राजनीति


एकअर्काविरुद्ध ‘एमाले कार्ड’ खेल्दै देउवा–प्रचण्ड, छिनोफानो गर्न खोजे गठबन्धन टुट्छ

एकअर्काविरुद्ध ‘एमाले कार्ड’ खेल्दै देउवा–प्रचण्ड, छिनोफानो गर्न खोजे गठबन्धन टुट्छ

फाइल तस्बिर


केशव सावद
माघ २१, २०७८ शुक्रबार २०:३०, काठमाडौँ

सत्तारुढ गठबन्धनका दुई शीर्ष नेतृत्वले एक अर्कामाथि दबाब बढाउन प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई कार्डका रुपमा प्रयोग गरेको पाइएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी एमालेलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका नेताहरूले महशुस गरेका छन्।  

अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न सक्रिय प्रधानमन्त्री देउवा र त्यसलाई संसदमा लैजानै नदिने रणनीतिमा रहेका माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई कार्डका रुपमा प्रयोग गरेका हुन्।

देउवाले लेखकलाई एमालेसँग संवादमा खटाएको सूचना चुहिएपछि 
एमसीसी पारित गर्ने प्रक्रियामा सहयोग नगरे पाँच दलीय गठबन्धन भत्काएर एमाले अध्यक्ष ओलीसँग मिल्ने मनसायका साथ प्रधानमन्त्री देउवा समानान्तर संवादमा छन्। 

उनले केही दिनअघि एमालेसँग आवश्यक छलफलका लागि आफ्ना विश्वास पात्र रमेश लेखकलाई खटाएको कांग्रेस उच्च स्रोतले जनाएको छ। स्रोतका अनुसार लेखकले एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटेका थिए। यस्तै राष्ट्रियसभा निर्वाचनअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तीन पटक एमाले अध्यक्ष ओलीसँग छलफलका लागि बालकोट पठाएका थिए। 

लेखकलाई एमाले उपमहासचिव ज्ञवालीसँग छलफलका लागि पठाएर देउवाले एमसीसी पारित गराउन अवरोध सिर्जना भए सत्ता गठबन्धन तोड्न बाध्य हुने सन्देश सहयात्री दलहरूलाई दिन खोजेका थिए।

प्रधानमन्त्री देउवाले आफ्ना विश्वास पात्र लेखकलाई एमालेसँग संवादमा खटाएको सूचना चुहिएपछि माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना विश्वास पात्रहरुलाई एमाले नेताहरुसँग छलफलका लागि खटाएका भेटिएको छ।

स्रोतका अनुसार उनले एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग छलफलका लागि नेताहरुलाई दूतका रुपमा खटाएका थिए। 

‘एमसीसी पारित गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले रमेश लेखकलाई खटाउनुभयो। उहाँले प्रदीप ज्ञवालीसँग भेट्नुभयो,’ यो दाउपेचबारे जानकार कांग्रेसका एक नेताले भने, ‘उता माओवादी अध्यक्ष प्रचण्डले ओली, विष्णु पौडेल र शंकर पोखरेलसँग भेट्न ३–४ जना नेतालाई दूतका रुपमा खटाउनु भयो।’

त्यसपछि देउवा–प्रचण्ड दुवै एक अर्कासँग डराए
एमालेलाई देखाएर देउवा र प्रचण्डले एकअर्कालाई तर्साउन आ–आफ्ना दूतहरु खटाएको ती नेताको दाबी छ। 

‘प्रधानमन्त्रीले एमसीसी पास गराउन नसघाए एमालेको सहयोग लिन्छु भन्ने सन्देश दिन रमेश लेखकलाई पठाउनुभयो। प्रचण्डले पनि एमालेसँग मिल्न पनि सक्छौं भन्ने सन्देश देउवालाई दिन एमाले नेता भेट्न दूत पठाउनुभयो,’ ती नेताले भने, ‘यसले दुवै नेता एकअर्कासँग डराउनुभएको देखिन्छ।’

एकअर्काबीच शंकाको वातावरण बनेपछि यही बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा दुई पटक भेटवार्ता भएको समेत ती नेताको दाबी छ। 

दुवै भेटमा सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए। 

बालुवाटारमा भएको नेतात्रयको पहिलो छलफलअघि त्यही दिन बिहान गृहमन्त्री बालकृष्ण खाँणले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई कोटेश्वरमा भेटेका थिए। उनलाई देउवाले दूतका रुपमा कोटेश्वर पठाएका थिए। 

बुधबार बालुवाटारमा शीर्ष तीन नेताको पहिलो छलफलपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच नयाँ बानेश्वरमा भेट भएको थियो। उनीहरुको एजेण्डा पनि एमसीसी नै थियो। 

अघिल्लो दिन मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रचण्डसँग खुमलटारमा छुट्टाछुट्टै भेट गरेका थिए। एमसीसीलाई लिएर शंका बढेपछि देउवाले उनीहरुलाई संवादका लागि पठाएका थिए।

गगन पनि सक्रिय
यसबीचमा कांग्रेस महामन्त्री गगन थापाले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटेका स्रोतले दाबी गरेको छ।

स्रोतका अनुसार उनले बिहीबार मात्रै माओवादी अध्यक्ष प्रचण्डसँग खुमलटारमा छलफल गरेका खुलेको छ।

प्रचण्ड–नेपाल पार्टीमा निर्णय गराउन सक्ने अवस्थामा छैनन् 
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालसँगको छलफलमा सहभागीमध्ये एक कांग्रेस नेताले दुवै पार्टी एमसीसीको पक्षमा निर्णय गर्न सक्ने अवस्थामा नदेखिएको दाबी गरेका छन्। 

‘मैले दुवै पार्टीका अध्यक्षसँग एमसीसीबारे छलफल गरेँ। उहाँहरु दुवै एमसीसीको पक्षमा पार्टीभित्रै निर्णय गराउन सक्ने अवस्थामा हुनुहुन्न,’ ती नेताले भने, ‘उहाँहरुले पारित गरौँ भन्नुभए पनि एमसीसीको विपक्षमा ठूलो तप्का छ।’

कांग्रेस सभापतिसमेत रहेका देउवालाई अझै पनि प्रचण्ड–नेपाल एमसीसी पास गराउन मान्ने आशा लागेको छ। तर अब त्यो सम्भावना नभएको ती नेताले जिकिर गरे।

‘उहाँहरुले मानिहाल्नुहुन्छ भन्नेमा सभापति हुनुहुन्छ,’ उनले भने, ‘तर, मैले बुझेअनुसार त्यो सम्भावना न्यून छ।’

छिनोफानो गर्न खोजे गठबन्धन टुट्छ 
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले आफूहरुबीचमा कुनै खटपट नभएको दाबी गरे पनि कांग्रेस उच्च स्रोत त्यो स्वीकार्न तयार छैन। 

एमसीसीका विषयमा गठबन्धनबीच समान धारणा नभएका कारण गठबन्धनको भविष्य अन्यौलपूर्ण रहेको ती कांग्रेस नेता दाबी गर्छन्।

एमसीसीबारे प्रधानमन्त्री देउवाले चाल्ने कदममा नै पाँच दलीय गठबन्धनको भविष्य जोडिएको ती नेताले जिकिर गरे। 

‘संघीय निर्वाचनसम्म गठबन्धनलाई मिलाएर जाने कि नजाने भन्ने कुरा सभापतिमा निर्भर छ,’ उनले भने, ‘छिनोफानो हुनुपर्छ भन्नुभएमा संकट बढ्न सक्छ। गठबन्धन टुट्छ।’
 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .