालय काठमाडौंले द्रूत बस सेवा सञ्चालन गर्न 'रेड मार्क' गर्न थालेको हो।
सडक डिभिजन कार्यालयका प्रमुख नारायण निहुँरेका अनुसार असोज ३ देखि द्रूत बस चलाउन यस्तो तयारी गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रूत बस सेवा थाल्न निर्देशन दिएका थिए।
यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बस तयार गरेको छ।
बुधबारसम्म रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी रंग लगाउने काम भइरहेको छ।
‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो। तर लामो वर्षातका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन।
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क गरिरहेको छ। रत्नपार्कदेखि जडीबुटी र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाइएको हो।
बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौंमा हुने चर्को धेरै ट्राफिक जाम कम गर्न मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन्।
अबदेखि बिहान र साँझ कार्यालय सयममा ‘द्रूत बस सेवा’ सञ्चालन हुने छ। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म यो बस चल्नेछ।
Shares
प्रतिक्रिया