राजनीति


राजसंस्थाको नारा छाडेर हिन्दुवादी दल गठनको तयारीमा कमल थापा

राजसंस्थाको नारा छाडेर हिन्दुवादी दल गठनको तयारीमा कमल थापा

कमल थापा (तस्बिर: विजय सिंह/नेपालखबर)


केशव सावद
माघ २२, २०७८ शनिबार १४:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले माघ १६ गते अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्मरण पत्र पठाए। उनले गत मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै ध्यानाकर्षण पत्र प्रेषित गरेको पत्रको सुरुवातमै उल्लेख गरेका छन्।

‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने तथा त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु,’ थापाद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु।’

उनले पार्टीको हित र एकतालाई अक्षुण्ण राख्ने पवित्र उदेश्यका साथ उठाएका सैद्धान्तिक, राजनीतिक एवम् सांगठनिक विषयलाई सम्बोधन नगरेर अध्यक्ष लिङ्देनले मंसिर २७ को पत्र रद्दीको टोकरीमा फालेको पनि स्मरण पत्रमा लेखेका छन्।

‘महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन। पार्टीका कार्यक्रम र गतिविधिबारे मलाई कुनै सूचना र जानकारी समेत छैन, स्मरण पत्रमा भनिएको छ, ‘योजनाबद्ध रुपमा मलाई अलग्याउने प्रयास भइरहेको देख्छु।’

स्मरण पत्रमा मंसिर २७ मा उल्लेख गरिएका मागहरु उपेक्षा गरेर आफूलाई भित्तामा नपुर्याउन र पार्टीलाई दुर्घटनातर्फ नधकेल्न अध्यक्ष लिङ्देनलाई चेतावनीपूर्ण भाषा प्रयोग गरेका छन्। 

थापाले पत्रमा प्रयोग गरेको चेतावनीपूर्ण भाषालाई हेरेर राप्रपा फुटको संघारमा पुगेको आकलन भइरहेको छ।

थापापक्षीय नेताहरु पनि मंसिर २७ मा राखिएका माग माघ मसान्तसम्म सम्बोधन नभए पार्टीमा दुर्घटना उत्पन्न हुने प्रतिक्रिया दिइरहेका छन्। 

‘हामी पार्टी विभाजनको दिशामा छैनौँ। तर, माग सम्बोधन नभए दुर्घटना उत्पन्न हुन सक्छ,’ थापापक्षीय केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने। 

थापानिकट अर्का एक नेताले माघ अन्तिमसम्म माग सम्बोधन नभए नयाँ पार्टी गठन गर्ने दाबी गरेका छन्। उनले नेपालखबरसँगको कुराकानीमा राजसंस्था पुनर्स्थापनाको माग छाडेर पार्टी गठनका लागि सम्पूर्ण तयारी गरिएको जिकिर पनि गरे।  

‘माघ अन्तिमसम्म कुर्छौं। सुनुवाइ भएन भने हिन्दुवादी पार्टी घोषणा हुनेछ। राजसंस्था हामी राख्दैनौँ,’ ती नेताले भने, ‘पार्टीको नाम, विधान तयारी अवस्थामा छ। निर्वाचन आयोगमा दल दर्ता गर्ने पुरानै प्रक्रिया हो। हामी अगाडि बढाउँछौँ।’

तत्कालीन राप्रपा नेपालका एक केन्द्रीय सदस्यले पनि ती नेताको दाबीलाई थप पुष्टि गरेका छन्। उनले नेपालखबरसँगको कुराकानीमा नयाँ दल दर्ताका लागि विभिन्न क्षेत्रका विषय विज्ञहरु खटाइएको जानकारी दिए। 

ती नेताको भनाइलाई केन्द्रीय सदस्य बर्तौलाले पनि स्वीकार गरे।

‘सबै विकल्पहरुमा छलफल, सम्पर्क भइरहेको छ,’ उनले भने, ‘माघभित्र सम्बोधन नभए सबै विकल्पहरु खुला छन्।’

विकल्पहरु भनेका के–के हुन् भन्ने प्रश्नमा बर्तौलाले भने, ‘नेता–कार्यकर्ताहरु पार्टीमा नरहन सक्छन्। निष्क्रिय बस्न सक्छन्। बाहिरिन सक्छन्।’
 
तर, उनले पार्टीलाई बलियो र एकताबद्ध बनाउन चाहने आफूहरुको प्रयासलाई पार्टी विभाजनका रुपमा नबुझ्न पनि आग्रह गरे। 

‘डेमोक्रेटिक पार्टीमा छलफल, बहस स्वाभाविक हो,’ बर्तौलाले आफूहरुमाथि संस्थापन पक्षले पार्टी फुटाउन लागेको भनेर लगाइरहेको आरोपको खण्डन गर्दै भने, ‘पार्टी एकताबद्ध र बलियो बनाउन चाहनेविरुद्ध नै विभाजन गर्न लागे भनेर कोकोहोलो मच्चाउनुको कुनै तुक छैन।’

तत्कालीन राप्रपाका केन्द्रीय सदस्यले पनि माघ मसान्तभित्र निवर्तमान अध्यक्ष थापाले अघि सारेका मागमाथि छलफल अघि नबढाइए हिन्दुवादी पार्टी गठन हुने जिकिर गरे। 

‘पूर्वराजालाई च्यालेन्ज गर्नुभएको छ। राष्ट्रिय, अन्तराष्ट्रिय सम्बन्धदेखि लिएर दशकौं दशक सक्रिय राजनीतिबाट विश्राम लिएर बस्ने सम्भावना रहँदैन,’ ती नेताले भने, ‘फागुन ७ वा आसपासको मितिमा हिन्दुवादी दल घोषणा हुन्छ।’

यद्यपि, नेता बर्तौलाले भने उक्त दाबीको खण्डन गरे।

‘यी अफवाहहरु हुन्। हाम्रो त्यस्तो कुनै तयारी छैन,’ उनले भने। 

तर, बर्तौलाले माघ मसान्तसम्म माग सम्बोधन नभए ‘पार्टी दुर्घटना उन्मुख’ हुने भनाइको व्याख्या भने गर्न चाहेनन्।

उनले अध्यक्ष लिङ्देनको भनाइ र गराइमा फरक देखिएको भन्दै आपत्ति जनाए।  

‘हामीले पहिलो केन्द्रीय समिति बैठकमा निवर्तमान अध्यक्षका मागहरु गम्भीरतापूर्वक लिनुस् भनेका थियौँ,’ बर्तौलाले भने, ‘दुई महिना भयो, सुनुवाइ गर्नुभएको छैन। मनोनयनमा एकांकी ढंगबाट अगाडि बढ्नुभयो। उहाँको गराइ र भनाइमा फरक छ।’

गत मंसिर १९ मा सम्पन्न मतगणनाअनुसार थापालाई १ सय ९९ मत अन्तरले हराउँदै लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षमा पराजित भए पनि कार्यसमितिमा भने थापा समूहको वर्चश्व देखिएको थियो। १ सय ४१ सदस्यीय केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, रोशन कार्की, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजय भएका थिए। यस्तै महामन्त्रीमा धवल शमशेर, कुन्ती शाही र भुवन पाठक विजयी भएका थिए। 

जसमध्ये उपाध्यक्षमा निर्वाचिन तामाङ र प्रधान, महामन्त्रीमा निर्वाचित शाही र पाठक थापा समूहमा छन्। उपाध्यक्ष पाण्डे भने दुवै समूहसँग समदुरीमा रहेका बताइन्छ। 

निवर्तमान अध्यक्ष पशुपति शमशेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, दीपक बोहोरा, जयन्त चन्द आफ्नो पक्षमा रहेको थापानिकट नेताहरुको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .