राजनीति


कांग्रेसलाई धर्मसंकट : गठबन्धन गरौँ कार्यकर्ता भड्किन्छन्, नगरौँ अरु दल मिल्छन्

हिजो गठबन्धन चाहने नेता आज एक्लै लड्न तयार
कांग्रेसलाई धर्मसंकट : गठबन्धन गरौँ कार्यकर्ता भड्किन्छन्, नगरौँ अरु दल मिल्छन्

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा। फाइल फोटो : रासस


केशव सावद
माघ १५, २०७८ शनिबार १६:८, काठमाडौँ

२०७४ को निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि तत्कालीन संस्थापनइतर समूहले एकढिक्का भएर कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेको थियो।

त्यसबेला चुनावी सरकारको नेतृत्व गरेका देउवाको कमजोरीका कारण स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हार भोग्नुपरेको भन्दै इतर समूहले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागसमेत अघि सार्‍यो। 

संस्थापनइतर समूहले निर्वाचनका कमजोरी र पार्टीको हारबारे केन्द्रीय कार्यसमिति बैठक बोलाएर गहन समीक्षा गर्नुपर्ने माग पनि समानान्तर रुपमा उठाउँदै आएको थियो। 

सभापति देउवाको राजीनामासँगै निर्वाचनको समीक्षा गर्नुपर्ने आवाज उठिरहँदा २०७४ पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ७ युवा नेताले संयुक्त विज्ञप्ति निकाले। 

विज्ञप्ति निकाल्नेमा तत्कालीन केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डे थिए। 

विज्ञप्तिको चौथो बुँदामा भनिएको थियो–इतिहासको यस गौरवपूर्ण क्षणमा पनि हामी नेपाली कांग्रेसका साथीहरुलाई निर्वाचन परिणामले भने निकै दुःखी तुल्याएको छ। नेपाली जनताको अपार स्नेह, विश्वास र समर्थन हुँदाहुँदै पनि परिणाम किन यस्तो? यस विषयले आज सबै साथीमाझ गहिरो चिन्ता छाएको छ।’

उनीहरुले एउटै बुँदामा नेतृत्वसमक्ष ६ वटा प्रश्न राखेका थिए। ती प्रश्न थिए–हाम्रो कमजोरी कहाँ भयो? निर्वाचनको सम्भावित परिणामबारे पूर्वआभास हुँदाहुँदै यसबारे हाम्रो नेतृत्व किन समयमै सचेत हुन सकेन? तदनुकुल निर्वाचन रणनीति किन अख्तियार भएन? पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरुको समुचित परिचालन किन गरिएन? निर्वाचन दौरान प्रतिपक्षीका लाञ्छना र आरोपको किन प्रतिवाद गर्न सकिएन? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धनलाई किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन? 

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कांग्रेसका शीर्ष पाँच पदाधिकारी

युवा पुस्ताको नेतृत्व गर्दै आएका सात नेताले विज्ञप्तिमार्फत नै निर्वाचनका कमी–कमजोरीको समीक्षाका लागि तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन पनि दबाब दिएका थिए।

‘यी र यस्ता अनेकौँ पेचिला प्रश्न हाम्रासामु उपस्थित छन्। साथै, अन्य कारणको पनि खोजी हुन जरुरी छ। यस विषयमा पार्टीभित्र गम्भीर र निर्मम समीक्षा आजको आवश्यकता रहेको कुरा स्पष्ट पार्न चाहन्छौं। यसका निम्ति तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन नेतृत्वसमक्ष माग गर्दैछौँ,’ विज्ञप्तिमा भनिएको थियो।

तर २०७४ मा लज्जास्पद हार भोगेको त्यही कांग्रेस यतिबेला आश्चर्यजनक राजनीतिक घटनाक्रमका कारण सरकारको नेतृत्व गरिरहेको छ।

संघीय संसदमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस अहिले नेकपा माओवादी केन्द्र, एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको सहयोगमा सरकारको नेतृत्वमा छ। र, कांग्रेसको लज्जास्पद हारको दोष खेपेका उनै देउवा प्रधानमन्त्रीका रुपमा छन्। 

संविधानको रक्षा गर्दै संसदको कार्यकाल पूरा अवधि चलाउने प्रमुख उद्देश्यसहित बनेको भनिएको पाँच दलीय गठबन्धनका सदस्य आगामी निर्वाचनसम्म एक भएर जानुपर्ने पक्षमा छन्। 

यो गठबन्धन कांग्रेसलाई भन्दा धेरै माओवादी र एकीकृत समाजवादीलाई चाहिएको छ। यी दुई दल त गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म लैजानुपर्ने पक्षमा छन्। सत्ता साझेदार यी दुई दलको प्रस्तावले कांग्रेसमा हलचल ल्याएको छ। 

तत्कालीन समयमा नेतृत्वविरुद्ध औँला उठाएका ७ नेतामध्ये १४ औँ महाधिवेशनबाट गुरुङ उपसभापति, थापा र शर्मा महामन्त्री र पाण्डे सहमहामन्त्री भइसकेका छन्। 

उपसभापति गुरुङ र महामन्त्री थापा पाँच दलीय गठबन्धन सरकारमा जान मात्रै बनाएकाले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा छन्। गठबन्धन सरकारले आसन्न निर्वाचन गराए पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने उनीहरुको जोड छ। 

विरोध किन? 
२०७४ को निर्वाचनमा गठबन्धनलाई ‘राष्ट्रव्यापी, भरपर्दो र कसिलो’ नबनाएको भन्दै सभापति देउवामाथि आधा दर्जन प्रश्न उठाएकाहरु नै अहिले माओवादी र समाजवादीले गरेको चुनावी गठबन्धनको प्रस्तावको विपक्षमा उभिएका छन्।

२०७४ मा गठबन्धन बलियो नहुँदा हार्नुपरेको भनेर आलोचना गर्नेहरु नै अहिले गठबन्धन गर्नै नहुने पक्षमा उभिएपछि  गुरुङ र थापामाथि दोहोरो चरित्र देखाएको टिप्पणी भइरहेको छ। 

राष्ट्रियसभा निर्वाचनमा त्यही गठबन्धनबाट लड्ने तर अन्य निर्वाचनमा गठबन्धन गर्दा आपत्ति किन भनेर कतिपयले सोधिरहेका छन्। 

तर, महामन्त्री थापा तत्कालीन र अहिलेको अवस्था फरक भएको दाबी गर्छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सीमित नेतालाई फाइदा पुग्ने गरी गठबन्धन गरेकाले नेतृत्वमाथि प्रश्न उठाएको उनको तर्क छ। 

गठबन्धन र स्थानीय निर्वाचनबारे गगन थापा

‘अहिले गठबन्धनको विरोध तर त्यो बेला किन विरोध भएन भन्ने होइन,’ महामन्त्री थापाले नेपालखबरसँग भने, ‘नाम मात्रैको लोकतान्त्रिक गठबन्धनले सीमित नेतालाई मात्रै फाइदा पुग्ने भएपछि किन बनाएको भनेर प्रश्न उठाएका हौं।’

राष्ट्रियसभा निर्वाचनको गठबन्धनलाई उनी स्वाभाविक ठान्छन्। ‘राष्ट्रियसभामा गरिएको गठबन्धन अस्वाभाविक होइन। त्यहाँ आममतदाताले नभइ जनप्रतिनिधिले मत दिने हो। त्यसको परिणाम पहिले नै थाहा हुन्छ,’ थापाले भने, ‘हामीले पटक–पटक राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेकै हौँ।’

आगामी निर्वाचनमा गठबन्धन गर्नै नहुने कारण के हो त?, महामन्त्री थापा भन्छन्, ‘अब के का लागि गठबन्धन? औचित्य पुष्टि गर्नुपर्छ कि पर्दैन? गठबन्धन गर्न कि त हाम्रासामु राष्ट्रिय चुनौती छन् भन्नुपर्‍यो। कि त एक्लाएक्लै लडौँ भन्नुपर्‍यो।’

पार्टीले अवलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्न लागि नै निर्वाचन भएको जिकिर गर्दै आएका थापाको नजरमा गठबन्धन गरेर निर्वाचनमा जानु भनेको पार्टीले अंगालेका नीति, सिद्धान्तहरू कमजोर बनाउनु हो। 

कांग्रेस एक्लै बलियो
महामन्त्री थापाले कांग्रेस एकल शक्तिका रुपमा निर्वाचनमा गए बहुमत आउनेसमेत दाबी गरे। ‘एमाले फुटेको अवस्थामा हाम्रो एकल शक्तिबाटै बहुमत आउँछ भन्नेमा विश्वस्त छौँ,’ उनले भने।

आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा कांग्रेसका मतदाताको भावना पनि बुझ्न जरुरी रहेको पनि थापाले बताए। 

‘रुखमा मतदान गर्दै आएको मतदातालाई हामीले कम्युनिष्टलाई मत हाल्नुस् भन्दा कसरी सोच्छ भन्ने बुझ्न जरुरी छ,’ उनले थपे, ‘यसैकारण हामी आफ्नो तागत र शक्तिका आधारमा एक्लै निर्वाचनमा जानुपर्छ।’

यस्तै मत लिने र दिने संस्कृति नै नभएका कारण गठबन्धन कांग्रेसका लागि उचित नहुने सहमहामन्त्री पाण्डे बताउँछन्। 

‘गठबन्धनको वातावरण छैन। मत लिने र दिने कल्चर छैन,’ उनले नेपालखबरसँग भने, ‘गठबन्धन गरेर रुखबाहेकलाई मत दिनुस् भन्दा मतदातालाई सकस हुन्छ।’
माथिल्लो तहका नेताहरुको मनसाय गठबन्धन गरेर जाने देखिए पनि कार्यकर्ताहरूले त्यस्तो नचाहेको पनि पाण्डेले बताए। 

‘नेताहरु गठबन्धन भनिरहनुभएको जस्तो छ। तलका साथीहरु एक्लै लड्ने पक्षमा देखिनु भएको छ,’ उनले भने, ‘यसकारण हामी गम्भीर मन्थन गरेर निचोडमा पुग्न जरुरी छ।’

गठबन्धनका दलसँग तालमेल गरेर जाने हुँदा दुवै पक्षको लाभ हेर्नुपर्ने सहमहामन्त्री पाण्डेले सुझाएका छन्। 

‘गठबन्धन गरेर जाने हो भने अरुको भोट लिन र आफ्नो भेट अरुलाई दिन सक्नुपर्छ। दुवै पक्षलाई फाइदा हुनुपर्छ,’ उनले भने, ‘गठबन्धन गरिसकेपछि फलदायी बनाउनुपर्‍यो। त्यस बेला (२०७४ मा) गठबन्धन सफल भएन।’

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाका विश्वासपात्रमध्ये एक नेता एनपी साउद पनि आफूहरुको पहिलो रोजाइ एक्लै निर्वाचनमा जाने रहेको बताउँछन्। 

तर, कांग्रेस एक्लै निर्वाचनमा जाँदै गर्दा अन्य दलहरु एक ठाउँमा उभिए जटिलता थपिनेतर्फ सतर्क हुनुपर्ने उनले बताए।

‘हामी एक्लै निर्वाचनमा जान चाहन्छौँ। हाम्रो पहिलो रोजाइ एक्लै निर्वाचनमा जाने हो। तर, एक्लै निर्वाचनमा जाने नाममा हामीबाहेक दलहरु एकैठाउँमा उभिए जटिलता थपिन्छन्,’ साउदले केही दिनअघि नेपालखबरसँगको अन्तर्वार्तामा भने।

एनपी साउदसँगको अन्तर्वार्ता

२०७४ को निर्वाचन सम्झिँदै साउदले अरुले पनि गठबन्धन बनाउँछन् भने कांग्रेस पनि त्यही रणनीति अनुसार जानुपर्ने मत राखे।

‘सबै पार्टी एक्ला एक्लै निर्वाचनमा जाने हुन् भने ठीकै छ’, उनले भने, ‘सबै पार्टी एक्लै निर्वाचनमा नगएर गठबन्धन नै बनाउँछन् भने हामी पनि त्यही अनुसार मिलेर निर्वाचनमा जान सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .