राजनीति


५१ मा संसद विघटन गर्दा कांग्रेसले दण्ड पायो, अब पालो एमालेको : गगन थापा

५१ मा संसद विघटन गर्दा कांग्रेसले दण्ड पायो, अब पालो एमालेको : गगन थापा

सुदीप भण्डारी
पुस १९, २०७८ सोमबार १६:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद विघटन गरेर समय खेर फालेको दण्ड एमालेले पाउनै पर्ने बताएका छन्।

उनले ५१ सालमा संसद विघटन गरेर त्यसपछिको चुनावमा कांग्रेसले दण्ड पाएको भन्दै अब दण्ड पाउने पालो एमालेको भएको उल्लेख गरे। 

अर्घाखाँचीको दुर्गाफाँटमा नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आयोजना गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रममा थापाले अबको चुनावमा एमालेको घर रित्तो बनाउनुपर्ने उल्लेख गरे।

‘एमालेबाट थुप्रै साथीहरुलाई कांग्रेसमा ल्याउनै पर्छ। अब आउने निर्वाचनमा एमालेले दण्ड पाउनै पर्छ। एमालेको घर रित्तो बनाउनैपर्छ’  उनले भने ‘केपी ओलीको अहंकार र दम्भले गर्दा संसद मात्र गएन, आज सिंगो एक वर्ष खेर गयो। ५१ सालमा कांग्रेसले दण्ड पायो। अब चुनावमा दण्ड पाउने पालो नेकपा एमालेको हो।’

थापाले गल्ती गर्ने नेतालाई दण्ड नदिने हो भने जनता हेपाइमा पर्ने बताए। 

महामन्त्री थापाले संसारलाई चकित पार्ने गरि कम्युनिष्ट पार्टी एक भयौं भनेर फेरि पार्टी फोड्ने र संसद भत्काउनेलाई भोट माग्न आउँदा लखेट्नुपर्ने बताए।

‘३ वर्ष भन्दा बढी झगडा गरेर चलाउन नसक्ने पार्टी पनि फोड्ने, संसद पनि भत्काउने’ उनले भने, ‘फेरि तपाईंहरुको बिचमा मत माग्न आउँदै गर्दा एक पटक गाउँबाट लखेटेर पठाउनै पर्छ, एक पटक पाठ सिकाउनै पर्छ। नभए नेताले जनता हेप्छ।’ 

नेता थापाले कांग्रेस प्रवेश गरेर गलत गरेछु भन्ने दिन आउन नदिने दाबी गरे। आफ्नो पार्टीमा कम्युनिष्टमा जस्तो मुठी कस्न नपर्ने पनि उल्लेख गरे।

‘मुठी कस्ने भनेको नारायणीको तिरमा भएको जस्तै हो यहाँबाट मुठी कस्दै गयो। त्यहाँ गएर बाको मुठीमा कैद’ उनले भने,  ‘हिजो कमलादीमा पनि त्यही भयो। हाम्रोमा भने तपाईहरुलाई (पार्टी प्रवेश गरेकालाई) आजदेखि खुल्ला भयो।’ 

महामन्त्री थापाले चुनावसम्म १५ लाख मान्छे कांग्रेसमा भित्र्याउने भन्दै आजबाट पार्टीको अभियान सुरु भएको बताए। उनले कांग्रेस भित्र गुट उपगुट भागबण्डा अब केही हुन नदिने दाबी गरे।

कार्यक्रममा थापाले अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम सहितका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका थिए। गौतम २०७४ सालको चुनावमा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .