ad ad

फोटोफिचर


सरकारकै संरक्षणमा गुलजार छ चिनियाँ सहरको फुटपाथ व्यापार (तस्बिरहरू)


ज्ञानेन्द्र खड्का
कात्तिक ३, २०८० शुक्रबार १०:३९, बाओसान, युन्नान (चीन)

नेपालको संघीय राजधानी सहर काठमाडौंमा फुटपाथको व्यापारलाई निमिट्यान्न पार्ने अभियान मेयर बालेन्द्र साहले चलाइरहेका छन्।

फुटपाथको व्यापारका कारण सवारी आवागमनदेखि पैदलयात्रीलाईसमेत सास्ती भएको भन्दै मेयर साहले निषेध अभियान चलाउँदा चर्को आलोचना खेप्नु परेको छ।

फुटपाथ र ठेलागाडाको व्यापारलाई निषेध गर्ने नाममा साहले नगर प्रहरी लगाएर गरिखानेहरूका सामान जबरजस्ती खोसिरहेका केही दृश्यले मनै कुँढ्याउँछ।

साहले सहरलाई व्यवस्थित र सुन्दर बनाउन यो अभियान चलाएको बताइरहँदा एकजना सामाजिक अभियन्ता  ई:ले उनीविरुद्ध विद्रोह नै छेडे।

ई:को साता लामो अनशनपछि नगर प्रहरीले खोसेका फुटपाथ र ठेला व्यापारीको सामान महानगर फिर्ता गर्न राजी भइसकेको छ।

मेयर साह नेतृत्वमा काठमाडौंमा फुटपाथ र ठेलागाडा व्यापारीमाथि दमन भइरहँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्रसहितको महाशक्ति दौडमा रहेको चीनमा भने फरक दृश्य देख्न पाइन्छ।

चीनले आफ्ना कयौँ सहरमा फुटपाथ व्यापारलाई अहिले पनि नागरिकको एक अभिन्न अंग बनाएर राखेको छ। चीनमा पनि डलर खर्बपतिदेखि दुई छाकका लागि संघर्ष गर्ने ठूलो जमात छ।

यस्तोमा चीनले देशका कयौँ ठूला सहरमा फुटपाथ व्यापारलाई बचाइरहेको छ। ठेला तथा फुटपाथ व्यापार चीनमा जहाँतहीँ देख्न सकिँदैन।

सम्बन्धित समाचार

तर सरकारले निश्चित फराकिलो स्थानमा अहिले पनि फुटपाथ व्यापारलाई जनतासँग जोडिरहेको छ। उक्त फुटपाथ व्यापारस्थल अर्थतन्त्र चलायमान गराउने माध्यम पनि भएको छ।

चीनको दक्षिण पश्चिममा अवस्थित खुनमिङ र बाओसाङ नामका दुई सहरमा घुम्दा फुटपाथ व्यापार चम्किएको पाइयो। जहाँ फुटपाथ व्यापारबाटै हजारौँले रोजगारी पाइरहेका छन्।

विशेषत: दैनिकजसो अपरान्हदेखि सुरू भएर राति ९ बजेसम्म लाग्ने फुटपाथ व्यापारमा एउटा सानो संसार नै देख्न सकिन्छ। जहाँ चिनियाँ निम्न र मध्यमवर्गहरु सामान किन्न धुइरो लाग्छन्।

यी फुटपाथ व्यापारमा कपडा, जुत्ता, दैनिक उपभोग्य सामान, मासु, समुद्री जीवका परिकारदेखि उपभोक्ताले चाहेका हरेक सामान सस्तो मूल्यमा किन्न पाइन्छ।

अचम्म त के छ भने चिनियाँ सरकारका सुरक्षा बल नै खटिएर यी बजारको सुरक्षा र व्यवस्थापनमा योगदान दिन्छन्। यो बजार लाग्दा फुटपाथमै बसेर मानिसहरूले थरी थरीका मासुदेखि अन्य परिकारको स्वाद लिन्छन्। फुटपाथमै मदिरासहितको किनबेच हुन्छ। 

ठूला सपिङ मलहरूमा गएर सामान किन्न नसक्ने चिनियाँ नागरिकहरूको रोजाई यिनै फुटपाथ हुन्छन्। साना ठेलावाला होटलदेखि होलसेलमा सामान बेचेर गुजारा गर्नेहरू फुटपाथलाई आफ्नो आश्रयस्थल ठान्छन्।

चीन सरकारले आफ्ना विकसित हुँदै गरेका सहरमा नागरिकको सहजाताका लागि यी फुटपाथ बजार चलाउन दिएको हो। यो बजारमार्फत अर्थतन्त्रसमेत चलायमान हुने विश्वास चीन सरकारले लिएको खुनमिङका एक सरकारी अधिकारी बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .